Tuesday 25th February 2025

इरानमा ६.० म्याग्नीच्यूडको भुकम्प, २ को मृत्यु २०० घाइते


तितोपाटी – इरान–इराक सीमा नजिक अाज आइतबार बिहानै गएको ६.० म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट दुई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी भूगर्भीय सर्भेका अनुसार, भूकम्पको केन्द्र इरानको कर्मान्शाह प्रान्तको जभानरुड सहरबाट २६ किलोमिटर पश्चिततर्फ थियो । गत वर्ष यही स्थानमा गएको शक्तिशाली भूकम्पबाट सयौंको ज्यान गएको थियो ।

कर्मान्शाह विश्वविद्यालय शिक्षण अस्पतालको आपतकालीन विभागका प्रमुख साइब शारिदारीले दुई जनाको मृत्यु भएको र २४१ जना घाइते भएको जानकारी दिए । घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक छ ।

रेड क्रिसेन्टका प्रान्तीय प्रमुख मोहम्मद रेजा अमिरियानले भूकम्पका कम्तीमा २१ वटा परकम्प महसुस गरिएको जानकारी दिए ।

उनले गाउँमा पूर्वाधारमा व्यापक क्षति पुगेकाले खानेपानीको गम्भीर समस्या देखिएको, तर खाद्यान्न र टेन्टहरु भने वितरण गर्नुपर्ने अवस्था नरहेको जानकारी दिए ।

कर्मान्शाहका गभर्नर हाउशाङ बाजभान्डले भूकम्प गएपछि धेरै गाउँमा अस्थायी रुपमा विद्युतसेवा कटौती गर्नुपरेको जानकारी दिए । उनले आपतकालीन केन्द्रहरु खोलिएको, र अस्पताल तथा राहत संस्थाहरुलाई सावधानी अपनाउन भनिएको बताए ।

गत वर्ष नोभेम्बरमा यही क्षेत्रमा ७.३ म्याग्नीच्यूडको भूकम्प गएको थियो । भूकम्पमा परेर कर्मान्शाह प्रान्तमा मात्र ६२० जनाको मृत्यु भएको थियो । –एएफपी


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली: भारतको सत्तारुढ हिन्दू-राष्ट्रवादी पार्टीकी एक सदस्यले दिल्लीको मुख्यमन्त्रीको रूपमा बिहीबार शपथ ग्रहण गरेकी छिन्। चुनावमा पराजित भएपछि दशकौंपछि…

चुम्बकीय उत्तरी ध्रुव आधिकारिक रूपमा क्यानडाबाट टाढा र साइबेरियातिर आफ्नो गतिशीलता जारी राख्दै आफ्नो स्थान परिवर्तन गरेको छ। यस घटनाले…

हमासले शिरी बिबासको अवशेष इजरायललाई नभई गाजाकी एक महिलाको अवशेष हस्तान्तरण गरेको खुलासा भएपछि "हमासले सम्झौता उल्लङ्घनको पूर्ण मूल्य चुकाउनेछ,"…

प्रतिकृयाहरू
...