Thursday 15th January 2026

अमेरिकाले नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने


संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार यो निर्णय सन् २०२६ जनवरी २१ देखि लागू हुनेछ।

यो निर्णयअनुसार ती देशका नागरिकहरूले स्थायी बसोबासका लागि आवश्यक पर्ने आप्रवासी भिसा (ग्रिनकार्डसम्बन्धी) प्रक्रिया अघि बढाउन पाउने छैनन्। अमेरिकी प्रशासनले यस कदमलाई आप्रवासन प्रणालीको पुनरावलोकनको हिस्सा भएको बताएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार अमेरिका पुगेपछि सरकारी सहायता (public assistance) मा निर्भर हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै भिसा प्रक्रिया अस्थायी रूपमा रोकिएको हो। यस अवधिमा आप्रवासी भिसासम्बन्धी नियम र मापदण्ड पुनरावलोकन गरिने जनाइएको छ।

तर, पर्यटक, विद्यार्थी तथा अन्य अस्थायी (Non-immigrant) भिसा प्रक्रियामा भने यो निर्णय लागू नहुने बताइएको छ। यद्यपि, ती भिसामा पनि थप कडाइ हुन सक्ने संकेत गरिएको छ।

नेपालसहित अफगानिस्तान, इरान, रुस, पाकिस्तान, बंगलादेश, सोमालिया, नाइजेरिया लगायत एशिया, अफ्रिका, मध्यपूर्व र ल्याटिन अमेरिकाका विभिन्न देशहरू यस निर्णयबाट प्रभावित भएका छन्।

यस निर्णयको मानव अधिकारकर्मी र आप्रवासन विज्ञहरूले आलोचना गरेका छन्। उनीहरूले वैध आप्रवासनको बाटो बन्द हुने र परिवार पुनर्मिलनमा असर पर्ने बताएका छन्। यद्यपि अमेरिकी प्रशासनले यसलाई राष्ट्रिय हित र आप्रवासन व्यवस्थापनका लागि आवश्यक कदम भएको दाबी गरेको छ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...