Wednesday 2nd September 2026

अपहरित महिला गाडिएको अवस्थामा भेटिइन्


तितोपाटी-दुई साताअघि घरबाटै अपहरित सिरहाको गोलबजार नगरपालिका–१० की एकल महिला कारीदेवी यादवको शव शनिबार माटोमुनि गाडिएको अवस्थामा फेला परेको छ । सिरहाको नरहा गाउँपालिका–१ स्थित बाँसघारीमा गाडिएको अवस्थामा ५५ वर्षीय यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

शव कुहिएर गन्हाउन थालेपछि स्थानीय बासिन्दाले बाँसघारीमा शव गाडिएको हुनसक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय विष्णुपुर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले शव गाडिएको अवस्थामा निकालेको थियो ।

प्रहरीले शव निकालेपछि उक्त शव अपहृत कारीदेवीकै भएको निजका आफन्तजनले बताएका छन् । शव परीक्षणका लागि सिरहा जिल्ला अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खरेलले बताउनुभयो । गत साउन २५ गते आफ्नै घरबाट अपरिचित दुई जनाले तपाइँको भतिजा बिरामी रहेको भन्दै कारीदेवीलाई अपहरण गरी लगेको स्थानीय बासिन्दाले बताएका छन् ।

जेठाजुसँग चल्दै आएको घरजग्गा अंशको विषयमा कारीदेवीको विवाद चल्दै आएकोे र सोही विवादका कारण उहाँको अपहरण भएको हुनसक्ने भन्दै स्थानीय बासिन्दाले तीन दिनअघि यादवको दुई जना आफन्तलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका थिए ।

यसैबीच आक्रोशित स्थानीय बासिन्दाले अपहृत यादवको खोजतलासमा प्रहरीले चासो नदिँदा अपहरणकारीले हत्या गरी गाडेको भन्दै आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोहर्वा सडक खण्ड एक घण्टा अवरुद्ध गरेका छन् । स्थानीय बासिन्दाको अवरोधका कारण पूर्व र पश्चिमबाट आएका सवारी साधनहरु बाटोमै अलपत्र परेका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू…

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

प्रतिकृयाहरू
...