लगातारको वर्षासँगै मनाङको नासोँ गाउँपालिका–१ स्थित तालगाउँ उच्च जोखिममा परेको छ। मर्स्याङ्दी नदीले धार परिवर्तन गरी गाउँतर्फ बगेपछि स्थानीयवासी त्रसित बनेका छन्।
बाढीका कारण गाउँ चारैतिरबाट नदीले घेरिएको छ भने आवागमन पूर्ण रूपमा बन्द भएको छ। करिब ७० देखि ७४ घरधुरी जोखिममा रहेका छन्। हाल ५ देखि ७ घरमा पानी पसेको र गाउँ बचाउन बनाइएको तटबन्ध पनि बाढीले भत्काएको जनाइएको छ।
गाउँमा विद्युत् र सञ्चार सेवा अवरुद्ध भए पनि वैकल्पिक ऊर्जाको प्रयोग गरेर स्थानीय जनप्रतिनिधिसँग सम्पर्क कायम गरिएको छ। जोखिममा रहेका परिवारलाई आफन्तका घर, स्वास्थ्य चौकी र आमा समूहको भवनमा सुरक्षित रूपमा सारिएको छ।
हालसम्म कुनै मानवीय क्षति भएको छैन। स्थानीय प्रशासन, प्रहरी तथा गृह मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको छ। तत्काल हवाई उद्धार आवश्यक नभए पनि मौसम खराब भई नदीको बहाव थप बढेमा अवस्था गम्भीर बन्न सक्ने चेतावनी दिइएको छ।