आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा दुर्घटनामा परि ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । घटनामा अन्य ३८ जनाको उद्धार गरिएको अन्तरर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) अधिकारीहरूलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।
गत महिना सेनेगलबाट १०० भन्दा बढी आप्रवासीहरू बोकेर युरोपका निम्ति हिँडेको डुङ्गा केप भर्डेको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको माछा समाउन समुद्रमा तल्लीन स्पेनी माझीले देखेका थिए । तट रक्षकले जीवित र मृतकको कुल सङ्ख्या ४८ रहेको बताएका छन् भने स्थानीय शवगृहले सातवटा शव प्राप्त गरेको जनाएको छ । सेनेगलको विदेश मन्त्रालयले गिनी–बिसाउका एक नागरिक सहित ३८ जनालाई डुङ्गाबाट उद्धार गरिएको बताएको छ ।
दुर्घटनामा ज्यान गुमाएका आप्रवासी स्पेन हुँदै युरोपका विभिन्न देशमा शरण लिन घरबाट निस्केका थिए ।