Sunday 27th July 2025

शुल्क तिर्न ढिला गरेको भन्दै प्रिन्सिपलद्वारा विद्यार्थीको परिवारैमाथि कुटपिट


युकेजीका विद्यार्थीको पाँच हजार शुल्क तिर्न ढिला हुँदा प्रिन्सिपलद्वारा विद्यार्थीका बुबा, आमा र दिदीमाथि निर्घात कुटपिट

तीतोपाटी डटकम-मिर्चैया नगरपालिकामा रहेको एक निजी विद्यालयका प्रिन्सिपलले शुल्क बुझाउन ढिलाइ गरेको भन्दै एक विद्यार्थीको परिवारका सदस्यमाथि कुटपिट गरेका छन् । मिर्चैया नगरपालिका– १० मथलेश्वरमा रहेको राजदेवी इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले युकेजीमा अध्ययनरत नवीनकुमार साहका अभिभावकमाथि कुटपिट गरेका हुन् ।

प्रिन्सिपल साहले रामकुमारका बुबा अशोक, आमा सुनितादेवी, दिदीहरू सरिता र अञ्जलीमाथि कुटपिट गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले बताए । कुटपिटबाट अशोकको टाउकोमा चोट लागेको छ । सरिताको हात भाँचिएको र टाउकोसमेत फुटेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

दुवैलाई मिर्चैयामा प्राथमिक उपचारपछि थप उपचार गर्न विराटनगर रिफर गरिएको छ । अन्य सामान्य घाइतेको मिर्चैयामै उपचार भइरहेको छ । कुटपिटपछि प्रिन्सिपल साह फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

‘युकेजीमा पढ्ने विद्यार्थीका अभिभावकले विद्यालयलाई करिब ५–६ हजार रुपैयाँ तिर्न बाँकी रहेछ,’ डिएसपी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘त्यो रकम किन नतिरेको भन्दै प्रिन्सिपल रामकुमार साहले विद्यार्थीका बाबु, आमा र दुई दिदीलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

प्रिन्सिपल साह मंगलबार मिर्चैया नगरपालिका– १० मथलेश्वर बजारमा पानपसल सञ्चालन गर्दै आएका अशोकसँग पैसा माग्न उनको पसलमै पुगेका थिए । स्थानीयका अनुसार कोरोना महामारीका कारण व्यवसाय राम्रोसँग चल्न नसक्दा आर्थिक समस्या परेको भन्दै अशोकले केही समय पर्खन आग्रह गरेका थिए ।

तर, प्रिन्सिपल साहले अहिले नै पैसा चाहिने भन्दै अपशब्द प्रयोग गरी एक्कासि कुटपिट गरेको स्थानीयको भनाइ छ । नजिकै रहेका परिवारका सदस्यले झगडा छुट्याउन लाग्दा साहले उनीहरूलाई समेत कुटपिट गरेर घाइते बनाएका थिए ।

@नयाँ पत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...