तितोपाटी – बन्दुकधारीहरूले इरानको एहवाज शहरमा हिँजो शनिबार एउटा सैनिक परेडमा गोली चलाउँदा आक्रमणमा परी सर्वसाधारणसहित २५ जनाको ज्यान गएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ। सरकार विरोधी एउटा अरब समूह “एहवाज न्याश्नल रिजिस्टेन्स” तथा इस्लामिक स्टेट दुवैले सो हमलाको जिम्मा लिएका छन्। सैन्य परेड भएको स्थल नजिकै रहेको एउटा पार्कबाट हमलाकारीहरूले हमला गरेका थिए र उनीहरूले सैनिक पोशाक लगाएको विवरणहरूमा जनाइएको छ। हमलामा परी अन्य ५० जना भन्दा धेरै घाइते भएका छन्।
इरानले उसको क्षेत्रीय प्रतिद्वन्द्वी साउदी अरेबियालाई इरानभित्र रहेका अल्पसङ्ख्यक अरब समुदायले गर्ने पृथकतावादी गतिविधिलाई सहयोग गरेको आरोप लगाएको छ। राष्ट्रपति रुहानीले उनको देशमाथि आउने सानोभन्दा सानो जोखिमको पनि कडा रूपमा प्रतिक्रिया जनाइने तर आतङ्कवादीहरूलाई सहयोग गर्नेहरूलाई पनि जिम्मेवार ठहराइनुपर्ने बताएका छन्।
एकजना इरानी सैन्य प्रवक्ताले भने हमलाकारीहरू इस्लामिक स्टेटसँग आबद्ध नभएको र ‘दुईवटा खाडी देशहरूले हमला गराएको’ बताएका छन्।
इरानका विदेशमन्त्री जवाद जारिफले पनि हमलाकारीहरूलाई विदेशी शक्तिले सहयोग गरेको दोष लगाएका छन्। उनको त्यस्तो भनाइ इजरेल वा साउदी अरेबियाप्रति लक्षितजस्तो देखिन्छ। तर आफ्नो दाबीलाई पुष्टि गर्ने केही सबुत भने उनले प्रस्तुत गरेनन्।
इरानको फार्स समाचार संस्थाका अनुसार हमलाकारीहरूले करिब १० मिनेटसम्म हमला गरेका थिए र चार जना बन्दुकधारीहरूको ज्यान गएको बताइएको छ।
हमला कसले गर्यो भनेर बाझिने खालका विवरणहरू आएका छन्। इरानी प्रान्त खुजस्तानस्थित अरब अल्पसङ्ख्यकको अधिकारका लागि लडिरहेको बताउने एउटा अरब समूहले हमला आफूले गराएको बताएको छ भने इस्लामिक स्टेटसँग सम्बन्धित अमाक समाचार संस्थाले सो हमला इस्लामिक स्टेटले गराएको दाबी गरेको छ।
यसअघि पनि इस्लामिक स्टेटले इरानमा एउटा ठूलो हमला गरेको थियो।
इरानी नेताहरूले एहवाज शहरमा भएको सैनिक परेडमा गोली प्रहारका लागि अमेरिका समर्थित खाडी देशहरू जिम्मेवार रहेको आरोप लगाएका छन्। परेडको अवलोकन गरिरहेका सर्वसाधारण र परेडमा संलग्न सैनिकहरूमाथि भएको सो हमलामा चार वर्षिया एक बालिकासहित २५ जनाको ज्यान गएको थियो।
सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीले उनकै शब्दमा “अमेरिकी कठपुतली”हरूले इरानमा असुरक्षा बढाइरहेका छन्।
बन्दुकधारीहरूले रिभोलुस्नरी गार्डका सेना र अधिकारीमाथि लक्षित गरी गोली प्रहार गरेको हुन सक्ने ठानिएको छ। इरान सरकारले नेदर्ल्याण्डस् डेनमार्क र ब्रिटेनका राजदूतहरूलाई बोलाउँदै उनीहरूका देशहरूले इरानी विपक्षी समूहहरूलाई समर्थन गरेको आरोप लगाएको छ।
एक स्थानीय अरबी पृथकतावादी समूह अल अभाजियमले हमलाको जिम्मेवारी लिएको छ। इरानी सञ्चारमाध्यमका अनुसार त्यो समूहका सदस्यहरू नेदर्ल्याण्ड्स र डेनमार्कसहित युरोपेली देशहरूमा छरिएर रहेका छन्।
-बीबीसीबाट