तितोपाटी-नेपाली कांग्रेस संसदीय दल नेतामा भीष्मराज आङ्देम्बे चयन भएका छन्। गत फागुन २१ मा सम्पन्न निर्बाचनपछि समानुपातिक सांसद भएका आङ्देम्बेले उक्त जिम्मेवारी पाएका हुन् । कांग्रेसमा लामो समयको रक्सारक्सिबाट आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूसहितको बैठकले सर्वसम्मतिका आधारमा आङ्देम्बेलाई दलको नेता चयन गरेको निर्वाचन समितिका प्रमुख तथा सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।
देउवा समुहका ट्याग पाएका पाचथरका ६१ वर्षीय आङ्देम्बे निवर्तमान सहमहामन्त्री हुन्। सभापति गगन थापाले आङ्देम्बेलाई संसदीय दल नेताको प्रमाण पत्र हस्तान्तरण गरेका छन्।
प्रतिनिधि सभामा कांग्रेसका प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सांसद छन् । ३८ जनामा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षमा १५, डा. शेखर कोइराला पक्षका ७ र विशेष महाधिवेशनबाट आएको र अहिले सर्वोच्चले आधिकारिकता दिएको गगन नेतृत्वको कार्यसमितिको पक्षका १६ जना छन्।
आङ्देम्बे १४ औँ महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा प्यानलबाट आदिवासी जनजाती कोटामा सहमहामन्त्री जितेका थिए । त्यसले देउवा पक्षको अहिले सांसद हुने सबैभन्दा सिनियर नेता पनि आङ्देम्बे नै हुन्।