Friday 28th August 2026

एक वर्षपछि दशरथ रंगशालामा दर्शकसहितको फुटबल


दशरथ रंगशालामा हुने तय भएको विश्वकप छनोटका खेल कोरोना भाइरस महामारीपछि पटक-पटक स्थगित भयो।विभिन्न देशमा लगाइएको भ्रमण प्रतिबन्ध र क्वारेन्टिन बस्नुपर्ने नियमका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले एक समूहको खेल एउटा भेन्यूमा मात्र गर्ने निर्णय गर्‍यो।

जसका कारण नेपालले विश्वकप छनोटका बाँकी तीन खेल अब कुवेतमा खेल्नु पर्नेछ। कोरोना नभएको भए यी तीन वटै खेल नेपालमा हुने थियो र घरेलु दर्शकले दशरथ रंगशालामै आफ्नो टिमको खेल हेर्ने अवसर गुमाए।विश्वकप छनोटका खेल हेर्न नपाए पनि घरेलु दर्शकले थ्री नेसन्स कपका खेल भने दशरथ रंगशालामा हेर्न पाउँदैछन्। आजदेखि सुरु हुने थ्री नेसन्स कपमार्फत् नेपाली दर्शकले घरेलु मैदानमा एक वर्षपछि अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा हेर्न पाउँदैछन्।

कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यु २३ टिमबीच प्रतिस्पर्धा हुँदैछ। आज हुने पहिलो खेलमा बंगलादेश र कीर्गिस्तान अपरान्ह ५ बजे प्रतिस्पर्धा गर्दैछन्। नेपालको पहिलो खेल बिहीबार कीर्गिस्तानसँग छ। पछिल्लोपटक दशरथ रंगशालामा गतवर्ष मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रतिस्पर्धा भएको थियो। सागको फाइनलमा पुगेको नेपालले भुटानलाई हराएर स्वर्ण पदक जितेको थियो।

कोरोनाका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा दर्शक बिनाको रंगशालामा खेल गराउने अभ्यास भइरहेको बेलमा थ्री नेसन्स कपमा भने दर्शक सहितको प्रतिस्पर्धा हुँदैछ। दशरथ रंगशालामा खेल हेर्न १५ हजार दर्शक अट्छन्। तर एन्फाले कोरोनाको कारण एक खेलमा १२ हजार मात्र टिकट बिक्री गर्ने जनाएको छ।साधारण प्यारापिटतर्फ १० हजार पाँच सय र भिआइपीतर्फ १ हजार ५ सय टिकट बिक्री गरिनेछ। जसमा साधारण तर्फको टिकट मूल्य ७ सय रुपैयाँ र भीआइपीतर्फको टिकट मूल्य १५ सय रुपैयाँ तोकिएको छ।

३ हजार कम मात्र टिकट बिक्री गर्न लागेको एन्फाले रंगशालामा प्रवेश गर्ने दर्शकलाई अनिवार्य भौतिक तथा सामाजिक दूरी काम गर्न भनेको छ।८० प्रतिशत टिकट बिक्री गर्दा कसरी भौतिक दूरी कामय गर्न सम्भव होला? भन्ने प्रश्न पनि उठेको छ।यसबारे राखिएको जिज्ञासामा एन्फा प्रवक्ता किरण राई भन्छन्, ‘३ हजार सिट खालि राखेर भौतिक दूरी कायम गर्छौं।’

एन्फाले रंगशालामा फुटबल हेर्न आउने दर्शकले अनिवार्य मास्क लगाउनु पर्ने नियम बनाएको छ। यस्तै प्रवेश द्वारमा सेनिटाइजर राखिनेछ। दर्शकको तापक्रम नापिने पनि राईले बताए। ‘तापक्रम नापेपछि कोरोनाको शंका लागेमा रंगशाला प्रवेश गर्न दिँदैनौ,’ राईले भने।

थ्री नेसन्स कप : दशरथ रंगशालामा फुटबलको माहोल फर्कने विश्वास

एक वर्षछि रंगशालामा दर्शक सहितको फुटबल आयोजना गर्न लागेको एन्फाले प्रतियोगिताबाट १ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ। एन्फाले टिकट बिक्री, प्रायोजन र टेलिभिजन अधिकारबाट आम्दानी गर्ने बताएको छ। जसमध्ये १ करोड रुपैयाँ खर्च हुनेछ। प्रतियोगिताका लागि गोलकिपर किरण चेमजोङ नेपाल फर्कने एन्फाको भनाइ छ।भारतको आइ-लिग टिम पञ्जाव एफसीमा आबद्ध किरणलाई नेपाली टिमको कप्तानको जिम्मेवारी दिइनेछ। आइ-लिग टिम आइजोलमा आबद्ध फरवार्ड अभिषेक रिजाल पनि थ्री नेसन्स कप खेल्न नेपाल फर्किसकेका छन्।

प्रतियोगिताका खेल तालिका

चैत १० गते – किर्गिस्तान भर्सेस बंगलादेश – अपरान्ह ५:३० – दशरथ रंगशाला

चैत १२ गते – नेपाल भर्सेस किर्गिस्तान – अपरान्ह ५:३० – दशरथ रंगशाला

चैत १४ गते – नेपाल भर्सेस बंगलादेश – अपरान्ह ५:३० – दशरथ रंगशाला

चैत १६ गते – फाइनल – अपरान्ह ५:३० – दशरथ रंगशाला

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं — नेपालमा जारी राहत तथा उद्धार कार्यका सम्बन्धमा भारत सरकारले उच्चस्तरीय चासो व्यक्त गर्दै प्रभावित क्षेत्रमा आवश्यक सहयोग र…

कुवेतमा नेपाली समुदायको सामाजिक तथा खेलकुद इतिहास बोकेको पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, कुवेत ले आफ्नो १०औँ ऐतिहासिक महाधिवेशन…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा रकम सङ्कलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको…

प्रतिकृयाहरू
...