Thursday 1st January 2026

भारतको उत्तराखण्डमा पहिरोमा परेर १७ जना नेपाली बेपत्ता


भारतको उत्तराखण्ड प्रदेशस्थित गौरीकुण्डमा पहिरोमा परेर १७ जना नेपाली बेपत्ता भएका छन् ।

पहिरोमा परेर बेपत्ता हुनेमा हुम्लाका १० जना र जुम्लाका ७ जना रहेका छन् । बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावतलगायत रहेको खुलेको छ । हुम्लाका वीरबहादुर नाम गरेका व्यक्तिले गौरीकुण्डमा होटेल सञ्चालन गर्दै आएका थिए । उनको होटेलमा खाना खान गएका बेला पहिरोले होटेल बगाएको बताइएको छ । पहिरोमा परेर होटेल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले उल्लेख गरेको छ । उनीहरूको थर भने खुलेको छैन । वीरबहादुरकै होटेलमा खाना खान गएका धर्मराज बुढा र उनका छोरा मानबहादुर बुढा पनि बेपत्ता छन् ।

यस्तै, पहिरोमा परी अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीद्वय राधिका र पिंकी पनि बेपत्ता भएका छन् । तर, उनीहरू कुन ठाउँका हुन् भने खुलेको छैन । बेपत्ता भएका सबैको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । यो क्षेत्रमा भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको बताइएको छ ।

घाइते भएका कर्णालीका अधिकांश व्यक्तिहरू रोजगारीका लागि भारत गएका थिए । बेपत्ता भएका १९ जनामध्ये १७ जना नेपाली भएको बताइएको छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...