Friday 22nd May 2026

कविताः परदेशी -राधारमा


उ परदेश गएको छ
आफ्नो देशको माया मुटुभरी बोकेर
भविष्यका सुन्दर सपनाहरु पुरा गर्न
देखेको सपना पूरा गर्नु पनि त उसको कर्तव्य होनी
घरबार धितो राखेको छ
त्यहि सपना र कर्तव्यका खातिर

आफू बन्दकी बसेको छ
जिम्मेवारीका खातिर
आफन्त, परिवार, साथीभाई,
इष्टमित्र, सबैबाट टाढा
भिन्न भाषा, भिन्न समाज
भिन्न संस्कार, भिन्न साथीभाई

भिन्न रहनसहन यि सबै माझ एक्लो महसुस गरेको छ
उसले आफुलाई ।
याहाँको अति रमाइलो वातावरण छोडेर
सम्पुर्ण प्रकाश एकै ठाउँमा
पोखिए जस्तो
हत्केलामा कोइला राखे जस्तो

तातोपानीमा झ्वाम्म हामफाले जस्तो ठाउँमा
निस्सासिन पुग्छ
स्वच्छ मेरो देश स्वर्ग रहेछ
म जन्मेको धरती स्वर्ग रहेछ
चराचुरुङ्गीको गीत सुनेर हुर्किएको
झरि पर्दा खुशी हुँदै झरिमा रुझेर हुर्किएको

जंगली फलफुल अगेरी, रानीकुसुम, भोटेकुसुम, मधु, भलायो, अर्चल, थाक्कल, लटहर, खन्यु, जामुन, फडिरको स्वादमा हुर्किएको बढेको
गर्मि हुँदा खोलामा पौडी खेलेको
झरनामा खलखल नुहाएको
जरुवाको पानी आहा! कति चिसो

अंजुलिमा उगाएर प्यास मेटेको
जंगलमा गित गाउँदै शिकार खेल्थ्यो, थाहा छ मलाई
झ्याउरे लोकभाका गीत गाउँदै
असारे मेलो तुरेको
गाउँकै साहिँलीसंग हिलो छ्याप्दै, बैसालु रहर बेलामौका पोखेको याद गर्छ

बारीमा फलाएको तरकारी
खेतमा फलाएको धान
खोरमा पालेका खसी
गोठका गाइको दुध
जंगलको शिकार
आमाको हातको खाना

उफ उफ उफ उफ उफ उफ …..
यि सबै स्वाद फेरिन पुग्यो एकैपटक
आफुलाई सम्हाल्ने कोसिस गर्छ
परिवारको तस्बिर हातमा लिदै
के सम्झिन्छ कोनि
छातीमा टाँसेर लामो स्वास सगैं

बरररर आँसु झार्छ
फेरि सम्झिन्छ अहंँ
म सन्तानको सुन्दर भविष्यको लागि आएको छु
बुढेसकालमा श्रीमतीसंग सुख गरेर आनन्दले बस्ने
रहर बोकेर आएको छु
आमाको माया र बुवाको आशीर्वाद म सँगै छ

मैले यहि बालुवा पेलेर तेल निकाल्नु छ
याहाँको गर्मी र तापमा
मेरो शरीरलाई बानी पार्नु छ
हेर्छ काम गर्ने ठाउँ
जताततै बालुवाको थुप्रो सुकेको बगरै बगर
त्यही बगर बिचमा लमतन्न परेका एकतमासका सडकहरु

मात्र लोग्नेमान्छे
स्त्री स्वरुपको कतै अनुहार देख्न नपाइने ठाउँ
सबै पैसा कमाउन आएका
कोही कसैसँग बोल्न भ्याउँदैन
सन्चो बिसन्चो सोध्न भ्याउँदैन
बिहानका रातीदेखि खटिएको छ

बेलुकीको राती कोठामा पुगिन्छ
सबै थकित, सुनसान, चुपचाप सन्नाटा
घरिघरी बज्छ त मोबाइलको घन्टी
दिनको एकछाक खाना
बेलुकीको काम सकेर
बिहानको भोको पेटमा

त्यही चाउचाउ भुजा ओहो! कस्तो ठाउँ हो यो
पैसा हातमा हुँदा पनि खान नपाइने
परदेश पुगेपछी मात्र थाहा हुँदोरहेछ
परिवार के हो ?
आफन्त के हुन् ?
आफ्नो गाउँ !

रितिस्थिती
देसको माटोको माया
एउटा परदेशी
मुटुभरी देशको माया बोकेर
आफ्नो कर्तव्यका खातिर
जिम्मेवारीका खातिर
परदेशीएको छ

बस् ………

राधारमा


सम्बन्धित शीर्षकहरु

तितोपाटी- केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन भएको छ । यसअघि अंग्रेजीमा ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा…

तितोपाटी- भारतका प्रधानन्यायाधीश सूर्यकान्तले दिएको ‘कक्रोच’ (साङ्लो) सम्बन्धी अभिव्यक्तिपछि सामाजिक सञ्जालमा एउटा नयाँ बहस सुरु भएको छ। यस अभिव्यक्तिको विरोधमा…

तितोपाटी- नेकपा  एमालेले  व्यवसायी मीनबहादुर गुरूङले  अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई…

प्रतिकृयाहरू
...