Sunday 25th January 2026

अध्यक्ष ओलीले माधव नेपाल र भिम रावललाइ निलम्बन गरे


तीतोपाटी – प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अाफ्नो विपक्षमा रहेका नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै उनले नेताद्वयले अहिलेको गतिविधि कायम राखे थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले दुबै नेतालाई छुट्टाछुट्टै पत्र पठाएर निलम्बन गरेका हुन् ।

अध्यक्ष ओलीपक्षीय केन्द्रीय सदस्यहरु मात्र उपस्थित भएको ७ चैतको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेको लगायतका आरोप लगाएर नेपाल र रावलसँगै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको थियो ।

चैत १२ गते त्यसको जवाफ दिएका नेता नेपाल र रावलले विधानको उल्लंघन आफूहरुले नभई अध्यक्ष ओलीबाटै भएकाले तपाईंलाई किन कारबाही नगर्ने भनेर प्रतिप्रश्न गरेका थिए ।

अध्यक्ष ओलीले भने स्पष्टीकरणको जवाफमा गल्ती स्वीकार गर्नुका साटो अंहकार र आत्मकेन्द्रित कुरा मात्र उल्लेख गरेको भन्दै निलम्बनको कारबाही गरेको उल्लेख गरेका छन् ।

निलम्बनको पत्र जस्ताको तस्तैः

विषय : निलम्बन गरिएको सम्बन्धमा ।

श्री माधवकुमार नेपाल र भीमबहादुर रावल,

सदस्य, दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी,

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ।

तपाईं, भीमबहादुर रावललाई मिति २०७७।१२।०८ मा पार्टीको तर्फबाट स्पष्टीकरण माग गरिएकोमा तपाईंले मिति २०७७।१२।१२ मा पार्टीमा पेश गर्नु भएको स्पष्टीकरणको जवाफमा देहाय बमोजिम देखियो ।

१. तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने, उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।

२०. स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुल त्रुटीको स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखियो । आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तो सुकै क्षति पुर्‍याउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा थप पुष्ट भएको ।

३. आपराधिक क्रियाकलापहरु स्वीकार्ने, भूलसुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिकै लागि पार्टीमा समाहित हने साथै विगतमा भए गरेका गलत तथा आपराधिक क्रियाकलापप्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो जस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको तपाईंले उल्टै स्पष्टीकरण सोध्ने जस्तो अनधिकृत र हास्यास्पद कार्य गरेको देखियो ।

४. तपाईंले अहिले पनि पार्टीविरोधी फाटोवादी र गुटगत क्रियाकलापहरु नेकपा एमालेकै नाममा गरिरहेको र त्यसलाई आगामी दिनहरुमा समेत निरन्तरता दिई रहनेतर्फ अग्रसरता देखाएको, पार्टीकै लागि एकताकै लागि भ्रम फिजाएर कार्यकर्ता फसाउने र गलत उद्देश्य तथा मनासायका निम्ति दुरूपयोग गर्ने सम्भावना देखिएको ।

५. यस्तै गतिविधिहरु कामय रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्नेअवस्था आउन सक्नेतर्फ सचेत गराउँदै, यस्ता पार्टीविरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नु भन्दा हाललाई पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यता बाटै पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ ।

तपाईंलाई सच्चिनको लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अबधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारवाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।


सम्बन्धित शीर्षकहरु

गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

प्रतिकृयाहरू
...