Monday 18th May 2026

इन्डोनेसियमा १५ वर्षदेखि कथित झाँक्रीद्वारा बन्दी बनाइएकी महिला मुक्त भइन्


तितोपाटी – इन्डोनेसियाको सुलावेशीस्थित प्रहरीले २८ वर्षीय महिलालाई उनलाई बन्दी बनाइएको एक गुफाबाट १५ वर्षपछि मुक्त गरेको जनाएको छ।

उनलाई गाउँकै झाँक्रीले १५ वर्षसम्म एउटा गुफामा बन्दी बनाएर राखेका थिए।

८३ वर्षीय ती झाँक्रीले १३ वर्षीया किशोरीलाई अपहरण गरेको र आफूमा देउता चढेको भनी उनको दिमाग एकोहोर्‍याएको अभियोग लगाइएको छ। ती झाँक्रीलाई यौन शोषण र बालबालिका सुरक्षासम्बन्धी कानुनको विरूद्ध काम गरेको अभियोग लगाइएको छ।

स्थानीय समाचारका अनुसार जगो नामका ती झाँक्री स्थानीयबासिन्दामाझ कालो जादु गर्ने र वैकल्पिक विधिबाट निको पार्ने व्यक्तिको रूपमा चिनिन्छन्।

सन् २००३ मा १३ वर्षीय बालिकालाई उपचारका लागि भनी ती झाँक्रीको घरमा उनको परिवारले ल्याएका थिए। त्यही वर्ष केही समयपछि उनी गायब भएकी थिइन्।

सञ्चार माध्यमले ती झाँक्रीले उनका परिवारलाई उनी कामको खोजीमा जकार्ता गइसकेको बताएका थिए। उनका आफन्तहरूले धेरै वर्षसम्म खोज्ने प्रयास गरे तर अन्तत: उनी बेपत्ता भएको घोषणा गरियो।

समाचारहरू बाहिर आएपछि आइतवार प्रहरी ती किशोरीलाई सुलावेशीको मध्य भागमा भएको गलुमपाङ गाउँमा खोजी गर्न गएको थियो। उनी ठूलो ढुङ्गाको पछाडिको सानो भागमा फेला परेकी थिइन्।

प्रहरीले सार्वजनिक गरेको तस्बिरमा गुफाभित्र केही सामान्य कोठामा हुने सामानहरू देखिएको थियो जुन ती व्यक्तिको घर नजिकै थियो।

टोलीटोलीका प्रहरी प्रमुखका अनुसार ती बालिका १३ वर्ष हुँदादेखि नै ती पुरुषले किशोरीको बलात्कार गर्थे र त्यो सबै आफूले नभइ आफूमा देउता चढेको र त्यही कारण त्यस्तो भएको बताउने गर्थे।

उनीहरूले ती झाँक्रीले राति आफ्नो घरमा ल्याउने र दिनभरी उनलाई जेलजस्तै सानो गुफामा बस्न बाध्य पार्ने आरोप लगाएका छन्।

“ती पीडितलाई कतै नभाग्न तर्साएको र अरू मानिसलाई पनि नभेट्न उसको दिमागमा कुराहरू भरेको जस्तो देखिन्छ,” एकजना स्थानीय बासिन्दाले जाकार्ता पोष्ट पत्रिकालाई बताएका छन्।

ती झाँक्री दोषी ठहर भएमा उनलाई १५ वर्षसम्मको जेल सजाय हुनसक्छ।


सम्बन्धित शीर्षकहरु

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

ताईवान ले आफूलाई स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक शासन प्रणाली भएको राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ। ताइवानको आफ्नै संविधान, सेना,…

संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा…

प्रतिकृयाहरू
...