Friday 15th May 2026

काठमाडौंमा पनि नेपाल-खनाल समूहले बनायो समानान्तर कमिटी


नेकपा (एमाले) माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी बनाएको छ। आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा कार्यक्रम गरेर समानान्तर कमिटी घोषणा गरेको हो।वरिष्ठ नेता झलनाथ खनाल र नेपालको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको हो। बागमती प्रदेशसभा सदस्य वसन्त मानन्धरको संयोजकत्वमा समानान्तर कमिटी बनेको हो।

एमालेभित्र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता खनाल-नेपाल पक्षलाई कारबाही गर्न थालेपछि यो समूहले समानान्तर कमिटी घोषणा गर्न थालेको हो। समानान्तर कमिटीको उपाध्यक्षमा शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ छन् ।अध्यक्ष ओली समूहको काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राई छन्।

समानान्तर कमिटी घोषणा कार्यक्रममा नेता नेपालले पदाधिकारी, स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा बहुमत आफूहरुको रहेको तर अध्यक्ष ओलीले गुट भेला मात्र गरिरहेको आरोप लगाए ।प्रधानमन्त्री ओलीले नवौं महाधिवेशनमा षड्यन्त्र गरेर जितेको फूर्ति लगाइरहेको भन्दै उनले भने,’ त्यो फूर्तिको काम छैन।’

‘कब्जा गर्नु बेग्लै कुरा हो । विचार र इतिहासले निर्देशित गर्ने बेग्लै हो’ उनले भने, ‘हामी आधिकारिक हौं, विचारले, सिद्धान्तले र इतिहासले पनि यही भन्छ ।’ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्दैमा नहुने पनि बताए । ‘केपी ओलीले फाले फालिने मान्छे हो ? उनले ल्याएर आएका हौं ?, ‘हामीले आन्दोलनको निर्माण गर्दै यो पार्टीलाई विशिष्ट ठाउँमा पुर्‍याएका हौं,उनले भने,’संगठनको हिसाबले पनि हामीहरू कमजोर छैनौँ।’

पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित सबै कमिटीमा आफूहरुको बहुमत रहेको उनको दावी छ। नेता नेपालले प्रधानमन्त्री ओलीले विचार, पद्धति र सिद्धान्तको लडाइँबाट केपी ओलीलाई पराजित गरेरै छाड्ने बताए । ‘अहिले केपी ओली मलाई प्रचण्डको कार्यकर्ता भन्छन् । हिजो आफ्नो स्वार्थसिद्ध गर्न प्रचण्डको चाकडी गर्ने उहाँ नै होइन र? उहाँ अरुलाई सकेसम्म प्रयोग गर्नुहुन्छ नसकेपछि लात हान्नुहुन्छ,’उनले भने,’ ओली सबैलाई बेवास्ता र अपमान गर्ने प्रवृत्ति बोकेर हिँडेका छन् । उनीसँग भएका मान्छे पनि त्यस्तै छन् ।’

ओलीले कानुनी रूपले पार्टी कब्जा गरेपनि आधिकारिक एमाले आफूहरू भएको दाबी गरे।​ उनले भने, ‘हामी यसैलाई आधिकारिक मान्छौँ। कानुनले दिएन भने बेग्लै उपाय खोजौंला। ओलीले कानुनी रूपमा पार्टी कब्जा गर्न खोजेका मात्रै हुन्।’

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...