Thursday 1st October 2026

म्यानपावरमा पासपोर्टको चाङ, अनुगमन टाेली पुग्नुअघि नै कार्यालय बन्द


तितोपाटी- भिजिट भिसामा विभिन्न देशमा रोजगारीमा पठाउने भन्दै म्यानपावर कम्पनीले कामदारसँग राहदानी सकंलन गरिरहेको पाइएको छ । शुक्रबार वैदेशिक रोजगार विभागले भिजिट भिसामा कामदार यूएई पठाउनका लागि राहदानी संकलन गर्दै आएका तीनवटा म्यानपावरमा अनुगमन गरेको थियो ।

अनुगमन गरिएका म्यानपावरमा १ हजार २ सयभन्दा धेरै राहदानी फेला परेको विभागले जानकारी दिएको छ । ती म्यानपावरले कुन देशमा कामदार पठाउन राहदानी लिएका हुन् भन्ने नखुलेको विभागको अनुगमन टोलीले जानकारी दिएको छ ।
विभागले सिनामंगलस्थित स्काई अफ द वोड, इम्पावर ह्युमेन रिसोर्सेज म्यानेजमेन्ट प्रालि र सुर्खेत ओभरसिज प्रालिमा अनुगमन गरेको थियो । विभागले सुर्खेत म्यानपावरले भिजिट भिसामा ११ जना कामदार यूएई पठाउन लागेको राहदानीसमेत फेला परेको बताएकाे छ ।
उक्त म्यानपावरले ११ जनालाई नेपालबाट भिजिट भिसामा रोजगारीका लागि यूएई पठाउन लागेको र उनीहरूको उडान तालिका भोलि रहेको विभागको अनुगमन टोलीका अधिकृत कुशल बरालले बताए ।
विभागको टोली अनुगमनमा आएको थाहा पाएपछि सुर्खेत म्यानपावरका सञ्चालकहरू कार्यालय बन्द गरेर भागेका थिए । अनुगमन टोलीले पटक-पटक फोन गरेर बोलाउँदा पनि म्यानपावर सञ्चालक १ घण्टापछि आउने भन्दै तर्किए ।
विभागको अनुगमन टोलीले स्काई अफ द वोड म्यानपावरबाट करिब ७ सय राहदानी फेला परेको जनाएको छ । ती राहदानी एजेन्टले कामदारसँग लिएर म्यानपावरलाई बुझाएको विभागले बताएको छ । यस्तै, विभागको टोलीले इम्पावर ह्युमेन रिसोर्सेज म्यानेजमेन्ट प्रालिमा भने राहदानी मात्र भेटिएको थियो ।
म्यानपावर कम्पनी यूएईमा भिजिट भिसामा कामदार पठाउन राहदानी जम्मा गरिरहेको सूचनाका आधारमा अनुगमन गर्दा एउटै म्यानपावरमा ७ सयभन्दा धेरै पासपोर्ट फेला परेको विभागका अनुगमन अधिकृत कुशल बरालले बताए । अनुगमनका क्रममा टाेलीले राहदानीसँगै कम्प्युटरको सीपीयूसमेत जफत गरेकाे बरालले बताए ।
‘भिजिट भिसामा धेरै रकम लिएर म्यानपावरले वैदेशिक रोजगारीमा कामदार पठाइरहेको विभागले सूचना पाएको छ । यसरी भिजिट भिसामा कामदार पठाउन म्यानपावरलाई अनुगमन मात्र होइन वैदेशिक रोजगार ऐनअनुसार कारबाही हुन्छ । यो अवैध काम हो’, उनले भने, ‘अनुगमन टाेली आउँदा कार्यालय बन्द गरेर भाग्ने म्यानपावर अब सिल हुन्छ । अवैध काम नगरेको भए किन कार्यालय बन्द गरेर भाग्छन् ? गलत काम गर्ने म्यानपावरका सञ्चालक भागिरहेका छन् । म्यानपावरले भिजिट भिसामा कामदार पठाउने काम गर्दै छन् ।’
Alfa Care NepalNCell
विभागले अवैध रूपमा भिजिट भिसामा कामदार पठाउने म्यानपावरलाई कानुनी कारबाही गर्ने र त्यस्ता म्यानपावरलाई वैदेशिक रोजगार ऐनअनुसार कारबाहीस्वरुप काराेबार रोक्का गर्न सकिने उनको भनाइ छ ।
कोरोना भाइरसका कारण बन्द भएको अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएपछि म्यानपावरका एजेन्ट र व्यक्तिले यूएईमा कामदार पठाइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
यूएईलगायतका विभिन्न देशमा राम्रो काम र सेवा सुविधाको प्रलोभनमा भिजिट भिसामा पठाएका श्रमिकहरू ठगीमा पर्ने क्रम सुरु भएको भन्दै त्यसरी वैदेशिक रोजगारीमा नजान विभागले सूचनासमेत जारी गरेकाे छ ।
भिजिट भिसामा यूएई जाने व्यक्तिसँग टिकटसहित सेटिङका लागि प्रतिव्यक्ति २ लाख ५० हजार रुपैयाँ दलाललाई बुझाउने गरेको भिजिट भिसामा जाने महिलाले बताएका छन् । नेपालमा भिजिट भिसामा जाने प्रायः सबै राति २ बजेको एयर अरेबियाको उडानमार्फत पठाइने गरिएको छ ।
तस्करले अध्यागमन विभागका कर्मचारी, प्रहरी र एयरलाइन्सका कर्मचारीबीच सेटिङ मिलाएर भिजिट भिसा भएकालाई उतै काम गर्ने गरी खाडी मुलुक पठाउने गरेका हुन् । सरकारले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाए पनि मानव तस्करले सेटिङ मिलाएर नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् ।
हाल दैनिक यूएई भिजिट भिसा २ सयभन्दा धेरै नेपाली दलालले पठाइरहेका छन् । जसमध्ये १ सय ५० जना महिला रहेको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ ।
साभार शिलापत्र बाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...