दक्षिण कोरियामा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । उत्तरी प्रान्त चुंगचेनको च्योंग्जुमा सोमबार एकै दिन १३ जनाको मृत्यु भएपछि बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ४१ पुगेको हो । दक्षिण कोरियाको मध्य र दक्षिणी भागहरूमा हालैका दिनहरूमा भएको भारी वर्षाको कारण हजारौं मानिसहरू आफ्नो घरहरू खाली गर्न र अस्थायी आश्रय खोज्न बाध्य भएका छन्। विशेषगरि गत शनिनबार परेको मुसलधारे वर्षा पछि अत्याधिक पानी भएर नदिको बाँध फुटी एक भूमिगत सडकमा पानी पस्दा यति धेरै हताहती भएको हो । त्यहाँ अझै पनि सैयाै उद्दारकर्ताहरूले हराइरहेकाहरूको खोजी गरिरहेका छन् ।
राष्ट्रपति युन सुक योलले बाढी प्रभावितहरूको उद्धारका लागि मातहतका निकायलाई निर्देशन दिएका छन् । युक्रेनको यात्राबाट सियोल फर्किएपछि राष्ट्रपति युनले प्राकृतिक प्रकोपको क्षति न्युनिकरण गर्न मातहतका निकायहरूको बैठक बोलाएर अधिकारीहरूलाई पीडितको उद्धार गर्न सक्दो प्रयास गर्न निर्देशन दिए । राष्ट्रपति युनले भारी वर्षा र बाढीमा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदा प्रकट गरेका छन् ।
जुलाइ ९ देखि कोरियाका विभिन्न स्थानमा परेको भारी वर्षा र बाढीपहिरोले जनजीवत कष्टकर बनाएको छ । यसले देशको मध्य र दक्षिणी क्षेत्र बढी प्रभावित बनेको बताइएको छ । च्योंग्जुमा मात्रै उद्धारकर्मीहरूले एकै रातमा एउटा टनेलबाट १६ वटा सवारीसाधन र चारवटा शव निकालेका थिए । उक्त टनेलबाट शनिबार ९ वटा शव निकालिएको थियो ।