Thursday 1st October 2026

याैन सपनाः एक जानकारी


तितोपाटी – निदाइरहेका बेला यौनसम्बन्धी सपना देख्नु स्वभाविक हो । यौन सपनाका क्रममा स्वप्न दोष हुनसक्ने भए पनि यी दुवै फरक–फरक कुरा हुन् । सधैंजसो र सबैको स्वप्न दोष हुनैपर्छ भन्ने छैन । कतिपय बेला अर्धचेतन अवस्थामा लिंग उत्तेजना मात्र पनि हुनसक्छ ।

उमेर पुगेपछि करिब ५० प्रतिशत व्यक्तिले एक न एक पटक यौन सपना देखिसकेका हुन्छन् । किशोरावस्थामा बढी देखिने यौन सपना तथा स्वप्न दोषको घटना व्यक्तिअनुसार फरक–फरक हुनसक्छ । पुरुषका साथै महिलाले पनि यौन प्रधान सपना देख्छन् । यस क्रममा योनिश्राव अत्यधिक भै यौन सन्तुष्टि प्राप्त हुन्छ । यौन सपनाका क्रममा कतिपयलाई वास्तवमै यौन कार्यमा संलग्न भैरहेको अनुभूति हुन्छ । यस्तो बेला सपनामा आउने यौन साथी परिचित वा अपरिचित दुवै हुन सक्छन् ।

सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि सेक्स हर्मोनले एकातिर यौनव्यग्रता तथा यौनतनाव बढाउँछ भने अर्कोतिर यस अवस्थामा वीर्यको पनि उत्पादन हुन थाल्छ । अनि वीर्यले स्वाभाविकरूपमा बाहिर निस्कने बाटो खोज्छ । यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौनतनाव बढ्न थाल्छ । यसलाई शान्त पार्नु पनि स्वाभाविक कुरा नै हो ।

हस्तमैथुन वा यौनसम्पर्कबाट यस्तो अवसर मिल्न नसकेको स्थितिमा व्यक्तिले यौन–सपना देख्छ । अनि पुरुषको हकमा सपनामै वीर्यस्खलन हुने र यौन चरमसुख प्राप्तिको स्थितिसम्म पुग्ने हुन्छ । महिलाले त्यस्तो सपना देखेको खण्डमा पनि योनिश्राव हुने र चरमसुख प्राप्त गर्ने हुन्छ । यौन तनावलाई शान्त पार्न गरिएको प्रयास वा क्रियाकलाप पर्याप्त नहुन पनि सक्छ । यौन तनाव शान्त पार्ने अर्को उपाय नभएको वा नगरिएको स्थितिमा त्यसलाई कम गर्न प्रकृतिले नै दिएको यो यौन–सपना एक स्वाभाविक कुरा हो ।

अर्कोतिर यौनसम्पर्क वा हस्तमैथुन सामान्यरूपमा राखिँदा यो केही कम भए पनि निर्मूल नै नहुन सक्छ । केहीमा पर्याप्त र नियमितरूपमा हस्तमैथुन वा यौनसम्पर्क गरिएकै अवस्थामा पनि यौन–सपना निरन्तर देखिने गरेको पाइन्छ । अनुसन्धानहरूले यौन–सपनालाई ‘टेस्टेस्टेरोन’ नामक हर्मोनको शरीरमा हुने मात्रासँग यौन–सपना देख्ने वा नदेख्ने कुरालाई जोडेका छन् । यौन–सपना देख्ने व्यक्तिमा ‘टेस्टेस्टेरोन’ को मात्रा बढी हुने देखिएको छ । यौनको दृष्टिकोणले स्वस्थ व्यक्तिमा यो हर्मोन हुन्छ नै तर पनि कुनै व्यक्तिले यौन–सपना नै नदेख्न पनि सक्छ । यौन–सपना देखेर निद्रामै यौन चरमसुख पाउनु अनि यौन–सपना नै नदेख्नु दुवै प्राकृतिक कुरा हो ।

बाह्य वातावरण तथा सामाजिक रीतिस्थितिअनुसार आफूमा भएको यौन चाहना दबाउनुपर्ने हुन्छ । कतिपय व्यक्तिको संकुचित भावना तथा हस्तमैथुनप्रतिको नकारात्मक दृष्टिले पनि यौन चाहना दबाउनुपर्ने हुन्छ । यतिबेला शरीरभित्रै विकसित भैरहेको यौन अवस्थाले विकल्प खोज्छ । त्यस क्रममा धेरैले हस्तमैथुन गरेर आफ्नो यौन भोक शान्त पार्छन् भने कतिपयमा यौन सपनासँगै वीर्य स्खलन वा योनिश्राव भै यौन तनाव शान्त हुन्छ । कतिपयले यौन सपनासँगै स्खलित हुनै लाग्दा थाहा पाउँछन् भने कतिपयले स्खलित भएपछि मात्र आफूले यौन सपना देखेको जानकारी पाउँछन् । यौन सपना स्वभाविक प्रक्रिया हो । हस्तमैथुन गर्ने बानी तथा विवाहपश्चात् नियमित यौन कार्यले त्यस्तो सपना देख्ने क्रममा कमी आउँदै जान्छ । विभिन्न अध्ययनले के देखाएका छन् भने शरीरमा टेस्टोस्टेरोनको मात्रासँग यौन सपनाको घनिष्ठ सम्बन्ध छ । विरलै भए पनि कतिपयमा देखिने सपना हिँड्ने बानीजस्तै सपनामै यौन सम्पर्क स्थापित गर्ने, यौन क्रियाकलाप गर्ने प्रवृत्तिसमेत पाइन्छ ।

शारीरिक विकाससँगै यौन विकासको एउटा चिह्नका रूपमा रहेको यौन सपना सबैले देख्नैपर्छ भन्ने चाहिँ होइन । यसले दमित यौन तनाव घटाउन मद्दत गर्ने हुनाले समग्रमा यौन दुव्र्यवहार, यौन हिंसा घटाउन मद्दत गर्छ । प्रजनन प्रणाली राम्रोसँग विकसित भएको अवस्थामा बारम्बार यौन सपना देखिन सक्छ भने कसैले चाहँदैमा यौन सपना देखिने पनि होइन । यौन सपना देख्ने बानी घटाउन यौन परिकल्पना नगर्ने, यौन सामग्री नहेर्ने, नपढ्ने, सुत्नुअघि पिसाब फेरेर, हातखुट्टा राम्रोसँग धोएर तथा शान्त मन लिएर सुत्नुपर्छ । यसलाई स्वभाविक प्रक्रिया मानी स्खलित हुनै लाग्दा वा भएपछि यौनांगको सरसफाइमा ध्यान दिनुपर्छ । यस क्रममा भित्री कपडा फेर्ने, तन्ना वा सिरकको खोलको सरसफाइ आदि गर्नुपर्ने हुन्छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

प्रतिकृयाहरू
...