Tuesday 25th August 2026

भिजिट भिसामा १५७ जना नेपालीलाई कुवेत हुँदै युएई पठाइँदै


तितोपाटी- पछिल्लो समय भिजिट भिसामा रोजगारीका लागि नेपाली कामदार युएई पठाइने क्रम बढेको छ । आइतबार बिहानको भिजिट भिसामा १ सय ५७ जना नेपाली कामदार जजिरा एयरलाइन्समार्फत कुवेत हुँदै युएई पठाउन लागिएको सूचना पाएको वैदेशिक रोजगार विभागका एक जना कर्मचारीले जानकारी दिएका छन् ।
म्यानपावर, कन्सल्टेन्सी, ट्राभल र एजेन्टबाट भिजिट भिसामा कामदारलाई जजिरा एयरलाइन्समार्फत यूएई पठाउन लागेको सूचना विभागमा आएको ती कर्मचारीले बताए । भिजिट भिसामा फ्लाइ दुबई र एयर अरबियामार्फत जानेलाई कडाइ गरेपछि एजेन्टले उडान परिवर्तन गरेर जजिरा एयरलाइन्समार्फत पठाउन लागेको उनको भनाइ छ ।

१ सय ५७ जनामध्ये ७ जना महिला रहेको सूचना पाएको ती कर्मचारीले बताए । जजिराको बिहान १० बजेको उडानमा कुवेत हुँदै युएईका लागि टिकट भएको सूचना पाएको विभागले जनाएको छ । यसरी भिजिट भिसामा गएकामध्ये अधिकांश घुम्नका लागि नभएर काम गर्नका लागि त्यहाँ गएका विभिन्न अध्ययनले देखाएका छन् ।
भिजिट भिसा नाममा म्यानपावर कम्पनी, कन्सल्टेन्सी र व्यक्तिगत एजेन्टले चर्को रकम लिएर रोजगारीका लागि कामदार पठाउने गरेका छन् । यसरी जाने कतिपय नेपालीलाई कहाँ र कसरी जाँदै छौँ भनेर गन्तव्यका बारमा थाहा नपाउने गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
नेपालबाट यसरी भिजिट भिसामा उडेका महिलालाई यूएईसँगै खाडीका अन्य देशमा घरेलु कामदारका रूपमा पुर्‍याउने गरिएको छ । सरकारले खाडीका देश र मलेसियामा महिला घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएपछि यी देशमा म्यानपावर कम्पनीहरूले भिजिट भिसामार्फत कामदार पठाउने गरेका छन् ।

काेरोना महामारीका कारण बन्द भएको अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएयता साढे १० हजार नेपाली भिजिट भिसामा यूएई पुगेका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार गत १६ भदौदेखि अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएपछि १० हजार ५ सय नेपाली भिजिट भिसामा यूएई गएका छन् ।

-साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

हाइटीमा ग्याङ हिंसा फेरि तीव्र बनेको छ। राजधानी पोर्ट–अ–प्रिन्सनजिकैको केन्स्कोफ क्षेत्रमा शक्तिशाली ग्याङ गठबन्धनले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु…

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा…

अन्वेषणको इतिहासमा एउटा अचम्मलाग्दो तथ्य छ—नजिक हुनु भनेको सधैँ पहिले पत्ता लाग्नु होइन। पृथ्वीबाट अरबौँ किलोमिटर टाढा रहेको अरुण ग्रह…

प्रतिकृयाहरू
...