Saturday 13th June 2026

वाह ! क्या स्वादिष्ठ थकाली दाल


आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-खानाको पहिलो ग्राहक आँखा, दोस्रो नाक, तेस्रो जिब्रो र चौथो मुख हो । तसर्थ हरेक खाना पस्कने पाक कला अहिलेको युगमा अनिवार्य भइसकेको छ ।खाना मिठो मात्र भएर नहुने हुँदा हाम्रो मौलिक खानालाई पनि देख्न आकर्षक बनाउनुपर्ने आजको आवश्यकता हो ।

थकाली खानाको पनि अहिले बिस्तारै ब्रान्डिङ भएर सजावटमा परिमार्जन हुँदै गएको छ । आज हामीले थकाली खाना सेटको एक अभिन्न अंग थकाली दाल कसरी बन्छ भन्ने विषयमा चर्चा गर्दैछौं ।

ठाउँठाउँमा खोलिएका सबै थकाली भोजनालयमा मौलिक थकाली दाल नै पाइन्छ भन्ने कुनै तथ्य छैन । नाम राख्दैमा थकाली मौलिक खाना बन्दैन, यसका लागि थाकको इतिहास बुझ्न जरुरी छ ।सामान्य दालभन्दा थकाली दाल अलि पृथक र लामो प्रोसेसमा बनाइन्छ ।

थकाली दाल बनाउन चाहिने सामग्रीः

स्थानीय लोकल मासको दाल १०० ग्राम, खैरो मस्याङ्गको च्याख्ला ७० ग्राम, बेसार १ चिया चम्चा, लोकल चौरीको घ्यू ३ चिया चम्चा, हिमाली नून स्वाद अनुसार, जिम्बु २ चिया चम्चा, हिमाली टिमुरको धुलो आधा चिया चम्चा, अदुवा पिसेको १ चिया चम्चा, पानी आवश्यकताअनुसार ।

थकाली दाल बनाउने विधिः

मास र खैरो पश्चिमेली मस्याङ्गको च्याख्लालाई पखालेर १ रात भिजाउने र बिहान फलामको बाक्लो कराइमा पानी, दुवै दाल, बेसार, १ चिया चम्चा घ्यू हालेर सानो आचमा बिस्तारै पकाउने । बेलाबेलामा घोटी–घोटी चलाएर पकाउने । बिस्तारै कालो र बाक्लो हुँदै जान्छ र यस समयमा झन् हलुवा घोटेझै मज्जाले घोटेर लेदो बनाउने ।

अन्त्यमा आवश्यकताअनुसार तातो पानी हालेर मिलाउने । अर्को प्यान तताएर बाँकी घ्यू पगाल्ने र जिम्बु, अदुवा, बेसार, बोके टिमुरको धुलो, हिमाली नून हालेर झान्ने । आवश्यकताअनुसार हल्का तातो पानी थपेर पस्कने र यो दाल बासी भयो भने स्वाद फरक हुने हुँदा १ दिनमा कति खपत हुने हो त्यति मात्र पकाउनुपर्छ ।

@दि सोल्टी होटल काठमाडौंमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले सरकारी राजस्व टिकट (Government Stamps) नक्कली बनाउने र अवैध रूपमा बिक्री वितरण गर्ने गिरोहविरुद्ध ठूलो कारबाही गर्दै…

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेका व्यावसायिक जहाजहरूलाई लक्षित गर्दै इरानले प्रक्षेपण गरेका भनिएका धेरै ड्रोन…

नेपालमा समस्या समाधानका लागि आयोग बनाउने र प्रतिवेदन तयार गर्ने काम धेरै हुन्छ, तर कार्यान्वयन भने दशकौँसम्म रोकिने गर्छ। जब…

प्रतिकृयाहरू
...