Monday 20th July 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – १७


स्रष्टा परिचय

शेखकुमार श्रेष्ठ नेपाली साहित्यका एक सर्जक हुन् ।
उनी समालोचक, कवि, निबन्धकार, बालकथाकर, बालकवि, अनुसन्धानधाताका साथै वर्तमान जल्दाबल्दा लघुकथाकार पनि हुन् । २०३१ साल माघ २९ गते पिता नारायणबहादुर श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठका जेष्ठ पुत्रका रूपमा काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नं ३ सोखेलमा उनको जन्म भएको हो । सर्वप्रथम २०६० सालमा सगरपुर लघुकथासङ्ग्रह प्रकाशन गरी साहित्यिक क्षेत्रमा प्रवेश गरेका श्रेष्ठले कथा, कविता, निबन्ध, समालोचना, एकाङ्की विधामा कलम चलाए पनि उनको मुख्य रुचिको विधा लघुकथा रहेको देखिन्छ । लघुकथाका क्षेत्रमा श्रेष्ठ बढी सिद्धहस्त देखिन्छन् । हालसम्म उनका सगरपुर लघुकथासङ्ग्रह (२०६०), सिद्धिचरणका खण्डकाव्यमा क्रान्तिचेत (२०६९), पूर्णिमाको राति बालकवितासङ्ग्रह (२०६९), सेतो हिमाल मुन्तिर बालकविता सङ्ग्रह (२०७६), कमिलाको जन्ती बालकथासङ्ग्रह (२०७६) लगायत विभिन्न पत्रपत्रिकामा समालोचनात्मक लेख रचना प्रकाशित छन् ।

रचना
लघुकथा : मौका
डा. शेखरकुमार श्रेष्ठ

‘जीवन भनेको परिवार र परिवार भनेको घर हो । घर भनेको पैसा र पैसा भनेको माया हो ।’– पढाइका कक्षामा उसले सिकी । पैसा कमाउन उसले गाडी सिकी । चालक बनेपछि गाडी बिसौनीमा पुगेर उसले यात्रु बोलाउँदै भनी, “आउनुहोस्, आउनुहोस् । गाडी खाली छ ।”
बाटामा हिँडिरहेको यात्रुले सोध्यो, “कहाँ हो ?”
उसले भनी, “पहिले चढ्नुहोस् । तपाईँ जहाँसम्म जान चाहनुहुन्छ, त्यहीँ । ”
यात्रु चढेन । उसले सोची गन्तव्य बताउन आवश्यक छ । ऊ कराई, “प्रेमनगर, जीवनपुर, कुवेरगाउँ, सुन्दरनगर, अलकापुर ।”
अर्को यात्री नजिकै आएर भन्यो, “अलकापुर जाने बेला भएको छैन । जीवनपुर ठिकै छ । तर तपाईँसँग प्रेमनगर जान चाहन्छु । कति हो, भाडा ?”
उसले बताई । यात्रु चढ्यो । गाडी अगाडि बढ्यो । आधा बाटो भएपछि चालकको मोबाइलमा फोन आयो । उसले हुन्छ भनेर फोन राखी । यात्रुले भन्यो, “तपाईँको गाडीमा जीवनपुरको यात्रा गर्नुपर्ने रहेछ । लैजानुहुन्छ ?”
“मैले प्रेमनगरबाट चढ्ने अर्को यात्रु लिइसकेँ ।”, उसले सुनाई ।
यात्रु मौन रह्यो । गाडी प्रेमनगर पुग्यो । यात्रुले भाडा तिरी आफ्नो बाटो लाग्यो । उसले जीवनपुर जाने यात्रुलाई फोन ग¥यो । हातमा मोबाइल लिँदै यात्रु आयो र भन्यो, “म तपाईँको गाडीमा चढ्दिन ।” यति भनी ऊ जसरी आएको त्यसरी गयो ।
ऊ रुन थाली । वरपरका मानिस झुम्मिए । तिनैमध्ये एकले सोध्यो, “किन रोएकी, बहिनी ?”
उसले सुनाई, “मैले समय ख्याल गरिनछु । अरूको विश्वासमा पर्दा धोका खाएँ । मैले जीवनपुरको यात्रु गुमाएँ ।”
एक जना वृद्धले भन्यो, “मैले पनि पहिले कुवेरपुरको यात्रा गर्दा यस्तै धोका खाएको थिएँ । त्यसैले अलपत्र परेको छु । लान चाहन्छौ भने जीवनपुर हुँदै अलकापुरी जान्छु ।”
उसले वृद्धको शिरदेखि पाउसम्म हेरी । अरू लाखापाखा लागे । वृद्धचाहिँ उत्तरको अपेक्षामा थियो । उसले परिस्थिति सम्हाल्दै मनमनै भनी, “कापी नभए कागजको चिट नै सही । अब मैले यो मौका छाड्नुहुन्न ।”


सम्बन्धित शीर्षकहरु

इजरायलका केही दक्षिणपन्थी तथा अतिराष्ट्रवादी मन्त्रीहरू हजारौं समर्थकसँग मिलेर गाजाको सीमातर्फ आयोजित मार्चमा सहभागी भएका छन्। प्रदर्शनकारीहरूले सन् २००५ मा…

अमेरिकी विदेशमन्त्री Marco Rubio ले वासिङ्टनमा लेबनानी राष्ट्रपति Joseph Aoun सँग भएको भेटपछि लेबनानले "शान्तितर्फ महत्त्वपूर्ण कदम चालेको" भन्दै त्यसको…

मालीको उत्तरी क्षेत्र अनेफिस नजिक टुआरेग विद्रोही र अल–कायदा सम्बद्ध जिहादी समूहको संयुक्त आक्रमणमा कम्तीमा ५० सैनिक मारिएका छन् भने…

प्रतिकृयाहरू
...