यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार सेप्टेम्बरको मध्यसम्म ७६ हजार रहेको विस्थापितको संख्या अहिले २ लाख नाघेको छ।
आईओएमकी महानिर्देशक एमी पोपले अवस्था निकै चिन्ताजनक रहेको बताउँदै विस्थापितहरूका लागि खाद्यान्न, आश्रय र मानवीय सहायता बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेकी छन्।
इरान समर्थित हुथी विद्रोहीहरूले गत महिना यमनको सम्पूर्ण लाल सागर तटीय क्षेत्र आफ्नो नियन्त्रणमा लिएपछि द्वन्द्व थप चर्किएको हो। यता, राष्ट्रपति नेतृत्व परिषद्का अध्यक्ष रशाद अल-अलिमीले हुथी नियन्त्रणमा रहेका सबै क्षेत्र पुनः कब्जा गर्ने अभियान घोषणा गरेका छन्।
द्वन्द्वका कारण विशेषगरी ताइज प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ। साथै ३ हजार ७०० भन्दा बढी मानिस समुद्री मार्ग हुँदै जिबुटी पलायन गरेका छन्।
संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले यमनका केही क्षेत्रमा चारमध्ये तीन परिवार भोकमरीको जोखिममा रहेको चेतावनी दिएको छ।