Saturday 15th November 2025

सभापति आकांक्षीहरुको दाबी : संस्थापन इतरबाट साझा उम्मेदवार म


तीतोपाटी डटकम-२५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गरेर दौडधुप थालिसक्दा संस्थापन इतर समूहले साझा उम्मेदवार छान्न सकेको छैन । यो समूहमा सभापतिका आकांक्षी नेताहरु पनि धेरै छन् ।

शुक्रबार पहिलो पटक संस्थापनइतर समूहमा रहेका सभापतिका आकांक्षीहरु एउटै टेबलमा बसेका छन् । बत्तीसपुतलीमा भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी र सुजाता कोइराला सहभागी थिए ।सहभागीमध्ये डा. महत र केसीद्वयले सभापतिको उम्मेदवार बन्ने दाबी गरेनन् । बाँकीले आफैं हुन चाहेका छन् ।

सभापतिमा आफ्नै दाबी

एक सहभागीका अनुसार सबैले पार्टीको नेतृत्व परिर्वतनका लागि संस्थापनइतर समूह एक हुनुपर्नेमा जोड दिएका छन् । तर आकांक्षीहरुले उम्मेदवार भने आफू नै हुनुपर्ने दलिल पेश गर्न छुटाएनन् । ‘सहमतिमै नेतृत्व चयन गर्नुपर्छ भन्नेमा सबैको जोड थियो, तर सबै आकांक्षीले म मात्रै जित्ने उम्मेदवार हुँ, म नै बलियो छु भन्ने गरी पेश हुनुभयो,’ बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने ।

संस्थापनइतर समूह आआफ्नै तरिकाले अगाडि बढ्न खोजिरहेका बेला सबैलाई मिलाएर एउटा सर्वसम्मत उम्मेदवार बनाउन सकिन्छ कि भनेर प्रयास गरेको हुँ । यसलाई निरन्तरता दिन्छु – र्जुननरसिंह केसी

वरिष्ठ नेता रामचन्द्र पौडेलको दाबी थियो, ‘कांग्रेसमा यो मेरा लागि अन्तिम अवसर पनि हो । एकपटक पार्टी सभापति भएर कांग्रेसलाई बलियो र एकतावद्ध बनाउने मेरो चाहना छ ।’

महामन्त्री डा. शशांक कोइरालाले सभापतिमा देउवालाई हराउन सक्ने आफू मात्र भएको दाबी गरे । पूर्वमहामन्त्री प्रकाशमान सिंहको दाबी छ, सबैलाई मिलाएर लैजान पनि सक्छु, मेरो दाबी स्वभाविक छ ।

सभापतिका अर्का आकांक्षी तर यो पटक उम्मेदवारी दिने नदिने घोषणा नगरेका कृष्ण सिटौलाले अन्तिम समयमा निर्णय गर्नुपर्ने बताए । नेतृत्वका लागि स्वच्छ बहस गरौं,’ उनले भनेका छन् ।

डा. शेखर कोइरालाले आफ्नो पक्षमा माहौल बनिसकेको बताए । ‘म धेरै अगाडि बढिसकें, मसँग धेरै नेता कार्यकर्ता साथीहरु जोडिनुभएको छ । मेरो पक्षमा राम्रो माहोल पनि देखिएको छ । कसरी टीम बनाउन सकिन्छ भन्ने छलफल गरौं । मलाई यहाँहरुको सहयोग चाहियो,’ उनले भने ।

नेतृ सुजाता कोइरालाले पनि महिला सभापति बन्नु कांग्रेसका लागि गर्वको विषय हुने भन्दै आफ्नो दाबी प्रस्तुत गरिन् ।

सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास थालेका नेता अर्जुननरसिंह केसीले भने नेतृत्वका आकांक्षीहरुबीच फेरि वान अन वान छलफल गर्नुपर्नेमा जोड दिएका छन् । ‘संस्थापनइतर समूहबाट कसरी एक्लो उम्मेदवार बनाउन सकिन्छ, त्यसको मोडालिटीमा छलफल गरौं,’ उनले भनेका छन् ।

कसले के भने ?

रामचन्द्र पौडेल

यो पार्टीमा मेरो लामो संघर्ष र संगत छ । पार्टीलाई योगदान पनि दिएको छु । एकपटक कांग्रेस सभापति भएर पार्टीलाई बलियो र एकतावद्ध बनाउने मेरो चाहना छ । पार्टीमा सबै भूमिकामा काम गरिसकेको छु । त्यसकारण मेरो दाबी स्वभाविक हो । हामीले सामूहिक निर्णय गरेर उम्मेदवारी घोषणा गर्ने सहमति भएकाले मैले व्यक्तिगत रुपमा उम्मेदवारी घोषणा नगरेको हुँ । तर यसपटक मेरो स्वभाविक उम्मेदवार हो । यो मेरो कांग्रेसमा अन्तिम अवसर पनि हो ।

शशांक कोइराला

शेरबहादुरजीलाई हराउने उम्मेदवार म मात्रै हुँ । म बाहेक अरुले हराउन सक्दैन । उहाँ अहिले शक्तिशाली हुनुहुन्छ । सभापति पनि हुनुहुन्छ । तै पनि अझै सल्लाह गरौं, सहमति बन्दा म बाधक बन्दिन ।

कृष्णप्रसाद सिटौला

पार्टीभित्र नेतृत्वका लागि स्वच्छ बहस गरौं, छलफल गर्दै जाऔं । अहिले नै हतार गरिहाल्नुपर्ने अवस्था छैन । तत्काल क्रियाशील सदस्यता टुंगो लगाउने र महाधिवेशनको माहौल बनाउनेतर्फ हामी लाग्नुपर्दछ । अन्तिममा समय आएपछि एउटा निर्णय गरांैला । सभापतिको उम्मेदवार बन्ने भन्ने अहिले नै को महत्वपूर्ण होइन ।

प्रकाशमान सिंह

म महामन्त्री भइसकें, उपसभापति भइसकें । पार्टीमा निरन्तर सक्रिय छु । उपप्रधानमन्त्री भएर संविधान निर्माणमा पनि योगदान गरेको छु । त्यसकारण मेरो उम्मेदवारी स्वभाविक हो । सबैलाई मिलाएर लैजान पनि सक्छु । वागमतीबाट कांग्रेसको अहिलेसम्म सभापति पनि कोही भएको छैन ।

डा. शेखर कोइराला

मैले धेरै अगाडिदेखि तयारी अगाडि बढाएको हुँ । मसँग धेरै नेता कार्यकर्ता साथीहरु जोडिनुभएको छ । मेरो पक्षमा राम्रो माहोल पनि देखिएको छ । बरु हामी कसरी टीम बनाउन सकिन्छ, त्यसमा छलफल गरौं । मलाई यहाँहरुको सहयोग चाहियो । तर म धेरै अगाडि बढिसकें ।

सुजाता कोइराला

नेपालमा अहिलेसम्म कोही पहिला पार्टीको प्रमुख भएको छैन । महिलालाई सभापति बनाउने नेपाली कांग्रेसमा गर्वको विषय पनि हो । तपाईंहरुबीच सहमति हुन्छ भने म बाधक बन्दिन, होइन भने मलाई अगाडि बढाउनुस् ।

बोलाएको भए आफ्ना कुरा राख्थें

छलफलमा सभापतिका आकांक्षी कल्याण गुरुङलाई बोलाइएको थिएन । युवातर्फ सभापतिमा उम्मेदवार बन्ने बताउँदै आएका गुरुङ संस्थापनइतर समूहकै हुन् । वरिष्ठ नेता पौडेल पक्षबाट क्रियाशील सदस्यता छानबिन समिति सदस्य रहेका गुरुङले भने, ‘उहाँहरुले किन बोलाउनुभएन थाहा भएन, मलाई बोलाएको भए आफ्ना कुरा राख्थें । मैले आफ्नो उम्मेदवारी घोषणा गरिसकेको छु ।’ उनले न्याय, समानता र परिवर्तनको मुद्दालाई लिएर आफूले सभापतिमा उम्मेदवारी दिने प्रष्ट पार्दै कसैको सहयोग वा असहयोगले कुनै अर्थ नराख्ने बताए ।

केसी भन्छन्– सर्वसम्मत उम्मेदवार

संस्थापनइतर समूहमा रहेका सभापतिका आकांक्षीहरुलाई एकैठाउँ भेला गर्ने भूमिका खेलेका नेता अर्जुननरसिंह केसीले छलफल सकारात्मक भएको बताएका छन् ।

बैठकपछि उनले भने, ‘संस्थापनइतर समूह नै आआफ्नै तरिकाले अगाडि बढ्न खोजिरहेका बेला मैले सबैलाई मिलाएर एउटा सर्वसम्मत उम्मेदवार बनाउन सकिन्छ कि भनेर यो प्रयास गरेको हुँ । यसलाई निरन्तरता दिन्छु र सर्वसम्मत उम्मेदवार बनाएर महाधिवेशनमा जानुपर्छ ।’

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

प्रतिकृयाहरू
...