Wednesday 30th September 2026

तालिम केन्द्र जस्तै बन्यो माथागढीको ३ नम्बर वडा कार्यालय


तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त ‘तालिम केन्द्र’ (Training Center) का रूपमा समेत स्थापित हुँदै गएको छ। गाउँपालिकाले आयोजना गर्ने अधिकांश तालिमहरूका लागि प्रायः यसै वडालाई प्राथमिकतामा राखेर चयन गर्ने गरिएको छ।

भौगोलिक सुगमता, यातायातको सहज पहुँच र माथागढीकै प्रमुख व्यापारिक केन्द्र सराई बजारको नजिकै हुनुले पनि यस वडालाई कार्यक्रमहरूको मुख्य थलो बनाएको हो। कसेनी वडा कार्यालयमा हरेक महिना कुनै न कुनै सीपमूलक वा क्षमता विकासका तालिमहरू निरन्तर सञ्चालन भइरहेका देखिन्छन्।

नयाँ वर्ष २०८३ को सुरुवातसँगै यहाँ तालिमको चहलपहल थप बढेको छ। वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई लक्षित गरी आयोजना गरिएको१० दिने ‘बारिस्ता’ (कफी बनाउने) तालिम सम्पन्न हुने चरणमा छ। भने ३ दिने नेतृत्व विकास, उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम बिहिबार सम्पन्न भएको छ।। यसैगरी, ६५ दिन लामो ‘जुनियर ब्युटिसियन (तह–१)’ तालिम पनि सम्पन्न हुने अन्तिमचरणमा पुगेको छ।

वडामा हुने यस्ता गतिविधिले स्थानीय स्तरमा उत्साह थपेको छ। वडा अध्यक्ष तेज घर्ती मगर भन्नुहुन्छ, गाउँपालिकाले वडा नम्बर ३ लाई प्राथमिकतामा राखेर लामो अवधिका यस्ता महत्वपूर्ण तालिमहरू सञ्चालन गर्ने अवसर दिँदा निकै खुसी लागेको छ। यसअघि पनि यस वडामा दुई महिने बेमौसमी तरकारी खेती तालिम र पावर टिलर (Power Tiller) मर्मत जस्ता प्राविधिक तालिमहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। वडा कार्यालयले आफ्नै सुविधा सम्पन्न सभाहल निर्माण गरेपछि कार्यक्रमहरू सञ्चालन गर्न थप सहज भएको हो। नयाँ भवन बन्नुअघि पनि पालिकाका अधिकांस तालिमहरुको लागि यही वडा नै पहिलो रोजाइमा पर्ने गर्दथ्यो। पालिकाले नागरिकहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने दीर्घकालीन लक्ष्यका साथ विभिन्न तालिमहरू आयोजना गरिरहेको छ। वडा अध्यक्ष मगरका अनुसार, तालिममा सहभागीहरूले सिकेको सीपलाई केवल तालिम हल र  प्रमाणपत्रमा सीमित नराखी व्यवहारमा उतारेर स्वावलम्बी बन्न सके मात्र पालिकाको उद्देश्य र चाहनाले सार्थकता पाउनेछ।

कसेनीमा बढ्दो यी गतिविधिले माथागढीका युवा र महिलाहरूलाई दक्ष जनशक्तिको रूपमा विकास गर्न ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...