Saturday 11th October 2025

मैले जानेका पुष्कर


राजेन्द्र गोपाल सिंह – पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती टोलमा छ। सामान्य परिवारमा जन्मिएका उनी पढाइमा निकै अब्बल थिए । उनी अतिरिक्त क्रियाकलापमा पनि भाग लिइरहन्थे ।स्कूलमा उनीसंग दोहरो कुराकानी भएन तर मैले चासो राख्ने हुनाले ख्याल राखेको थिए ।स्कूले जीवनपछि विधार्थी जीवनमै म राजनीतिमा लागे भने उनी सोही स्कूलमै पढाउन लागे ।साहित्यमा रूचि भएतापनि जम्काभेटको अवसर भने बनिसकेको थिएन ।वि. सं. २०५१ मा पाल्पा साहित्य समाजको म संस्थापक सचिव हुँदा उनी संस्थापक सदस्य भए । राजनैतिक जागरणको लागि म जिल्ला भित्र र जिल्ला बाहिर गरिरहनुपर्ने भएकोले केही समयसम्म मैले पाल्पा साहित्य समाजबाट आराम लिएको जस्तै भयो । पुष्कर भने स्थापनाकालदेखि हालसम्म निरन्तर रूपमा संस्थाभित्रनै छन् । सशस्त्र द्वन्द र पदाधिकारी सदस्यहरूको व्यस्तताले पनि साहित्यमा क्रियाशिलता आउन सकेन , यस्तो समयमा पनि पुष्करले का.वा.अध्यक्षको रूपमा रही संस्थालाई धानी रहेका थिए । एक समय यस्तो आयो संस्थाका मित्रहरूले अध्यक्ष हुनुपर्यो भनी मलाई अनुरोध र दवाव दुवै आयो र रूचिको विषय समेत रहेकोले म वि.सं.२०६४ बैशाखदेखि २०७४ कार्तिकसम्म समाजको अध्यक्षको रूपमा रहे । पुष्कर सचिवको रूपमानै रहे । म सचिव भएर काम गर्दा अध्यक्ष र सचिवविच कस्तो सम्बन्ध हुनुपर्छ र के के गर्नुपर्छ भन्ने अनुभव साँचेको थिएँ ।म भन्दा अगाडि निमन्त्रणा पत्र , प्रमाणपत्र र सम्मान पत्रहरूमा सचिवको नाम लेख्ने चलन थिएन । मेरो पालामा अध्यक्ष र सचिव दुवैको नाम राख्ने परिपाटी बसाँए । यही क्रममा अध्यक्ष र सचिवको भेटघाट भइनै रहनुपर्ने भएकोले हाम्रो सम्बन्ध झ्याङ्गिदै गयो ।

पुष्करजी संस्थाको सचिव हुँदा मलाई काम गर्न निकै नै सजिलो भयो । संस्था दर्ता भएता पनि नियमित रूपमा नवीकरण भएको थिएन । कुरा बुझ्ने , खटेर काम गर्ने र आँटेको काम पुरा गर्ने स्वभावका धनी पुष्कर सचिवको साथ लिएर हामीले एकै पटक दश बर्षको संस्था नवीकरण गर्यौं । अहिले हरेक बर्ष संस्था नवीकरण हुँदै आएको छ । संस्थालाई वैधानिक बनाउने कार्यमा आजसम्म पनि नियमित रूपमा समाजको तर्फबाट पुष्कर नै खटिरहेका छन् । मलाइ पनि नयाँ नयाँ काम गर्न मन लाग्ने र पुष्करले पनि साथ दिने हुनाले हामीले सबै वर्षलाई आधार बनाएर छबिलाल नेपाल पाल्पाली प्रतिभा पुरस्कार प्रदानलाई निरन्तरता दियौं । राधाइन्द्र भारती समाज सेवा सम्मान पनि स्थापना गर्यौं। लेख रचना , कृति र जागरणको पहिलो अंक पनि निकाल्न सफल भयौं ।
पाल्पा साहित्य समाजको स्थापना बैशाख ४ गते भएतापनि राष्ट्रिय स्तरमै स्थापित साहित्यिक व्यक्तित्व माधव प्रसाद देवकोटालाई पनि सम्झनु पर्छ भन्ने उद्देश्यका साथ देवकोटाको जन्म मंसिर ३ मा भएकोले हामीले हरेक बर्ष मंसिरको पहिलो शनिबार छबिलाल जयन्ती , माधव देवकोटा जयन्ती र समाजको बार्षिक दिवस समेत मनाउदै आएका छौं । म‌ैले गरेका हरेक काममा साथ दिने पुष्कर नै थिए ।

समाज चौविसौं वर्षमा प्रवेश गरेको थियोे ।यतिबेला पुष्करजीसंग एउटाआग्रह मेरो थियो , “चिरञ्जीवी ढुङ्गानालाई समाजको अध्यक्ष बनाओैं ।उहाँको इच्छा पनि पूरा हुन्छ । साहित्यकार कलाकार पनि हो । संस्थापक सदस्य समेत भएकोले सम्मान पनि हुन्छ । उदाहरण हुन्छ ।” पुष्करले हुन्छ भने, हामीले बनायौं ।यसलाई म उनको महानता संझेको छु । अस्वस्थताका कारण चिरञ्जीवी ढुंगानाजी सक्रिय हुन नसकेपछि उहाँले पुष्करजीलाई नै समाजको अध्यक्ष पद हस्तान्तरण गर्नुभयो । तात्कालिन समयमा संस्था चलाउन उनी भन्दा अर्को नेतृत्वको विकल्पनै थिएन। उनी झन क्रियाशिल थिए। समाज पच्चिसौं वर्षमा प्रवेश गरेको थियो । उनले बर्ष २०७५/०७६ भरिनै रजत जयन्ती मनाउनु पर्छ भन्ने योजना सहित मलाई समाजको संरक्षक रहन अनुरोध गरे । उनको अनुरोध र दवाव साथै कार्यसमितिको निर्णयसंग‌ै म संरक्षक भएँ । वर्षदिन भरिनै कार्यक्रम गरेर, बाजागाजा सहितको साहित्यिक र्यालीको आयोजना,विभिन्न कृतिहरू प्रकाशन, जागरण रजत महोत्सव विशेषाङ्क प्रकाशन , सम्मान , पुरस्कार वितरण , साँस्कृतिक कार्यक्रम सहित प्राज्ञ मञ्जु काँचुलीको प्रमुख आतिथ्यतामा भव्यताका साथ रजत महोत्सव सम्पन्न भयो । नेपाली साहित्यको इतिहासमा वैधानिकता कायम गरी , हरेक वर्ष नियमित रूपमा विविध साहित्यिक कार्यक्रमहरू गर्दै रजत महोत्सव मनाउने संस्थाहरूमा पाल्पा साहित्य समाज अग्रपंक्तिमा नै पर्दछ ।

पाल्पाली आदिकवि छविलाल नेपालको नाममा हरेक वर्ष पुरस्कार प्रदान गरेता पनि संस्थामा कुनै कोष थिएन ।रजत महोत्सव वर्षको दौंरानमै अक्षयकोषको घोषणा गरिएकोले अहिले समाजमा चार लाखकै हाराहारीमा अक्षयकोष रहेको छ । अहिले समाजमा छबिलाल कोष, लाकौल कोष, इन्द्रराधा कोष र श्रीगणेश केशवलक्ष्मीश्रेष्ठ कोषहरू रहेका छन् । म र मेरो घर परिवारबाट पितामाताको नाममा भैरवतुल्सी सिंह पुरस्कार र पुष्करजीका सन्ततिहरूबाट अथक पुष्करको नाममा वार्षिक पुरस्कार स्थापना भएका छन् ।रजत महोत्सव मनाउन, अक्षयकोष स्थापना गर्न र कार्यक्रमहरूलाई निरन्तरता दिइरहन पुष्करको धेरै मेहनत र योगदान रहेको छ ।

रजत महोत्सवको दौरान हामीले सोही बर्ष देखिनै स्थापना दिवस कार्यक्रम मनाउन लाग्यौ र वर्षमा दुइवटा कार्यक्रमलाई नियमितरूपमा संचालन गर्दै आयौं । यस्का साथै अन्य विविध कार्यक्रम गर्दै आयौं । समाजले जिल्ला भित्र र बाहिर समेत कार्यक्रम गर्दै आएकाे छ । तानसेन बाहिर खस्यौली, रिडी लगायत पाल्पा बाहिर काठमाडौ , प‍ोखरा, देवघाट र वुटवलमा समेत साहित्यिक कार्यक्रम , पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रम आयोजना गरेको गर्दै आएको छ । पुष्कर आफैमा सक्षम छन् । विज्ञ छन् । नेतृत्व र समन्वय उनी आफैमा निर्णायक शक्ति छ । समय व्यवस्थापनमा गर्न उनीसंग सिक्नु पर्दछ । उनी अध्यक्ष हु न । उनीमा योजना छ । दुरदर्शिता छ ।उनीमा निर्णय गर्न सक्ने क्षमता छ । उनले सबै काम गरेका छन र पनि उनी भन्ने गर्छन , ‘ पाल्पा साहित्य समाजका संरक्षक हजुरले साथ दिनु भएको छ र त मलाई काम गर्ने अभिप्रेरणा मिलेको छ ।’

पाल्पा साहित्य समाजले विभिन्न व्यक्तित्वहरूका करिव दुइ दर्जन कृति प्रकाशित गरिसकेको छ भने अधिकांस कृति पुष्करकै छन् । गीति उपन्यास ‘अफसोच’, आदिकवि छविलाल नेपालको जीवनी ‘ अग्रदूत’, अग्रज अमर पाल्पाली स्रष्टाहरूको जीवनी सङ्ग्रह ‘अमृताञ्जली’,साहित्यकार शुभ श्रेष्ठको जीवनी ‘अर्पण ‘, ‘ अविश्रान्त कर्मशील साहित्यकार देवन्द्रराज शाक्यको जीवनी व्यक्तित्व र कृतित्व’, ऐतिहासिक प्रबन्ध सङ्ग्रह ‘ अनुस्मृति’, ऐतिहासिक नाटक सङ्ग्रह ‘ अमर पात्र’, सेनकालीन ऐतिहासिक आख्यान ‘ अस्तित्व ‘, कविता सङ्ग्रह ‘ अन्तराल ‘ गरि साहित्यका चारवटै विधामा उनका कृतिहरू प्रकाशित भएका छन् । यसैगरी हामी दुवैको संयुक्त सङ्ग्रहको रूपमा ‘पाल्पाको साहित्यिक इतिहास ‘ र ‘ पाल्पामा नेपाल भाषा साहित्यको इतिहास ‘ पनि प्रकाशित भएको छ । यसरी पाल्पामा साहित्यको इतिहास प्रकाशन गर्ने पहिलो संस्था पाल्पा साहित्य समाज भएको छ । पुष्करले अन्य संस्थाहरूबाट पनि कृतिहरू प्रकाशित गरेका छन् । उनले पाल्पा भूमिबाट नै लघुतम काव्य उपविधा ‘शीत’ र ‘त्रिशूल’ को परिकल्पना गरी साहित्यिक उर्वर भूमि पाल्पाको परिचय बढाएका छन् ।साहित्यमा सबै गरी उनका प्रकाशित कृतिको संख्या दुइ दर्जनभन्दा बढीनै पुगेको छ ।

पुष्करले धेरै पत्रपत्रिकामा हजारौंको हाराहारीमा लेखहरू पनि लेखी प्रकाशित गरेका छन् । केही लेख र कार्यपत्र हरू हाम्रो संयुक्त रहेको छ । यस्मा पनि उनकै देन महत्त्वपूर्ण रहेको छ । उनका केही संयुक्त सङ्ग्रहहरू पनि प्रकाशित भएका छन् । उनी सम्लग्न रहेका संस्थाहरूबाट उनले विशेषाङक , स्मारिका र वुलेटिनहरू समेत गरी दर्जनौं प्रकाशनमा सम्पादकीय भूमिका निर्वाह गरेका छन् । पृथक पात्रको रूपमा रही उनी प्रचारवाज र चाकरीवाज नभएकोले उनको यथोचित मूल्यांकन हुन सकिराखेको छैन् । अपेक्षा विना कर्ममा खटिरहने पुष्करको कुनै दिन मूल्यांकन हुनेछ भन्ने कुरामा मैले विश्वास लिएको छु ।

‘चौविस घन्टामा दुई घन्टामात्र सुतेको छु । रातीको समयमा लेख्ने गरेको छु ।’ भन्ने पुष्करले क्याम्पस प्रमुखको जिम्मेवारी पनि समालेका छन्। मर्दा पर्दा र धर्म गर्दा जानुपर्ने ठाउमा पनि पुगेकै हुन्छन् । सम्लग्न संघसंस्था सबै ठाउँमा पुगेक‌ै छन् । कार्यक्रम गरेक‌ै छन् ।साझको समयमा अवेरसम्म प्रायःजसो मसंगै हुन्छन् र पनि भोलिपल्ट पत्रिकामा ,सामाजिक संजालमा उनको लेख रचना प्रकाशित भइहाल्छ । यो देखि म आश्चर्यचकित समेत पर्छु ।यस‌ले पनि दशकौं पुरानो सहयात्रामा उनको उपनाम अथक यसै रहेको रहेनछ भन्ने म‌‌‌ैले महसुस गरेको छु ।

उनलाई नजिकबाट नियाल्दा उनले कहिलेपनि भाउ खोजेनन् बरू भाउ दिई रहे । कहिल्यै ठूलो हुन खोजेनन् बरू सानै रहि रहे । यसो हुँदै गर्दा पनि उनले तितो व्यहोर्नुपरेको म‌ैले नजिकैबाट देखेको छु , तर उनले कहिले पनि मन दु:खाएनन् । मानिसहरू अन्तर्मुखी या त बहिर्मुखी स्वभावका हुन्छन तर पुष्कर दुवै स्वभावका छन् ।वर्षेनी कृति प्रकाशित गर्छन् । सहयोगी , मितव्ययी छन् ।आर्थिक रूपले सम्मन्नशाली नभएता पनि उनले आवश्यक ठाउँमा दिल खोलेर खर्च गर्छन । उनी मनकारी छन् र कुनै पनि कुरामा नाइँ भन्न सक्दैनन् ।हाम्रो समाजमा साहित्यकारहरूको जीवनी पढनु र जिवित साहित्यकारहरूलाई नियालेर हेर्नु र हाम्रै साथीहरूलाई नियालेर हेर्दा पनि साहित्यकारको जीवनमा उतारचढाव भएको , साहित्यकारहरूको उचित मूल्यांकन नभएको , अपमान भएको पाइन्छ । त्यसो हुँदा दुख मलाई मात्र हो कि भनेर सोच्थे , होइन रहेछ ।साहित्य , समाजसेवा , राजनीति सबैतिर यस्तै हुदो रहेछ ।
हरेक क्षेत्रमा गर्नेहरूले भन्दा नगर्नेहरूले नै वढी अवसर पाउँछन् तर उनीहरू केही गर्दैनन् र हराउँछन, बिलाउँछन् ।अवसर नपाएका गर्नेहरू भने आफ्नो कामको आधारमा इतिहासमा अमर रहन्छन् ।

पुष्कर अथक रेग्मी पाल्पा साहित्य समाजका एक महत्त्वपूर्ण अध्याय त हुँदैहुन् तर यिनको परिचय र कर्म त्यतिमा मात्रै सीमित छैन् । उनी संस्थामा बस्छन् त्यहाँ नवीनपना ल्याउन केही न केही गर्छन् । उनी संस्थाप्रति जिम्मेवार र गम्भीर रहन्छन् । उनी शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठानको संस्थापक सहित अध्यक्षको रूपमा समेत क्रियाशिल छन् । प्रतिष्ठानमा उनलेे पाँचलाख भन्दा बढीको अक्षयकोष जम्मा गरेका छन् । बर्सेनी बिभिन्र विधाका दश जना व्यक्तित्वहरूलाई सम्मान गर्दै आएका छन् । विभिन्न विधालयका विधार्थीहरूलाई प्रतिष्ठानबाट छात्रवृत्ति उपलव्ध गराएका छन् । साहित्यिक यात्राको समेत आयोजना गर्नुका साथै विभिन्न कृतिहरू समेत प्रकाशित गरेका छन् र प्रकाशन, लोकार्पण ,समीक्षा र मञ्च प्रदान गर्ने अवसर पनि सिर्जना गरिदिएका छन्।

दुई दशक यताको पाल्पाको साहित्यिक गतिविधि, अभियान र लेखनको निष्पक्ष मूल्यांकन गर्ने हो भने पुष्कर राष्ट्रिय स्तरमै पुग्नु पर्ने व्यक्तित्व हुन् तर महत्वाकांक्षी हुन जानेनन र पनि उनी पछाडि परे । कतिपय स्थानमा उनलाई पछाडि पारियो । उनको य‍ोग्यता र विज्ञतामा प्रभावकारिता नभएको होइन र पनि उनको रिस गर्ने, ईर्ष्या गर्ने र खेदो खन्ने पनि साहित्यिक सामाजिक क्षेत्रभित्र छन् । मान्छे दुधले नुहाएको त हुँदैन , उनी पनि पुरै दुधले नुहाएका छन् त म भन्दिन तर खोट लगाउनु पर्ने कमजोरी भने देख्दिन । उनी सन्टुष्ट छन् । म सन्टुष्ट मान्छे हुँ ।पुष्करको संगतले झनै सन्टुष्ट भएको छु ।सन्टुष्ट रहनु पनि पुष्करको एउटा विशेषता हो । पुष्करले साहित्यिक धर्म र कर्म छाडेका छैनन् र पाल्पाको साहित्यको क्षेत्रमा अथक साहित्यकारको रूपमा प्रतिष्ठापित भएका छन् । उनको लेखाइ र कर्मबाट धेरै मानिस प्रभावित भएका छन् भने नेपाली वाङ्मयको क्षेत्र लाभान्वित भएको छ ।

सिद्धार्थ वनस्थली स्कुल काठमाडौंमा इन्जिनियर पढन गएका उनी माध्यमिक तहमा बिज्ञान विषय नलिएका कारण पढन पाएनन् र पाल्पा फर्कि व्यवस्थापन पढे । उनलाई माध्यमिक तहमा बिज्ञान बिषय लिइ पढनु पर्छ भनी सिकाउने , सम्झाउने र बाध्य पार्ने कोही भएन । यधपि उनी कक्षा प्रथम थिए र एस.एल.सी.मा फष्ट डिभिजन ल्याएका थिए । पछि शिक्षा बिषयमा एम एड. गरे। साहित्य र गीत लेखनकै माध्यमबाट उनले प्रेमविवाह गरे ।जुनसुकै कुरामा पनि सन्टुष्टी लिन सक्ने , हरेक परिस्थितिसंग सहजै सामना गर्न सक्ने र हरेक काम दत्तचित्त भइ फत्य गर्न सक्ने खुबीले गर्दा उनमा विचलन आउँदैन ।उनको यो महत्त्वपूर्ण उपलब्धि हो । उनको व्यक्तित्वको कुरा गर्दा उनी सामान्य परिवारबाट उठेर संघर्ष गरि स्थापित साहित्यकार , समाजसेवी , प्राज्ञिक व्यक्ति हुन् । कृतित्वको चर्चा परिचर्चाका लागि उनका प्रकाशित कृतिहरू आफै बोल्छन् ।

उनको कार्यसम्पादन शैलीलाई देखेर नै सम्पदा प्रतिष्ठान (पाल्पा सङ्ग्रहालय) को सचिव बनायौं। उनी सचिव भएपछि प्रतिष्ठानलाई बैधानिक रूपमा बलियो बनाउदै सङ्ग्रहालयलाई व्यवस्थित बनाउदै नवीन कार्य योजनाका साथ अघि बढन सक्यौं । उनी लेख्छन्, पत्रपत्रिकामा छाप्छन्, कृतिहरू प्रकाशित गर्छन । कति मिलेका छन् या छैनन् म भन्न सक्दिन । यसबारे समयले नै मूल्यांकन गर्ला तर पहिलो प्रकाशन ‘अफसोच ‘देखि ‘अठार’ लघुकथा सङ्ग्रह हुँदै लघुकाव्य ‘अमोघ’ सम्म आइपुग्दा र ‘पाल्पाको साहित्यिक इतिहास’ र ‘पाल्पामा नेपाल भाषा साहित्यको इतिहास ‘ प्रकाशन हुँदासम्म उनको लेखाइमा नवीनतम प्रयोग र प्रस्तुती सहित पृथक रहेको छ । उनी स्वतन्त्र भएर लेख्छन् र लेखाइमा सूत्र, अर्थ , मन्त्र , भाव दिदै खोजका लागि सोचमूलक बनाइ गन्तव्यमा पुग्नका लागि मार्ग प्रशस्ति गर्छन् । सन्देश दिनु, प्रेरणा जगाउनु, संभावनाको खोजी गर्नु ,नवीनतम् प्रयोग गर्नु उनको लेखकीय विशेषता हो ।

संस्थामा आउने जाने क्रम चलिरहन्छ । पाल्पा साहित्य समाजमा पनि आए गए । कति आउन सकेनन । कति धैर्यशील भइ रहन सकेनन् । पुष्करले भने
पाल्पा साहित्य समाज स्थापनादेखि हालसम्म प्रतिकूल अनुकुल दुवै समयमा निरन्तरता दिइराखेका छन् । उनको यो निरन्तरता र क्रियाशीलता सदा रहिरहोस् । समाजको कार्यक्रम हुँदा हामीलाई आर्थिक सहयोग गरेर, दाइ ,भाइ छ‍ोरा, भतिज, भतिजी ,भान्जा, भान्जी, नाति ,नातिना लगायतका समाजका पारिवारिक सदस्यहरूले समेत माइक, बेन्च, डेस्क , कुर्सी ,पानी , चिया बोकेर ; बिष्कुट, खाजा र किताबहरू बाँडेर, कार्यक्रम स्थल सफा गरेर , व्यानर टाँगेर सहयोग पुर्याएका छन् । हो यसरी नै संस्था चलेको हुन्छ र त संस्था जिवन्त हुन्छ ।

पाल्पामा रहेका साहित्यिक संस्थाहरू सबै क्रियाशिल छैनन् । वैधानिकताको कुरा गर्ने हो भने कतिले निरन्तरता दिन सकेका छैनन् । कतिपय संस्था मृतप्राय भइसके ।
पाल्पामा राज्यपक्षबाट साहित्यिक संस्थाहरूको संरक्षण , सम्बर्दन र प्रवर्द्धनका लागि कुनै ठ‍ोस कदम चालिएको छैन् । पाल्पा साहित्य समाज भने निरन्तर वैधानिक रूपमा क्रियाशिल छ । समाजले कृति प्रकाशन गर्नु, सम्मान गर्नु, पुरस्कृत गर्नु,अभियान चलाउनु, अक्षयकोष जम्मा गर्नुका साथै मुख्य कुरा त समाजले सबैलाई मञ्च
प्रदान गरेको छ । पाल्पा साहित्य समाजकै मञ्चबाट कवि , लेखक, साहित्यकार , गीतकार , समीक्षक जन्मिरहेका छन् । स्रष्टा र द्रष्टाका लागि पाल्पा साहित्य समाज उदाहरणीय संस्थाको रूपमा रहेको छ । नेपाली वाङ्मयको क्षेत्रमा पाल्पा साहित्य समाज र पाल्पाको साहित्यलाई अलग पहिचान सहित राष्ट्रिय स्तरसम्मनै व्यापिकरण गर्न पुष्कर अथक रेग्मी लागिपरेका छन् ।

म चाहन्छु पुष्करको परिचय यथावत रहोस् । महत्वाकांक्षी नहोस्। प्रचारवाजी नरहोस् । मैले संगै हुँदा उनलाई यही कुरा भन्ने गर्छु । गाली पनि गर्छु । माया पनि गर्छु । किनभने तालीले मान्छेलाई हावामा उडाउन सक्छ र पुन : भुइँमै आउनु पर्छ ।यसैले मैले पुष्करलाई सदैव सचेत गराउँदै आएको छु । उनले मलाई दाइ सम्बोधन गर्छन् र अभिभावकको रूपमा मान्दै आएका छन् । हाम्रो यो सम्बन्ध जीवनभर रहिरहोस् । उनलाई पनि सदैव साथ दिइरहन सकुँ । उनको योगदानको कदर होस् । लेखकीय सफलता मिलिरहोस् । सुख शान्ति समृद्धि रहिरहोस् । अझ थप उन्नति प्रगति होस् यही शुभकामना दिन्छु ।

मैले देखेको र भ‍ोगेको छु । कतिपय पात्रहरू अवसर मिल्दा एउटा कुरा र अवसर नमिल्दा अर्को कुरा गर्छन् ।
यस्तो दोधारे चरित्र पुष्करमा छैन् र नहोस् पनि भन्न चाहन्छु । संस्थामा काम गर्न गाह्रो छ । म अध्यक्ष हुँदा पनि ऋण र सहयोग लिएको थिएँ । अहिले पुष्करले पनि ऋण र सहयोग लिएर नै संस्था चलाएका छन् । उनले साहित्यिक कार्यक्रमका लागि आफ्नो खल्टिबाट समेत पैसा खर्च गरिरहेका छन् र त संस्थाले , गतिविधिले, अभियानले, प्रकाशनले, कार्यक्रमले, सम्बन्ध बिस्तारले, पाल्पाको साहित्यिक जागरणले समेत नियमितता र गतिशीलता पाएको छ । यसर्थ मैले चिनेको जानेको पुष्कर अथक रेग्मी पाल्पाको साहित्यिक बर्तमानको
अहोरात्र खटिरहने साँच्चै ‘अथक पात्र ‘हुन् । अथकको कर्म सधैं सार्थक रहोस् । निरर्थक नरहोस् । पाल्पाको साहित्यको प्रर्याय रहोस् । हृदयभरिको शुभकामना !
( लेखक साहित्यकार एवं पाल्पा साहित्य समाजका संरक्षक हुनुहुन्छ )
साभार : जनमत , पुष्कर अथक रेग्मी विशेषाङ्क , २०८२ असार


सम्बन्धित शीर्षकहरु

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

प्रतिकृयाहरू
...