Friday 19th June 2026

फिलिपिन्समा अाँधीबाट ज्यान गुमाउनेको संख्या ८१ पुग्यो


तितोपाटी – फिलिपिन्समा ‘म्यांकुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको संख्या ८१ पुगेको प्रहरीले जनाएको छ । प्रकोपमा परी अझै पनि ७० बेपत्ता रहेका र बेपत्ता व्यक्ति भीषण आँधीपछि आएको पहिरोमा पुरिएको अनुमान छ ।

उत्तरी फिलिपिन्समा आँधीपछिको पहिरोमा परेर पुरिएकाहरूको खोजी गर्दै उद्धारकर्मी । खानी क्षेत्रमा कार्यरत दर्जनौं व्यक्ति पहिरोमा पुरिएको आशंका छ । तस्बिर : एपी
फिलिपिन्स राष्ट्रपतिका सल्लाहकार फ्रान्सिस टोलेन्टिनोले उद्धारकार्य जारी रहने र पहिरो प्रभावित क्षेत्रबाट सम्भव भएसम्म जीवितै उद्धार गरिने जनाए । यस आँधीले प्राय: पहाडी इलाका प्रभावित पारेको छ । यसैकारण आँधीपछि पहिरोको प्रकोप जारी छ ।

यस आँधीबाट हताहत र बेपत्ता पनि यसै पहाडी इलाकामा बढी भएको छ ।

फिलिपिन्समा यस वर्ष आएको आँधीमध्ये म्यांकुट अत्यन्त शक्तिशाली हो । गत शनिबार लुजोन द्वीपबाट सुरु भएको शक्तिशाली आँधीबाट घरहरू क्षतिग्रस्त भएको विद्युत् लाइन अवरुद्ध भएको थियो । रूख ढलेका र पहिरो पनि गएको थियो ।

आँधीबाट कृषि क्षेत्रमा २६ करोड ४३ लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको राष्ट्रिय प्रकोप व्यवस्थापन परिषद्ले जनाएको छ । फिलिपिन्समा यस वर्ष आएको यो १५आँै आँधी हो । हाल आएको म्यांकुट अत्यन्त शक्तिशाली आँधीका रूपमा छ । यस वर्षको अन्त्यसम्म अझै पनि चार या पाँचवटा आँधी आउने फिलिपिन्सको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

प्रहरी प्रवक्ता बेनिग्नो दुरानाले गत सोमबार प्रकाशित विज्ञप्तिका अनुसार मृतक संख्या ६५ पुगेको थियो । उपचारका क्रममा घाइतेहरू मारिएका र बेपत्ताको शव फेला परेपछि बुधबार म्यांकुटबाट मारिनेको संख्या ८१ पुगेको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ ।

आँधीका कारण फिलिपिन्सका लाखौँ मानिस प्रभावित भएका छन् । आँधीपछि गएको भूक्षयका कारण यस क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सामुद्रिक र हवाई यात्रामा रोक लगाइएको छ भने विद्यालय बन्द गरिएका छन् ।मध्य फिलिपिन्समा सन् २०१३ मा आएको सुपर टाइफुन ‘हाइयान’ का कारण ६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१३ मा राजधानी मनिलामा आएको ‘केत्साना’ नामक आँधीका परी ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...