Sunday 27th September 2026

अविरल वर्षाले देशभर जनजीवन प्रभावित, बाढी–पहिरोका कारण सडक र बस्ती जोखिममा


लगातार चार दिनदेखि परेको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या बढ्दै गएको छ। नदीहरूमा पानीको बहाव बढ्दा बस्ती डुबानमा परेका छन् भने धेरै राजमार्ग र सडकखण्ड अवरुद्ध भएका छन्।

पूर्वी नवलपरासीको दुम्कौलीमा पछिल्लो २४ घण्टामा १९३ मिलिमिटर वर्षा मापन भएको छ, जुन यस वर्षकै सबैभन्दा बढी वर्षा हो। नारायणी नदीमा २५ वर्षयताकै ठूलो बाढी आएको जनाइएको छ। बाढी खतराको तहभन्दा साढे २ मिटर माथि पुगेपछि नवलपरासी र चितवनका नदी किनारका बस्ती डुबानमा परेका छन्।

रूपन्देहीको मायादेवी गाउँपालिका–२ बेथरीमा तिनाउ नदीको बाढीले ६० घर डुबानमा परेका छन्। यस्तै सप्तरीमा कोशी नदीको बाढीले ५०४ घर डुबानमा परेका छन्।

पर्वतको जलजला गाउँपालिका, मनाङको तालगाउँ तथा अन्य नदी तटीय क्षेत्रमा पनि बाढी र कटानको जोखिम बढेको छ। धेरै स्थानका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

यता, गोरखा, काभ्रे, स्याङ्जा, दाङ, मुस्ताङ, बागलुङ, धादिङ, रसुवा, मुगु, कालिकोट लगायत जिल्लामा पहिरो खस्दा सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग, अरनिको राजमार्ग, कर्णाली राजमार्ग, सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोरलगायत प्रमुख सडकखण्ड प्रभावित भएका छन्।

प्रशासन, प्रहरी र सुरक्षाकर्मी उद्धार तथा सडक खुलाउने कार्यमा खटिएका छन्। मौसमविद् र प्रशासनले नदी किनार तथा पहिरो प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन र अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।


सम्बन्धित शीर्षकहरु

थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ। बाढीका कारण करिब ४,९०० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको…

लगातार चार दिनदेखि परेको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या बढ्दै गएको छ। नदीहरूमा पानीको बहाव…

लगातारको वर्षासँगै मनाङको नासोँ गाउँपालिका–१ स्थित तालगाउँ उच्च जोखिममा परेको छ। मर्स्याङ्दी नदीले धार परिवर्तन गरी गाउँतर्फ बगेपछि स्थानीयवासी त्रसित…

प्रतिकृयाहरू
...