Wednesday 2nd September 2026

जालसाजी गरेर श्रीमतीलार्इ थाहा नै नदिर्इ सम्बन्ध विच्छेद !


तितोपाटी – श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ ।

आफूलाई थाहा नै नदिइ श्रीमान्ले सम्बन्ध विच्छेद गरेको भन्दै सोमबार स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिएकी छन् । उनले रुँदै भनिन्,’मलाई थाहा नै नदिइ कसरी सम्बन्ध विच्छेद भयो, मलाई न्याय चाहियो ।’

भिरकोट नगरपालिका– ३ निवासी श्रीमान् मोहनकुमार क्षेत्रीले जालसाजी गरेर सम्बन्ध विच्छेद गराएको भन्दै मीनाकुमारीले उक्त अदालतमा तीन वटा मुद्दा दर्ता गराएकी हुन् । उनले हक कायम गराउन, जालसाजी र गाली बेइज्जतीको मुद्दा दर्ता गराउनु भएको स्रेस्तेदार नन्दप्रसाद आचार्यले बताए ।

आफूलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेकाले मुद्दा दायर गर्नुपरेको गुनासो गर्दै उनले भनिन्,’मलाई थाहा नै छैन कसरी भयो सम्बन्ध विच्छेद ?’

श्रीमानले कुटपिट गर्ने, खान लाउन नदिइ राम्रो व्यवहार नगरेपछि माइतीको सहयोगमा पोखरा बसेर दुःख गरी दुई छोरीलाई पढाउँदै आएको र छोरी कृष्टीले गत असार ११ गते जिल्ला अदालतमा अंश माग गर्दै मुद्दा दर्ता गर्दा मात्र आफ्नो सम्बन्ध विच्छेद भइसकेको भन्ने कुरा थाहा पाएपछि अहिले आफू श्रीमानका बिरुद्ध उत्रिन बाध्य भएको उनले बताइन् ।

विसं २०४४ मा आफूहरूको मागी विवाह भएकामा भारतीय सेनामा कार्यरत श्रीमानले विसं ०४६ मा अर्की विवाह गरेका र त्यो विवाहलाई ढाकछोप गर्न आफूलाई सँगै भारत लगेको र करीब दुई वर्ष भारतमा बसी एक छोरी जन्मिएपछि घर पर्किएको उनले बताइन् ।

घरमा आएपछि आफूलाई खान लाउन नदिने कुटपिट गर्ने गरेपछि माइतीको सहयोगमा पोखरा बस्दै आएकामा बिरुवा अर्चले– ६ का राजेन्द्र अधिकारीसँग विसं २०५५ फागुन १३ गते अर्को विवाह गरेर गएको भनी झुठो विवरण बनाई अदालतले स्वतः सम्बन्ध विच्छेदको फैसला गरेकोे भन्दै मीनाकुमारीले यसबाट आफू अन्यायमा परेको र सम्बन्ध विच्छेदको कुरा छोरीले अंश मुद्दा दिएपछि मात्रै आफूले थाहा पाएको बताइन्।

बिरुवा अर्चलेका राजेन्द्र अधिकारीलाई अहिलेसम्म देख्दा पनि नदेखेको र नचिनेको मान्छेसँग बिहे गरेर गएको भनी आफूलाई झुठो आरोप लगाएर अपमान गरेको पनि उनकाे भनाइ छ ।

उक्त अदालतका श्रेष्तेदार आचार्यले भने, ‘बिरुवा अर्चले– ६ का राजेन्द्र अधिकारीसंग विसं २०५५ फागुन १३ गते अर्को बिहे गरेर गएको भन्ने विवरण फिराद पत्रमा देखिएको, अदालतबाट म्याद जारी गरी सूचना लिएर जाँदा राजेन्द्र अधिकारी र मीनाकुमारी क्षेत्री घरजग्गा बिक्री गरी अन्यत्र गएकाले पिपलको रुखमा सूचना टाँस गरिएको र अदालतबाट दोस्रो पटक आदर्श समाज दैनिकमा विसं २०७३ पुुस १५ गते प्रकाशित पत्रिकामा म्याद जारी गरेको र विसं २०७४ वैशाख ६ गते सम्बन्ध विच्छेद हुने गरी फैसला भएको थियो ।’


सम्बन्धित शीर्षकहरु

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव फेरि बढेको छ भने यो द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ । अमेरिकी सेनाले इरानविरुद्धको…

नेपाल–चीन सीमामा हिमताल फुटेर आएको विनाशकारी बाढीमा परी हालसम्म १,२०४ जनाको मृत्यु भएको छ भने ४,२०० भन्दा बढी मानिस अझै…

प्रतिकृयाहरू
...