Thursday 10th September 2026

कुवेतमा झापाकी अम्बिका गिरी १४ वर्षदेखि सम्पर्कविहीन


कुवेत – वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत पुगेकी साबिक पृथ्वीनगर गाविस– ५ हाल भद्रपुर नगरपालिका– २ निवासी ३१ वर्षीया अम्बिका गिरी १४ वर्षदेखि सम्पर्कविहीन छिन्। राहदानी नं. ३४५००८३ भएकी अम्बिका विदेश जाने उमेर नपुगेकोले कुवेत भने अर्पणा थापा नामको राहदानी मार्फत भित्रिएकी थिइन् ।

सहरमा छोरीलाई खोज्न झन् समस्या उत्पन्न भएको उनकी ७३ वर्षीय वृद्ध आमा चन्द्रमाया गिरीले बताइन्। घरमा आमाबुबाको कुरा नसुनेर गाउँघरका महिलाको लहैलहैमा लागि अम्बिका जबरजस्ती विदेश पसेकी थिइन।

घरबाट छोरीको पासपोर्ट मात्र बनाइदिएको बताउँदै आमा चन्द्रमायाले भनिन्, “उमेर पुगेन भन्दै छोरी दिल्ली पुगेर आमा म विदेश जान्न, यहीँ काम गरेर एजेन्टको पैसा तिर्छु भनी फोनमा भनिन्। त्यसको केही दिनपछि कुवेत पुगेर छोरीले मलाई फेरि फोन गरिन्। आमा मलाई एजेन्टले अपर्णा थापा नामको भिसामा कुवेत पठायो, यहाँ घरायसी काम गर्दैछु। यहाँ मलाई कुनै पनि समस्या छैन। एक महिनापछि नै एजेन्टको ३० हजार रुपैयाँ तिरिदिन्छु” भनी सुनाइन्, उनले भनिन्।

छोरीले एजेन्टको ३० हजार पनि तिरिन्, ६ महिनासम्म सम्पर्कमा पनि थिइन्, कुवेतको साल्मियाबाट अपर्णा थापाको नाममा छोरीले पिओ बक्स ७५४५, इओढी नम्बर २२०८६ लेखिएको ठेगानाबाट तीन पटक घरमा चिठ्ठी र आफ्नो फोटो पनि पठाइन्।

‘त्यसपछि छोरी एकाएक सम्पर्कविहीन भइन्,’ उनले आँखाबाट आशु झार्दै भनिन्, ‘फोन नम्बरसँगै छोरी पनि कुवेतमा हरायो, आउँछे आउँछे भनेर कुरेर बसेको १४ वर्ष नै बित्यो।’ घरको ऋण तिर्ने र कमाएको बाँकी पैसाले सुखको जीवन बिताउने छोरीको ठूलो इच्छा थियो।

‘गाउँघरमा कोही नयाँ मान्छे झोला बोकेर आउँदा छोरी नै आई कि भन्ने मनमा आश पलाउँछ,’ उनले भनिन्, ‘छोरी ज्यूँदो छ कि मरिसकेको हाे? त्याे पनि खबर छैन मलाई लाग्छ छोरी बाँचेकी छिन्, छोरीलाई स्वदेश फर्काइदिन सबै समक्ष हात जोडेर बिन्ती गर्न चाहन्छु।’

फेसबुकमा फोटो हाल्दा छोरी भेटिन्छ भनेर गाउँका मान्छेले सुनाएपछि मात्र उनले छोरीको खोजी सुरु गरिन्। त्यस भन्दा अघि उनले पटक पटक एजेन्ट तारादेवी र छोरीसँगै विदेश पुगेर फर्किएकी महिलालाई घरमै भेटेर पनि छोरी कहाँ छिन्? भनी साेध्दा उनीहरूले बताउन सकेनन्।

उनले छोरी खोजीदिनू भन्दै अहिले झापामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको विराट सामुदायिक अध्ययन केन्द्रका परियोजना संयोजक फणीन्द्र दाहाललाई भेटिन्। दाहालकै पहलमा अहिले छोरीको खोजी कार्य भइरहेको बताइएको छ।

चन्द्रमायाकी छोरी नभई जेठो छोरा कुमार गिरी पनि १६ वर्षदेखि बेपत्ता छन्। किचकबध मेलाको भोलिपल्ट हिँडेको जेठो छोरा कुमार अहिलेसम्म सम्पर्कमा नआएको दुखेसो समेत उनले पोखिन्।उनी हाल कान्छा छोरा विमलसँग बस्दै आएकी छिन्।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...