Wednesday 14th October 2026

हुथीको साउदी अरबमाथि आक्रमण तीव्र, अराम्को र रियाद विमानस्थल निशानामा


यमनको इरान समर्थित हुथी समूहले साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोका संरचना र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ। साउदी नेतृत्वको गठबन्धनले भने रियादतर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक क्षेप्यास्त्र अवरोध गरी नष्ट गरिएको जनाएको छ।

बुधबार साउदी राजधानी रियादमा शक्तिशाली विस्फोटका आवाज सुनिएको र सम्भावित हवाई खतराबारे सर्वसाधारणका मोबाइलमा चेतावनी सन्देश पठाइएको थियो। केही समयपछि उक्त चेतावनी हटाइएको थियो।

हुथी सैन्य प्रवक्ता याह्या सारीले आफ्ना सेनाले पूर्वी साउदी अरबको धहरानस्थित अराम्को संरचना, रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल तथा अराम्को रिफाइनरीलाई ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरी निशाना बनाएको दाबी गरेका छन्। उनले आगामी दिनमा पनि साउदी विमानस्थल र तेल संरचनालाई लक्षित गर्ने चेतावनी दिएका छन्।

साउदी अधिकारीहरूका अनुसार अराम्कोसँग सम्बन्धित एउटा भवनमा प्रहार हुँदा चार जना घाइते भएका छन्। धहरानस्थित अराम्को मुख्यालयमा पनि क्षति पुगेको विवरण सार्वजनिक भएको छ। यद्यपि कम्पनीका गतिविधि सञ्चालनमै रहेको बताइएको छ।

बढ्दो सुरक्षा तनावको असर साउदी अरबको हवाई सेवा, खेलकुद र अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा समेत देखिएको छ। केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले रियादका उडान स्थगित गरेका छन् भने साउदी फुटबल लिगका तीन खेलको मिति सारिएको छ। सिक्स किङ्स स्लाम टेनिस प्रतियोगिता पनि स्थगित गरिएको छ।

यसैबीच, साउदी अरबले अक्टोबर २६ देखि २९ सम्म रियादमा आयोजना हुने फ्युचर इन्भेस्टमेन्ट इनिसिएटिभ (FII) सम्मेलन निर्धारित समयमै अघि बढाउने तयारी गरेको छ। सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सहभागीहरूका लागि वैकल्पिक हवाई तथा स्थलमार्ग र भर्चुअल सहभागिताको व्यवस्था प्रस्ताव गरिएको जनाइएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) की प्रमुख क्रिस्टालिना जर्जिएभाले साउदी अरबमाथिका पछिल्ला आक्रमणले ऊर्जा लागत बढाउँदै विश्व अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएकी छन्।

स्ट्रेट अफ हर्मुज आसपास व्यापारिक जहाजमाथिका आक्रमण पनि बढिरहेका बेला साउदी अरबमाथिको पछिल्लो आक्रमणले मध्यपूर्वको सुरक्षा अवस्था र विश्व ऊर्जा आपूर्तिप्रति चिन्ता थप बढाएको छ।


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...