Friday 23rd January 2026

‘मास्टर साहेब'(कविता) -आर्त अकुलीन


ती असल गुरू हुन्
उनीहरू गुरु भएर महान छन्
बाटो बिर्सेर हिँडेकालाई
बाटो देखाउँछन्
सत्य, तथ्य र न्यायको
जीवनको यथार्थ पाठ पढाउँछन्
बाँच्नुको अनुभूति गराउँछन्
तर
वर्तमान नितान्त फरक छ
गुरु मास्टर साहेब बनेका छन्
आखिर किन यस्तो ?
कसले यस्तो बनाइएको हो ?
कि समयले बनायो ?
वर्तमान मास्टर साहेबहरूप्रति
मनमा अनेक जिज्ञासा आउँछन्
तर जवाफ भने कतै पाइन्न
तिनै गुरुहरू कहिले भट्टीमा हुन्छन्
अनि बन्छन् मास्टर साहेब
कहिले कार्यकर्ता बनेर
चोक र गल्लीमा भाषण गर्छन्
कहिले महादेव बनेका हुन्छन्
कहिले सारा सडकलाई
आफ्नै पेवा ठानेर
क्रमशः प्रवचन दिइरहेका हुन्छन्
मन लागे पाठशाला जान्छन्
मन नलागे जाँदैनन्
मन लागे पढाउँछन्
मन नलागे पढ भन्छन्
र आफू बस्छन्
शैक्षिक सत्र सकिन्छ
विषयवस्तु सकिन्न
विद्यार्थीले नपढेको भनिन्छ
मास्टर साहेबहरू भने
पानी माथिको ओभानो बन्छन्
कहिले विद्यालय बोलाउँछन्
कहिले बन्द गर्छन्
हाकिम पनि उस्तै छन्
हाकिम बडाहाकिम बन्छन्
नोकर मालिक बन्छन्
बालबालिकाले जिज्ञासा राखे
एकाएक रिसाउँछन्
कन्सिरी तातेर बुर्कुसी मार्छन्
आन्तरिक परीक्षा लिन्छन्
उत्तरपुस्तिका देखाउँदैनन्
देखाउन नै मिल्दैन भन्छन्
नतिजा सुनाउँछन्
तर नम्बर देखाउँदैनन्
बाहिर बाहिर एउटा भन्छन्
भित्र अर्को काम गर्छन्
सिकाइको लागि सुझाव दिँदा
अनर्थ सिकाएको ठान्छन्
प्रश्नहरू सोधेमा जवाफ दिन्नन्
खबरहरू केवल हेर्छन्
तथापि आफूलाई उनीहरू
सकारात्मक सोचका धनी बताउँछन्
तर व्यवहारमा उनीहरू
चोरलाई साधु बनाउँछन्
त साधुलाई चोर बनाउँछन्
कालोलाई सेतो बनाउँछन्
अनि सेतोलाई कालो बनाउँछन्
नुनको सोझो गर्दैनन्
कुराले दिउँसै तारा देखाउँछन्
सारा बालअधिकार
मुठ्ठीमा अड्याउन खोज्छन्
बालबालिकाको भविष्य
आफ्नो हातमा भएको भन्छन्
बालअधिकार कुण्ठित पार्छन्
वाक स्वतन्त्रता हनन गर्छन्
काम र कर्तव्य बिर्सेर
अनुशासनको सीमा नाघेर
मनोमानी गर्छन्
संस्कार र संस्कृतिलाई भुलेर
एकोहोरो हिँड्छन्
मनोरञ्जनका खातिर
विभिन्न यात्राहरुमा
मेरो गोरुको बाह्रै टक्का गर्ने
मास्टर साहेबहरू
बालुवाको पानी जस्तै गरेर
विलिन हुन्छन्
कलिला मुनाका सपनाहरू
विद्यार्थीलाई भने दैनिक
अनुशासन पढाउँछन्
व्यवहारमा हैकमवाद देखाउँछन्
यातनाको भारी बोकाउँछन्
अनि एउटा भन्छन्
र अर्को गर्छन्
किनकी उनीहरू त
बाटोले भ्रष्ट
मास्टर साहेब भएका छन्
बुद्धिले भ्रष्ट
मास्टर साहेब भएका छन् !

-आर्त अकुलीन
लम्की चुहा-२, देवाश्रम, कैलाली


सम्बन्धित शीर्षकहरु

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

प्रतिकृयाहरू
...