कक्षा ३ मा पढ्ने अनिता हरेक दिन जसो विद्यालय छोडेर भागीरहन्थी। औसत विद्यार्थीहरु सरह उस्को पढाइ पनि ठिकै थियो तर विद्यालय आएर भागीहाल्नु पर्ने कारण शिक्षिकालाई बुझ्न गाह्रो भइरहेको थियो । पढ्न मन नलागेर भनौ भने पनि ऊ विद्यालयमा दिनहुँ हाजिर हुन्थी र १\घण्टी पछाडि गायब हुन्थी ।
आइतबारको दिन थियो । शिक्षिका कक्षामा पस्ने बित्तिकै सबै विद्यार्थीहरुले एकै स्वरमा भने, मिस आज पनि अनिता कक्षा छोडेर भागी र एक कक्षामा पढ्ने उस्को भाइलाई पनि लगी । एकछिन टोलाएर शिक्षिकाले कक्षा शुरु गरिन् ।
भोलिपल्ट अनिता विद्यालयमा आउने बित्तिकै शिक्षिकाले कार्यालयमा बोलाइन् । अनिता डराइ डराइ शिक्षिकाको छेउमा पुगी मानौ उस्ले ठूलै गल्ती गरेकी छ ।
तर यसपटक शिक्षिकाले गाली नगरी मायालु वातावरणमा सोधिन्, अनिता तिमी हिँजो किन भाइलाई समेत लिएर भागेको? शिक्षिकाको प्रश्नले अनिताको शरीरमा १२० भोल्टको करेन्ट दौडीसकेको थियो र हडबडाउँदै भनिन्, मिस, मिस, मिस !
शिक्षिकाले वातावरण सामान्य बनाउँदै सोधिन्,भनन म केही पनि गर्दिन बरु साँचो कुरा भन चक्लेट दिन्छु भनेर चकलेट दिइन् । चक्लेटको सम्मोहनमा परेर अनिताले साँचो कुरा भनी । मिस हामीलाई भोक लागेको थियो अनि भागेको नि ।
केही पनि नखाइ स्कुल आएको हो र? शिक्षिकाको प्रश्न थियो ।
हाम्रो घरमा खाने केही पनि छैन मिस । सँधै हजुरआमाले निगुरो बेचेर हामीलाई खान ल्याइदिनु हुन्थ्यो तर उहाँ बिरामी हुनुभएपछि हामीले कति दिनदेखि खानै पाएका छैनौ । हिजो पनि हामी स्कूलबाट भागेर निगुरो टिप्न गयौ र नब्बे रुपैयाँमा बेचेर दुई किलो चामल किनेको नि ।
शिक्षिकाको आँखामा मेचीकोशी बगीसकेका थिए । कुरैकुरामा शिक्षिकाले थाहा पाइन्,अनिताको बाबुले दोस्रो घरजम गरिसकेका थिए भने,आमा पैसा कमाउन विदेश गएको ३ वर्ष भैसकेको थियो तर यतिका दिनसम्म न पैसा आएको थियो, नत उस्की आमा नै ।
शिक्षिकाले बेलुका समाचारमा प्रधानमन्त्रीको भाषण सुनेको सम्झिइन् । अब नेपालमा कोही पनि गरिब छैन र कसैले भोकै मर्नु पर्ने छैन । देश बनाउन सरकारमा गएका नेताहरु कुर्सीको लागि लुछाचुडी गरिरहँदा, कति अनिताहरु भोकको ज्वाला मेटाउन विद्यालय छोडेर संघर्ष गरिरहेका छन् । कहिले बुझ्लान्,यो देशलाई,जनतालाई र अबोध यि अनिताहरुलाई ।
पुष्पा नेपाल (सुवेदी)
इलाम