Friday 19th June 2026

भारतको केरलामा भीषण बाढी अाउँदा अधिकांश भूभाग डुबानमा


तितोपाटी – भारतको तटीय राज्य केरलामा बाढीले ११ जिल्ला जलमग्न भएका छन् । बाढीले २९ जनाको मृत्यु भएको छ भने ५४ हजार व्यक्ति घरबारविहीन भएका छन् । सरकारले शिविरमा आश्रय लिइरहेका उनीहरूलाई राहत उपलब्ध गराउन थालेको जनाएको छ । विपद् उद्धार टोलीका साथै भारतीय जल, थल सेना पनि राहत कार्यमा जुटेको छ । भारतीय मौसम विज्ञान विभागले कैयौं जिल्लामा भीषण वर्षा हुने सूचना सम्प्रेषण गरेको छ । इडुक्की जिल्लामा मंगलबारसम्म रातो खतराको सूचीमा राखिएको छ भने वयानड जिल्लालाई पनि बुधबारसम्म खतराको सूचीमा राखिएको छ । यसैगरी कन्नुरलाई सोमबारसम्म रातो खतराको सूचीमा राखिएको छ ।

केन्द्रीय मन्त्री केजे अल्फोन्सले भने, ‘बाढीले केरलाका ११ जिल्ला प्रभावित भएका छन् । केन्द्र सरकारले त्यहाँ सुरक्षाबल पठाएको छ । बिहीबारदेखि राजइका संयन्त्रलाई केरलामा खटाएका छौं ।’

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पनि बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । उनले पीडितलाई तत्काल राहत पुर्याउन आदेश दिएका छन् । मुख्यमन्त्रीले मृतकका आफन्तलाई ४÷४ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् । घर र जमिन गुमाएका व्यक्तिलाई भने १० लाख रुपैयाँ दिने बताइएको छ । इडुक्की बाँधमा जलस्तर खतराको तहभन्दा निकै माथि छ । यो बाँध २६ वर्षयता पहिलोपटक खोलिएको छ ।

बाढी प्रभावित क्षेत्रमा भारतीय वायुसेना (आईएएफ)का पाँचवटा विमान, तीनवटा हेलिकोप्टर उद्धार कार्यमा जुटेका छन् । आईएएफका प्रवक्ताले भने, ‘वायुसेनाका दुईवटा टोलीलाई विजयवाडा र सैन्य इन्जिनियरका दुईवटा समूहलाई बेङलुरू र हैदराबादबाट खटाइएको छ ।’

राहुल गान्धीद्वारा प्रधानमन्त्री मोदीलाई पत्र

भारतको केरला राज्यमा निरन्तरको मुसलधारे वर्षाका कारण आएको बाढी तथा पहिरोले स्थानीय बस्तीलाई प्रभावित बनाएपछि ठूलो संख्यामा नागरिक विस्थापित बनेका छन् । दक्षिण भारतको उक्त इलाकामा पहिरो तथा डुबानमा परी यस महिना मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

बाढी तथा पहिरोका कारण केरलका खासगरी नदी किनाराका बस्तीमा ठूलो क्षति भएको र बाढी प्रभावित नागरिकको समस्यालाई तत्काल राहतको व्यवस्था हुनुपर्ने माग भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समस्याप्रति ध्यानाकर्षण गराएका छन् । शनिबार प्रधानमन्त्रीलाई लेखेको पत्रमा गान्धीले केन्द्र सरकारका प्रधानमन्त्री मोदीलाई पत्र लेखेका हुन् । पत्रमा गान्धीले केन्द्रमार्फत केरला सरकारलाई राहत सहयोगका लागि प्रशस्त बजेटको प्रबन्ध गर्न आग्रह गरेका छन् ।

बाढीले केरलका कैयौँ जिल्लामा मानवीय क्षति, पशु चौपायाको क्षतिका साथै कृषि बालीलाई व्यापक प्रभावित बनाएको छ । विगत पाँच दशककै सबैभन्दा ठूलो विपद् केरला राज्यमा देखिएको र यसबाट ठूलो मानवीय तथा आर्थिक क्षति भएको उल्लेख पत्रमा नेता राहुलले जनाएका छन् । बाढीका कारण राज्यको माझी समुदाय सबैभन्दा बढी प्रभावित भएको पत्रमा उल्लेख छ ।

अकी नामक आँधीका कारण उक्त क्षेत्रको माछापालनमा नराम्रो प्रभाव छोडेको र यो माछा किसानका लागि ठूलो धक्का भएको नेता राहुलले प्रधानमन्त्रीलाई पठाएको पत्रमा चर्चा गरेका छन् । केरलमा बाढीपहिरो र डुबानका कारण नियमित विद्युत् आपूर्तिमा समस्या भएको, सडकहरू भत्किएको र ठूलो मानवीय विपत् आएको छ । यसलाई पुरानो अवस्थामा ल्याउन निकै ठूलो बजेटको आवश्यक रहेकोसमेत पत्रमा उल्लेख छ ।

गान्धीले केन्द्र सरकारले समस्याप्रति संवेदनशील बनी केरल सरकारसँग समन्वयका साथ अघि बढ्ने र यसबाट पीडितले राहतको महसुस गर्ने गरी बजेटको निकासा हुनेमा विश्वास व्यक्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...