Monday 22nd December 2025

लघुकविताः बिरानो पो भइसकेछ -शान्ता शाक्य


ओहो ! नि मेरो गाउॅ मेरो ठाउॅ
बिरानो देश र दन्यकथाको देशमा
सुटुक्क साटिन पो पुगेछ !
थुक्क मेरो बुद्धि
सोंचेको थिएँ के हुनुपर्ने हो
के भइगएछ !
आफ्नो जिन्दगी त
अर्काको मूल्यसॅग
थपक्क साटिन पो पुगेछ !
समय परिस्थितिले
कोल्टे त मजाले फेरिसकेछ !
गाउॅको रूपरङ्गले
नाङ्गो डाॅडा र पाखासॅग
मितेरी गाॅसिसकेछ !
चराचुरूङ्गीको कलरवले
मौनव्रत लिइसकेछ !
धन र बिल्लाले
छाती फुलाउन हिंडेकाहरू
गुन्द्रुक र ढिडोको
स्वादलाई बिर्सेर
आफ्नै पेवाको
गोरेटोलाई पनि भुलेर
कहिल्यै नफर्किने गरी
सहरिया माखो पो
बन्न पुगिसकेछन् !
गाउॅको सुन्दरता त
खण्डहरमा रूपान्तरण भइसकेछ !
तीजको रमझम
उन्मुक्त नचाइ
देउसी भैली
हाटे मेला
रोटेपिङको मजा
सबैसबै तालु खुइलिसकेका
डाॅडामाथि बसेर
विगतका स्मृतिलाई
झलझली सम्झेर
पुनर्जीवितको आशामा
टपटप ॲासु खसालेर
रोइरहेछन् रोइरहेछन् !
हरे ! जिन्दगी त
धरमरिएछ नि
अल्मलिएछ नि
ढल्पलिएछ नि
सुनौला सपना त
रङ्गहीन हुन पुगेछ नि
जिन्दगी त कहिले
कता पोखिएछ
कहिले कता
अत्तोपत्तो समेत हराइसकेछ !
जताततै काॅडैकाॅडाले
जरा गाडिसकेछ !
फेरि दैवी प्रकोपले पनि
गाउॅलाई नै मजाले सम्झेछ !
कठै ! गाॅसमाथि गाॅस हालेछ
यस्तै – यस्तै कथा र व्यथाले
वास गरिसकेछ !
आफ्नालाई आफ्नै गाउॅ पनि
बिरानो पो भइसकेछ
आफ्नालाई आफ्नै गाउॅ पनि
बिरानो पो भइसकेछ ! !

शान्ता शाक्य
धापाखेल ललितपुर


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...