Saturday 22nd August 2026

नेपालले अन्तर्राष्ट्रिय उडान ‘सङ्ख्या बढाउने’ र आन्तरिक ‘खुला गर्ने’ मन्त्रिपरिषद्को निर्णय


तीतोपाटी डटकम-मन्त्रिपरिषद् बैठकले सोमवार आन्तरिक उडान ‘खुला गर्ने’ र अन्तर्राष्ट्रिय उडानको सङ्ख्या ‘बढाउने’ निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले पुष्टि गरेका छन्।कोरोनाभाइरस महामारीको दोस्रो लहरबीच नेपालमा हाल सीमित मात्रामा मात्रै आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ।

“निर्णयबारे मन्त्रिपरिषद्को प्रवक्ताले परिपक्व भएपछि जानकारी गराउनु हुनेछ,” श्रेष्ठले भने।आन्तरिक उडानका हकमा सामान्य अवस्थामा उडान सङ्ख्या फर्काउने निर्णय गरिएको भए पनि अन्तर्राष्ट्रिय उडान सङ्ख्या भने क्रमिक रूपमा बढाइने उनले जानकारी दिए।

नेपालमा अन्तर्राष्ट्रिय उडान कसरी थपिँदैछन्, कस्ता छन् क्वारन्टीनका प्रावधान?नेपाली श्रमिक कहिलेबाट सजिलै स्वदेश फर्किन पाउलान्
”यसअघि (यसअघिका निषेधाज्ञापछि) जति मात्रामा खुल्यो त्यही मात्रामा खोल्ने भन्ने छ,” अन्तर्राष्ट्रिय उडानबारे उनले भने।

“ह्वात्तै १०० प्रतिशत नै खोल्दा फेरि बढ्न (कोरोनाभाइरस सङ्क्रमण) थालेको छ।”कोभिड महामारीको दोस्रो लहरका कारण बन्द गरिएका आन्तरिक हवाई उडानहरू जुलाई १ देखि खुला गरिएको थियो।

के छ तयारी?

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नका लागि तयारी अवस्थामा रहेको जानकारी दिए।”हामी विमानस्थल सञ्चालनका लागि पूर्ण रूपमा तयारी अवस्थामा छौँ। मन्त्रालयले परिपत्र गरेपछि हामी सबै वायुसेवालाई तालिकाका लागि आवेदन दिन भन्ने छौँ,” प्रवक्ता क्षेत्रीले भने।

त्यसपछि विमानस्थलमा एकै पटक धेरै भिड नहुने व्यवस्था मिलाएर आफूहरूले तालिका तय गर्ने र त्यसै अनुसार उडान अनुमति दिइने उनले जानकारी दिए।”पत्र प्राप्त भएको तीन दिनमा हाम्रो सबै काम गर्न सक्छौँ,” उनले भने।”अबको सातदेखि १० दिनमा पुरै खुला हुन्छ।”

के छ अहिलेको अवस्था?
प्राधिकरणका अनुसार हाल दैनिक तीनदेखि पाँच वटा अन्तर्राष्ट्रिय उडान भइरहेको छ।त्यस्तै सामान्य अवस्थाको तुलनामा झन्डै ५० प्रतिशत कम ६७ वटासम्म नियमित आन्तरिक उडान भइरहेको अधिकारीहरू बताउँछन्।हाल बुद्ध एअरलाई दैनिक ३१ वटा, यतीलाई १५, श्रीलाई १० र सौर्यलाई तीन वटा उडान अनुमति दिइएको प्राधिकरणले जनाएको छ।

उडान सामान्य अवस्थामा फर्किए दैनिक आन्तरिक उडान सङ्ख्या १०० पुग्ने र अन्तर्राष्ट्रिय उडान सङ्ख्या भने १५ देखि २० बीच रहने बताइएको छ।कम उडानका कारण सास्ती भोगेका सर्वसाधारणहरूलाई उडान सङ्ख्या बढ्नुले राहत दिने क्षेत्री बताउँछन्।”यात्रु मात्रै होइन, नागरिक उड्डयन अनि वायुसेवा सबैलाई राहत हुन्छ,” उनले थपे।

साभार:- बिबिसी नेपाली सेवा


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...