राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विभागले आइतबार यो प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरु प्रहरीलाई जिम्मा लगाएको हो ।
सुन तस्करी प्रकरणको बृहत् अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरीलाई जिम्मा दिने निर्णय भएको विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए । अब यो प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अघि बढाउने छ ।
पक्राउ परेका आरोपित, बरामद सबुत प्रमाण र अनुसन्धानको प्रगति प्रतिवेदन विभागको टोली प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई हस्तान्तरण गर्न जाँदैछ । त्यसपछि प्रहरी प्रधान कार्यालयले यसको अनुसन्धानको जिम्मा सीआईबीलाई दिनेछ
विभागका मात्र अनुसन्धान फितलो हुनसक्ने भन्दै कुरा उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी र राजस्वका उच्च अधिकारीहरुसँग बैठक गरी थप अनुसन्धान प्रहरीबाट अघि बढाउन गत बिहीबार निर्देशन दिएका थिए । प्रधानमन्त्रीले गत साता निर्देशन दिएपछि विभागले आइतबार सम्पूर्ण फाइलहरु बुझाएको हो ।
सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व र भन्सार छलीमा मात्रै गर्दा जरोसम्म पुग्न नसकिने निष्कर्षसहित सरकारले संगठित अपराध, अन्तर्देशीय अपराध र आतंकवादसँग पनि जोडेर अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको हो ।