Friday 28th November 2025

छानबिन अघि नै मान्छे दोषी सावित हुने वातावरण बनाइदिनु न्याय प्रक्रियामाथिको सबैभन्दा ठूलो प्रहार


रवि लामिछानेमाथि सरकारले अमानवीय र अन्यायपूर्ण व्यवहार गरेको भन्दै कांग्रेसका नेता तथा सांसद सुनिल शर्माको अभिव्यक्ति सार्वजनिक भएपछि, रविका बारे केही शब्द लेख्न मन लागेर यो लेख तयार गरेको हुँ।
नेपालको राजनीतिक, कानुनी र सञ्चार जगतमा अहिले सबैभन्दा धेरै विवाद, बहस र विश्लेषणको केन्द्रमा रहने पात्र हुन्—रवि लामिछाने। उनको लोकप्रियता, बेग्लै ढंगको पत्रकारिता, जनतासित सिधा संवाद गर्ने शैली, प्रशासनिक र राजनीतिक प्रणालीमाथि प्रहार गर्ने निर्भीकता, र पछि देखिएको तीव्र राजनीतिक उदयले उनलाई केवल चर्चित मात्र होइन, एक प्रभावशाली र उदयमान दलकेा नेता बनायो। तर यही लोकप्रियता, जनसमर्थन र प्रभावले उनलाई प्रशंसकभन्दा बढी विरोधी पनि जन्माएको छ। यही कारण, उनी संलग्न हुने प्रत्येक विवाद, प्रत्येक प्रश्न, र हरेक घटना—राष्ट्रिय राजनीति तथा प्रशासनका लागि एक टेस्ट केस बनिदिन्छ।
यति धेरै लोकप्रियता, यति छिटो उदय, र यति ठोस जनसमर्थन पुरानो राजनीतिक संरचना भएकै प्रणालीका लागि सहज हुनै सक्दैन। नेपालमा दशकौँदेखि जरा गाडेर बसेको शक्ति–सन्तुलन उस्तै ढर्रामा चलिरहेको छ। त्यही संरचनाबीच बाहिरबाट उठेको, जनताले उठाएको, र मिडिया प्रभाव बोकेको व्यक्तित्वको उदय स्वाभाविक रूपमा ‘establishment’ का लागि असहजता र असन्तुलन ल्याउने काम गर्छ। यही असहजता नै आज देखिएका छानबिन, विवाद, आरोप–प्रत्यारोप र चरित्र हत्या प्रयासहरूको जड हो भन्ने धेरैको धारणा छ।
रवि लामिछानेमाथि उठाइएका धेरै मुद्दा केवल कानूनी वा तथ्यगत प्रश्न मात्र होइनन्। मुद्दा अघि बढाउने गति, शैली, लक्ष्य र समय–चयनले नै यसलाई राजनीतिक र नियोजित बनाइदिन्छ। समान प्रकृतिका मुद्दा हजारौँ छन्, तर कडाइ, आक्रामकता र निरन्तर चासो भने एकै व्यक्तिमाथि disproportionate रूपमा केन्द्रित हुनु आफैँमा एउटा कथा बोकेको छ। यही कथाले धेरै नागरिकलाई प्रश्न गर्न बाध्य बनाएको छ—के यो छानबिन साँचिकै कानूनी प्रक्रिया हो? कि राजनीति र शक्ति संरचनाले बनाएको योजनाबद्ध ‘operation’?
यसभन्दा खतरनाक पक्ष भनेको ‘मिडिया ट्रायल’ हो। कानूनी निर्णय आउनुभन्दा धेरै अघि नै मिडिया, डिजिटल प्लेटफर्म र विभिन्न शक्ति–लिङ्क भएका समूहहरूले रविलाई दोषीका रूपमा प्रस्तुत गर्ने प्रयास गरे। अधूरो सूचना, आधा सत्य, भडकाउने शीर्षक र राजनीतिक उद्देश्यले भरिएका सामग्रीले उनको राजनीतिक यात्रा र व्यक्तिगत छवि दुवैलाई चोट पुर्याए। छानबिन अघि नै मान्छे दोषी सावित हुने वातावरण बनाइदिनु—यो न्याय प्रक्रियामाथिको सबैभन्दा ठूलो प्रहार हो।
यसो भन्दैमा अर्को महत्वपूर्ण कुरा बिर्सन मिल्दैन—नेपालमा वर्षौँदेखि दोहोरिँदै आएको double standard। पुराना नेताहरूका मुद्दा वर्षौंसम्म थन्किन्छन्, फाइल गायब हुन्छन्, छानबिन कछुवाको गतिमा चल्छ। तर नयाँ पुस्ता, नयाँ शैली र जनताबाट प्रत्यक्ष उठेका नेतामाथि भने छिनछिनमा कडाइ, द्रुत छानबिन र आक्रामक व्यवहार देखिन्छ। समान प्रकृतिका मुद्दामा असमान प्रतिक्रिया नै अन्यायको सबैभन्दा ठोस प्रमाण हो।
यसरी हेर्दा, रवि लामिछानेमाथिको व्यवहार केवल कानूनी प्रक्रिया होइन; यो शक्ति–मनोविज्ञान, राजनीतिक प्रतिस्पर्धा, पुरानो संरचनाको असुरक्षा र जनसमर्थनप्रतिको डरबाट जन्मिएको प्रतिक्रिया हो। उनीमाथि आरोप लगाउनेभन्दा पनि ‘उनको प्रभाव कम कसरी गर्ने?’ भन्ने सोचले धेरै गतिविधि निर्देशित भएको स्पष्ट देखिन्छ।@highlight
– शिब शर्मा

सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले १९ देशबाट संयुक्त राज्य अमेरिका आएका व्यक्तिहरूलाई जारी गरिएको ग्रिन कार्डहरूको पुन: जाँच गरिने बताएको छ। अमेरिकी नागरिकता…

बगदाद: इराकले बिहीबार स्वायत्त कुर्दिस्तान क्षेत्रमा रहेको ग्यास कम्प्लेक्समा भएको आक्रमणको अनुसन्धान गर्ने बताएको छ, जसले ग्यास आपूर्ति अवरुद्ध गरेको…

काठमाडौँ । इजरायलमा नौ जना शीर्ष सैन्य अधिकारीहरूलाई बर्खास्त गरिएको छ । इजरायल रक्षा बलका प्रमुख, लेफ्टिनेन्ट जनरल इयाल जामिरले…

प्रतिकृयाहरू
...