Saturday 15th February 2025

भिजिट भिसामा १५७ जना नेपालीलाई कुवेत हुँदै युएई पठाइँदै


तितोपाटी- पछिल्लो समय भिजिट भिसामा रोजगारीका लागि नेपाली कामदार युएई पठाइने क्रम बढेको छ । आइतबार बिहानको भिजिट भिसामा १ सय ५७ जना नेपाली कामदार जजिरा एयरलाइन्समार्फत कुवेत हुँदै युएई पठाउन लागिएको सूचना पाएको वैदेशिक रोजगार विभागका एक जना कर्मचारीले जानकारी दिएका छन् ।
म्यानपावर, कन्सल्टेन्सी, ट्राभल र एजेन्टबाट भिजिट भिसामा कामदारलाई जजिरा एयरलाइन्समार्फत यूएई पठाउन लागेको सूचना विभागमा आएको ती कर्मचारीले बताए । भिजिट भिसामा फ्लाइ दुबई र एयर अरबियामार्फत जानेलाई कडाइ गरेपछि एजेन्टले उडान परिवर्तन गरेर जजिरा एयरलाइन्समार्फत पठाउन लागेको उनको भनाइ छ ।

१ सय ५७ जनामध्ये ७ जना महिला रहेको सूचना पाएको ती कर्मचारीले बताए । जजिराको बिहान १० बजेको उडानमा कुवेत हुँदै युएईका लागि टिकट भएको सूचना पाएको विभागले जनाएको छ । यसरी भिजिट भिसामा गएकामध्ये अधिकांश घुम्नका लागि नभएर काम गर्नका लागि त्यहाँ गएका विभिन्न अध्ययनले देखाएका छन् ।
भिजिट भिसा नाममा म्यानपावर कम्पनी, कन्सल्टेन्सी र व्यक्तिगत एजेन्टले चर्को रकम लिएर रोजगारीका लागि कामदार पठाउने गरेका छन् । यसरी जाने कतिपय नेपालीलाई कहाँ र कसरी जाँदै छौँ भनेर गन्तव्यका बारमा थाहा नपाउने गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
नेपालबाट यसरी भिजिट भिसामा उडेका महिलालाई यूएईसँगै खाडीका अन्य देशमा घरेलु कामदारका रूपमा पुर्‍याउने गरिएको छ । सरकारले खाडीका देश र मलेसियामा महिला घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएपछि यी देशमा म्यानपावर कम्पनीहरूले भिजिट भिसामार्फत कामदार पठाउने गरेका छन् ।

काेरोना महामारीका कारण बन्द भएको अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएयता साढे १० हजार नेपाली भिजिट भिसामा यूएई पुगेका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार गत १६ भदौदेखि अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएपछि १० हजार ५ सय नेपाली भिजिट भिसामा यूएई गएका छन् ।

-साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

दुबई: कृत्रिम बुद्धिमत्ताले समाजलाई पुन: परिभाषित गर्न सक्छ तर सामान्य हितको लागि प्रयोग गर्न "उचित रेलिङ" आवश्यक छ, एक शीर्ष…

गुलाम नवि मन्सुर- सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ। फेसबुक, युट्युब, ट्विटर, टिकटकजस्ता…

वासिङ्टन/जेरुसेलम: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको प्रतिध्वनि गर्दै, जियोनिस्ट संस्थाले मंगलबार धम्की दिएको छ कि यदि यस सप्ताहन्तमा कुनै पनि…

प्रतिकृयाहरू
...