Saturday 21st September 2024

तस्करी गरि दिल्ली पुर्याइएका १६ जना नेपाली युवतीको उद्दार


तितोपाटी – मंगलबार राति ११:३० बजे नयाँदिल्लीको मुर्निकास्थित अँध्यारो गल्लीमा मुख छोपेका एक हूल महिला देखा परे । उनीहरू थिए– आकर्षक कमाइको आश्वासनमा फसेर जोगिएका १६ नेपाली युवती ।

चार घण्टाको कठिन प्रयासमा उद्धार गरिएका उनीहरू बन्धक बनाइएका थिए । त्यहाँबाट निकाल्न दिल्ली महिला आयोग, केआई नेपाल र प्रहरीको संयुक्त टोली खटेको थियो । एक महिनादेखि स–साना दुई कोठामा राखिएका उनीहरू थकित देखिन्थे । केही बिरामीसमेत । २० देखि ३५ वर्षका उनीहरूमध्ये २ जना अविवाहित छन् । उनीहरूलाई दिल्ली आयोगको आरक्षणमा राखिएको छ । अनुसन्धानलगायत प्रक्रियापछि नेपाल पठाइने उद्धारमा नेतृत्व गरेकी दिल्ली आयोगकी अध्यक्ष स्वाती मलिवालले बताइन् ।

उनीहरूलाई ६ तल्ले घरको दोस्रो तल्लाका दुई कोठामा राखिएको थियो । सबै जनाको राहदानी दिल्ली पुग्नुअघि नै एजेन्टले नियन्त्रणमा लिएको उनीहरूले बताए । खाडीमा खान, बस्नबाहेक कम्तीमा ३० हजार रुपैयाँ मासिक तलब हुने आश्वासन दिइएको एक महिलाले बताइन् ।

उनीहरूलाई सुनौलीको बाटो हुँदै दिल्ली ल्याइएको हो । सीमामा हुन सक्ने सोधपुछबाट उम्कन दिल्लीमा आफन्त रहेको र केही दिनका लागि घुम्न जान लागेको भन्ने जवाफ दिन पहिल्यै सिकाइएको थियो । एक साताअघि दुई युवती कुवेतका लागि उड्ने भन्दै नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगे । तर, दुवैलाई विमानस्थल अधिकारीहरूले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नक्कली भएको आशंकामा पक्राउ गरेका थिए । केही घण्टा राखेर उनीहरूलाई छाडियो । ती अधिकारीले नयाँदिल्लीस्थित नेपाली दूतावासलाई पत्राचार गरेपछि महिलालाई बन्धक बनाइएको रहस्य खुलेको हो ।

सरकारले खाडी मुलुकमा घरेलु कामदार लैजान २०७२ जेठमै प्रतिबन्ध लगाए पनि भारतका विमानस्थल हुँदै नेपाली महिला त्यहाँ पुगिरहेका छन् । नक्कली एनओसीका सम्बन्धमा दूतावास प्रवक्ता हरि ओडारीले भने, ‘त्यो डकुमेन्ट पाएपछि हामी अभिलेख हेर्छौं ।’ त्यसरी जाँच्दा यस घटनामा पनि नक्कली पहिचान भएको थियो । करिब ६ महिनाअघि भिजिट भिसामा दुबई पुगेर अलपत्र परेका ३५ नेपाली महिलाको उद्धार गरिएको थियो । ती सबै दिल्लीबाटै उडेका थिए । ‘नेपाली महिलालाई यसरी ल्याएको देख्दा निकै दु:ख लाग्छ,’ उद्धारकर्ता स्वातीले भनिन्, ‘किन नेपाल सरकारका तर्फबाट मानव तस्करी रोक्न ठोस पहल भइरहेको छैन ?’

को हुन् स्वाती ?
महिला तथा बालबालिकामाथि हुने हिंसा र चेलीबेटी बेचबिखनविरुद्ध अभियानका लागि चर्चित छिन् स्वाती मलिवाल । नेपाली युवतीको उद्धारमा मंगलबार मध्यराति छापा मार्ने टोलीको अगुवाइ उनैले गरेकी थिइन् । गत वैशाखमा नयाँदिल्लीको राजघाटमा महिला तथा बालिकामाथि हिंसाविरुद्ध आमरण अनशन बसेपछि उनी भारतभर चर्चाको केन्द्रमा रहिन् । १० दिनसम्म चलेको उनको अनशनका कारण भारत सरकारले १० वर्षमुनिका बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिने कानुन ल्याएको थियो । ‘मानव तस्करी नेपालको मात्र होइन, विश्वव्यापी समस्या हो । दिल्लीभित्रै पनि ठूलो संख्यामा मानव तस्करी हुने गरेको छ । त्यसैले यसलाई रोक्न नेपाल र भारत सरकारले मिलेर काम गर्नुपर्छ,’
स्वातीले भनिन् ।


सम्बन्धित शीर्षकहरु

हन्ट्सभिलको अलाबामा विश्वविद्यालय र न्यूयोर्कको एप्लाइड फिजिक्सको उन्नत प्रोपल्सन प्रयोगशालाका भौतिकशास्त्रीहरूको टोलीले एउटा मोडेलको विकास गरेको छ जसले देखाउँछ कि…

म्यानमारमा आएको भीषण बाढीका कारण कम्तीमा ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् । टाइफुन…

भारतीय कमेडियन कपिल शर्माले 'द ग्रेट इन्डियन कपिल शो' को दोस्रो सिजन ल्याउने भएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार…

प्रतिकृयाहरू
...