Sunday 16th August 2026

मोतिपुर औद्योगिक क्षेत्रमा कर्फ्यु कायमै, मृतक एकजनाको सनाखत हुन बाँकी


तितोपाटी- रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–१७ र १८ मा कर्फ्यु आदेश कायमै छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गएको आइतबार अपराह्न ४ बजेदेखि निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो ।
आइतबार मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा टहरा बनाएर बसेका सुकुम्बासीलाई हटाउने क्रममा प्रहरी र सुकुम्बासीबीच दोहोरो झडप भएको थियो । उक्त झडपमा परी चारजनाको मृत्यु भएको थियो । प्रहरी र सुकुम्बासी गरी करिब ५० जना घाइते भएका थिए ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाका अनुसार अहिले औद्योगिक क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई हटाइसकिएको छ । ‘‘औद्योगिक क्षेत्रमा बसोबास गर्ने केही नागरिक स्थानीय नै हुन् । उनीहरू औद्योगिक क्षेत्रमै बस्छन् । अन्य विभिन्न जिल्लाबाट आएका सुकुम्बासीहरूले यहाँको जग्गा अतिक्रमण गरेर बसेका थिए । उनीहरूलाई हटाइएको हो । यहाँ जग्गा पाइन्छ भनेर लामो समयदेखि सुकुम्बासीले औद्योगिक क्षेत्रमा टहरा बनाएर बसेका थिए ।”
सूचना अधिकारी थापाका अनुसार अहिले मोतिपुरको अवस्था सामान्य छ । ‘‘अहिलेसम्म झडपमा मृत्यु भएका तीनजनाको सनाखत भएको छ । नवलपुर, कपिलवस्तु, रुपन्देहीका गरी तीनजनाको सनाखत भएको छ । अब एकजनाको सनाखत हुन बाँकी छ । सुरक्षाकर्मीहरू औद्योगिक क्षेत्रको सुरक्षार्थ खटिरहेका छन् । औद्योगिक क्षेत्रमा करिब ९०० बिघा जमिन पर्छ,” उनले भने ।-बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

युक्रेनले रुसको सामारा क्षेत्रमा रहेको TsSKB-Progress अन्तरिक्ष तथा रकेट उत्पादन केन्द्रमा लामो दूरीको क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ। युक्रेनी राष्ट्रपति…

कुवेतमा २४ वर्षीय युवक गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्ष (ICU) मा भर्ना भएका छन्। उनलाई खुट्टा र छातीमा पहिलो…

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

प्रतिकृयाहरू
...