Sunday 12th April 2026

फिलिपिन्समा अाँधीबाट मर्नेको संख्या ६५ पुग्यो, अाँधीको कहर अब चीन तिर


तितोपाटी – फिलिपिन्समा ‘म्याङकुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको संख्या ६५ पुगेको छ। फिलिपिन्सको केन्द्रीय प्रहरीका अनुसार लुजोन द्वीपमा आँधीमा परी ५४ र उत्तरी फिलिपिन्समा ११ व्यक्तिको मृत्यु भएको छ। प्राकृतिक विपत्तिमा परी ४३ जना बेपत्ता रहेका र ६४ जना घाइते भएको प्रहरीले जनाएको छ।

 त्यहाँ पनि आँधीले ठूलो क्षति पुर्‍याएको बताइएको छ।प्रहरी प्रवक्ता बेनिग्नो दुरानाले सोमबार मृत्यु हुनेको संख्या ६५ पुगेको बताए। फिलिपिन्सको उत्तरी क्षेत्रको लुजोन द्वीपमा म्याङ्कुट आँधी आएपछि धेरै जनधनको क्षति भएको छ। आँधीका कारण फिलिपिन्समा मात्र ४० लाखभन्दा बढीलाई प्रभावित पार्ने देखिएको छ। आँधीले रुखहरू ढालेको, घरका छाना उडाएको, झ्याल फुटाएको छ। लुजोनका धेरै ठाउँमा पहिरो र बाढी आएको छ।

आँधीपछि गएको भूस्खलनको कारण यो क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ। हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन्।मध्य फिलिपिन्समा सन् २०१३ मा आएको सुपर टाइफून ‘हाइयान’ का कारण ६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। त्यसैगरी सन् २०१३ मा राजधानी मनिलामा आएको ‘केत्साना’ नामक आँधीका परी सात सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

हाल फिलिपिन्समा केही मत्थर देखिएको उक्त आँधी हङकङ र चीनको पूर्वी तटीय सहरमा प्रवेश गरेको छ । ग्वाङडोङ चीनको सबैभन्दा धेरै जनसंख्या भएको प्रान्त हो। ग्वाङडोङको जनसंख्या १० करोडभन्दा बढी छ।

आँधीका कारण ग्वाङडोङका बन्दरगाह, तेल प्रशोधन केन्द्र र कलकारखाना बन्द गरिएका छन्। कतिपय स्थानमा विद्युत् आपूर्ति रोकिएको छ। सेन्झेनमा १ लाख ३० हजारभन्दा बढी घरमा आइतबार विद्युत् आपूर्ति बन्द भएको थियो।

आँधीले हङकङ र मकाउमा ताण्डव मच्चाउनुअघि फिलिपिन्समा ५० जनाभन्दा बढीको ज्यान लिएको थियो। २ सय किलोमिटर प्रतिघण्टाभन्दा तीव्र गतिमा आँधी चलेको छ। यस वर्ष यो क्षेत्रमा आएका समुद्री आँधीमध्ये म्याङकुत नै सबैभन्दा शक्तिशाली मानिएको छ।

अमेरिकाको उत्तरी क्यारोलाइनामा शुक्रबार आएको फ्लोरेन्स आँधीभन्दा पनि म्याङकुत शक्तिशाली मानिएको छ। फ्लोरेन्सको गति १ सय ५० किलोमिटर प्रतिघण्टा थियो।

दक्षिण पूर्वी एसियाली राष्ट्र मलेसियाको मलय र इन्डोनेसियाको मलक्का टापुमा पाइने फलको थाई नाम म्यांगोस्टिनबाट आँधीको नाम राखिएको थियो। आँधी हङकङको दक्षिणी तटभन्दा सय किलोमिटर परैबाट गए पनि हङकङमा हावाहुरीसँग मुसलधारे पानी वर्षाएको थियो। हङकङमा आँधीले सडकछेउका रुख उखेल्नुका साथै आवासीय र कार्यालय भवनका झ्यालका सिसा फुटाएको थियो।

हङकङ वरिपरि केही ठाउँमा आएका साढे ३ मिटर (१२ फिट) का सामुद्रिक छालले आवासीय क्षेत्र र सडक जलमग्न बनाएको थियो। आँधीले अन्तर्राष्ट्रिय हवाई उडान अवरुद्ध पारेपछि हङकङ विमानस्थलमा दशौं हजार यात्रु अलपत्र परेका छन्। विमान कम्पनीहरूले सयौं उडान रद्द गरेका छन्।

रासस÷एएफपी


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...