Monday 6th April 2026

संखुवासभामा हत्या गरिएका ६ जनाको शव पोस्टमार्टमका लागि धरान पठाइयो


तितोपाटी- संखुवासभामा हत्या गरिएका एकै परिवारका ६ जनाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

घटनाको अनुसन्धानमा संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल नेतृत्वको प्रहरी टोली खटिएको छ । मंगलबार दिउँसो घटनास्थलको मुचुल्का गरी शव उठाएर पोस्टमार्टम गर्न धरान पठाइएको हो । प्रहरीले घटनाको अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको छ । एसपी दाहालले घटनाको विषयमा मिहिन ढंगले अनुसन्धान सुरु गरिएको बताएका छन् । मादी नगरपालिका–१, खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वीभत्स हत्या भएको अवस्थामा सोमबार बिहान घरभित्र, नजिकै बाटो र खेतमा शव फेला परेको थियो ।कान कम सुन्ने र आँखा धमिलो देख्ने बौदमानबाहेक घरका सबैको हत्या भएको हो । उनकी ८४ वर्षीया श्रीमती पार्वती कार्की, छोरा तेजबहादुर र उनकी ५२ वर्षीया श्रीमती कमला र ३२ वर्षीया बुहारी रञ्जना, ११ वर्षीय नाति दीपेन र सात वर्षीया नातिनी गोमाको शव अलग–अलग ठाउँमा भेटिएको थियो ।

तेजबहादुरका छोरा रमेश र नरेश वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् । घटनापछि एकजना काठमाडौं आइपुगेको बताइएको छ । मृत्यु भएकी रन्जना रमेशकी श्रीमती हुन् । नरेशकी श्रीमती झापामा बस्दै आएको बताइएको छ । मादी–१ का वडाध्यक्ष खेमनाथ कटुवालले रहस्यमय ढंगले भएको हत्याले गाउँ नै त्रसित बनेको बताए । कार्की परिवारको तिजलगत्तै तराईमा जग्गा किन्ने तयारी रहेको भन्ने बुझ्नमा आएको उनले बताए । सामान्य किसान परिवारको गाउँघरमा कसैसँग झै-झगडा नभएको गाउँलेले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...