Friday 19th June 2026

भारतीय पक्षको वदमासीका कारण सप्तरीमा सयाैं घर परिवार डुबानमा


तितोपाटी – भारतले कोसी ब्यारेजभन्दा मुनि पाइलट च्यानल बनाएर पानी पश्चिमतर्फ फर्काइदिँदा पानी पसेर सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका दुई वडा डुबानमा परेका छन् । वडा नं ८ र १२ को करिब एक सय २५ घर डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जानकारी दिएको छ ।

राति करिब नौ बजे पसेको पानीले कोशी बाँध भन्दा तल रहेको हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय, नगरपालिका कार्यालय पूर्व, पश्चिम र दक्षिणमा रहेका हटिया, बस्ती तथा लिल्जा ठाकुर प्राथमिक विद्यालयसमेत डुबानमा परेको छ ।

बाँध निर्माण भइसकेपछि सोमवार च्यानलको प्रयोग गरेर भारतीय अधिकारीहरुले आफूखुसी पानी पश्चिमतर्फ फर्काएकाले सामान्य वर्षामै पानी गाउँ पसेको स्थानीयको आरोप छ ।

भारत सरकारको कोशी योजनाले यसवर्ष कोशी ब्यारेज भन्दा तल कोशीको मुलधारलाई पाइलट च्यानलका माध्यमबाट पश्चिमतर्फ फर्काएको छ । कोशी योजनाका अधिकारीहरुले ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनेर बहावलाई पश्चिमतर्फ मोडेका हुन् ।

भारतीय कोशी योजनाका अधिकारीहरु र भारतीय ठेकेदारहरुले आफुखुशी कोशीको बहावलाई च्यानल खनेर पश्चिमतर्फ फर्काएकाले कोसीको बहाव पश्चिमी तटबन्धतिर मोडिँदा हनुमाननगर र तिलाठी कोइलाडीका बस्तीहरु जोखिममा परेको गाउँलेहरु बताउँछन् ।

पानीको बहाव बढेर वा वाँध भत्किएको नभई कोसी ब्यारेजभन्दा मुनि पाइलट च्यानलकै कारण पानी गाउँ पसेको सप्तरीका डिएसपी भावेश रिमालले जनाए ।

‘गाउँमा पानी पस्दा सप्तकोशी ब्यारेज भएर पानीको बहाव सोमबार साँझ एक लाख ७० हजार क्यूसेक प्रति सेकेन्डका दरले थियो,’ डिएसपी रिमाल भन्छन, ‘यसअघि कोसीको बहाव यो भन्दा बढी अढाई लाख क्युसेक हुँदा समेत बस्तीमा पानी पसेको थिएन ।’

डुबानमा परेका बासिन्दालाई राति नै प्रहरी, सशस्त्र प्रहरीले सुरक्षित गरेको उनले जानकारी दिए । मंगलबार बिहानसम्म कोसीको बहाव घटेकोले डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

‘कोसीको पानी घटेको छ, गाउँलेहरु पनि सुरक्षित छन,’ उनले थपे, ‘तर, करिब एक सय २५ घर-आँगनमा एक फिट जति पानी जमेको छ ।’ कोसीको पानी फेरि गाउँ पस्न नदिन र गाउँको सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत समन्वय गर्ने कार्य भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...