Thursday 21st August 2025

एमाले उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातको कारण निधन


नेकपा एमालेका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको हृदयघातको कारण निधन भएको छ । उनको काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा सोमबार राति निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाएका थिए । स्नातक अध्ययनका क्रममा विसं २०२८र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति समेत भएका थिए।

विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र मालेमा सङ्गठित उनी एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।

नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष रहेका थिए । विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए ।


सम्बन्धित शीर्षकहरु

गाजा: २२ महिनाभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न नयाँ कूटनीतिक प्रयासपछि हमासले गाजाको लागि नयाँ युद्धविराम प्रस्ताव स्वीकार गरेको…

बगदाद: इराकी अधिकारीहरूले मोसुल शहर नजिकै दाइस समूहका हजारौं पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहानको उत्खनन सुरु गरेको परियोजना निर्देशकले…

तितोपाटी- पाल्पाको तानसेनमा श्री ७ रणउजिरेश्वरी भगवतीको २०६औँ खट् यात्रा निकालिएको छ। श्रीकृष्णाअष्टमीको रातमा जाग्रामसंगै भोलिपल्ट भगवती जात्रा भब्य रुपमा…

प्रतिकृयाहरू
...