Friday 9th October 2026

मिथिलामा ‘दशहरा’ पर्व सुरु


प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादसैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिँदै छ । दसैँ पर्वलाई मिथिलामा ‘दशहरा’ भनिन्छ ।

मिथिला परम्परामा दुईवटा नवरात्र छन् । असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई वासन्ती नवरात्र भनिन्छ । देवीपूजन र आराधनामा दुवै नवरात्र समान महत्वका भए पनि शारदीय नवरात्र पहिलेदेखि नै धुमधामले मनाउने प्रचलन रहेको पाका मैथिल बताउँछन् ।

मिथिलाका देवी शक्तिपीठहरुमा कन्याकुमारीहरुले आज धार्मिक महत्वका नदी र सरोवरबाट माटाका नयाँ घडामा भरेर ल्याएको जल देवीको प्रतिमा र मन्दिर परिसरमा अभिषेक गर्दै सोही जल कलश स्थापना गरेर घटस्थापना गरिन्छ । यस प्रयोजनका लागि आज एकाबिहानैदेखि बस्तीबस्तीमा कलश यात्राका कार्यक्रम भइरहेका छन् ।

महोत्तरीका प्रसिद्घ देवी शक्तिपीठ बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा माईस्थान मन्दिर, औरही नगरपालिकाको सोनामाईस्थित सोनामाई माई मन्दिर, जलेश्वर नगरपालिका–१ स्थित राजदेवीस्थानमा घटस्थापनाका लागि कलश यात्रा भएको छ । रातु, मरहा, दुधमती नदी र पुरन्दर, वरुण, भार्गव, लक्ष्मीसागर र ध्रुवकुण्डसहितका सरोवरबाट नयाँ घडामा जल भर्न बिहानैदेखि झाँकी र बाजागाजासहितको कलशयात्रा भएका छन् । कलशयात्रामा नगरगाउँ बस्तीका आम सर्वसाधारणको सहभागिता छ ।

कलशयात्रामा कन्याकुमारीहरुले भरेका घडाको जलबाट घटस्थापनाको कलश स्थापना गरिन्छ । घटस्थापना गरिएसँगै शक्तिपीठ र देवीका प्रतिमा बनाएर दुर्गापूजा गरिनेस्थलमा जौ, तिल, गहुँ, धान, मकैसहितको जमरा राखिन्छ । बर्दिबासको हटियाचोक, जलेश्वरको महेन्द्रचोक र हाटेचौर, भङ्गाहाको सीतापुरबजार, गौशालाबजार, लोहारपट्टीसहितका जिल्लाका ३० भन्दा बढी ठाउँमा दुर्गा मेलाको आयोजना भएको छ । नवरात्रको प्रारम्भसँगै जिल्लाका सबैजसो गाउँनगर बस्तीमा देवी दुर्गाका भजन गुञ्जिन लागेका छन् ।

दशहरा पर्व सुरु भएसँगै मिथिलामा मङ्गल धुन गुञ्जिएको । बस्तीबस्तीमा देवी भजन भइरहेको छ । दशहराको आगमनले मिथिलावासीमा हर्ष छाएको छ । साथै बजारमा चहलपहल पनि बढेको छ ।


सम्बन्धित शीर्षकहरु

सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नाभनेथेम ‘नवी’ पिल्लेलाई प्रदान गरिने भएको छ। युद्ध अपराध, मानवताविरुद्धका अपराध…

काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट प्रहरीले २१ किलो ७५० ग्रामभन्दा बढी अवैध सुन बरामद गरेको छ। यस घटनामा तीन चिनियाँ नागरिक…

शनिबार हुने प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीमा हजारौँ सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। प्रदर्शनकारीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा…

प्रतिकृयाहरू
...