Tuesday 5th August 2025

वैदेशिक रोजगारमा २८ लाख नेपाली, कोभिडले १६ लाख फर्कन सक्ने


-मुना कुँवर

– मानवअधिकार आयोगको अध्ययन भन्छ– वैदेशिक रोजगारमा गएका ९ लाख र अध्ययन, व्यापार–व्यवसायमा गएका ७ लाख नेपाली तत्कालै स्वदेश फिर्ता हुन सक्छन्

– एक दिनमै १५ सयको श्रम अवधि सकिन्छ लकडाउनयता १ लाख ७२ हजारको श्रम अवधि सकियो

कुल २८ लाख १२ हजार नेपालीहरू वैदेशिक रोजगारीमा रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार सार्वजनिक एक अध्ययन प्रतिवेदनले वैदेशिक रोजगारीमा रहेका कामदारको यो तथ्यांक बाहिर ल्याएको हो । काठमाडौंस्थित अनुसन्धान संस्था सोसल साइन्स बहाअन्तर्गतको सेन्टर फर स्टडी अफ लेबर एन्ड मोबिलिटीले नेपाल श्रमशक्ति सर्वेक्षण २०७५ को प्रारम्भिक तथ्यांकका आधारमा यो संख्या निकालेको मानवअधिकार आयोगले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीको यकिन तथ्यांक सरकारी निकायहरूसँग पनि नभएको अवस्थामा यो वास्तविकता नजिकको तथ्यांक सार्वजनिक भएको हो ।

अध्ययनका अनुसार वैदेशिक रोजगारमिा सबैभन्दा बढी नेपाली भारतमा ९ लाख ६९ हजार छन् । त्यस्तै, मलेसियामा ४ लाख ६८ हजार र कतारमा ४ लाख ३६ हजार नेपालीले काम गरिरहेको पनि अध्ययनले देखाएको छ ।

कोभिड–१९ महामारीका कारण १६ लाख नेपालीहरू नेपाल फर्कन सक्नेसमेत आयोगको यो अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका लागि मलेसिया र खाडीलगायतका मुलुक गएका श्रमिकमध्ये करिब ९ लाख र अध्ययन, व्यापार–व्यवसायलगायतका लागि विभिन्न मुलुक गएका ७ लाख नेपालीहरू तत्कालै फर्कन सक्ने आयोगको ‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकहरूको अधिकार’ विषयक अध्ययनले देखाएको हो ।

श्रम स्वीकृति तथा करार अवधि समाप्त भएका, करार अवधिभित्रमा कोरोनाका कारण रोजगारी गुमाएका, आममाफी पाएका, अध्ययन, घुमघाम र भेटघाटका लागि विदेश गएर अलपत्र परेका नेपालीहरू स्वदेश फर्कने देखिएको हो । अध्ययनका अनुसार पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका तर रोजगारी गुमाई ५ लाख नेपालीहरू स्वदेश फर्कनसक्छन् ।

त्यस्तै, रोजगार अवधि सकिएका तर लकडाउन भएका कारण आउन नपाएका श्रमिक ३५ हजार छन्, जो तत्कालै नेपाल फर्कन चाहन्छन् । नयाँ श्रम स्वीकृति लिई रोजगारीमा गएका, तर करार अवधिभित्रमा कोरोनाका कारण रोजगारी गुमाएका ३ लाख, पुनः श्रम स्वीकृति लिई रोजगारीमा गएका, तर रोजगारी गुमाएका १० हजार, आममाफी पाएका २५ हजार श्रमिक फर्कन सक्ने आयोगको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, श्रम अवधिभित्र रहेका, रोजगारीमा समस्या नभए पनि स्वैच्छिक रूपमा स्वदेश फर्कने २० हजार र अध्ययन, घुमघाम र भेटघाटका लागि विदेश गएर अलपत्र परेका ७ लाख नेपाली स्वदेश फर्कनसक्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

मानवअधिकार आयोगका सदस्य तथा यो अध्ययनका संयोजक सुदीप पाठकका अनुसार यो वैदेशिक रोजगार बोर्डले उपलब्ध गराएको विवरणका आधारमा यो तथ्यांक निकालिएको हो ।

महामारीका कारण नेपालमा लकडाउन सुरु भएपछि गत असारसम्ममा १ लाख ७२ हजार ५ सय नेपाली श्रमिकको श्रम स्वीकृतिको अवधि समाप्त भएको आयोगको अध्ययन प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार खाडी मुलुकमा १ लाख ३९ हजार १ सय ५० नेपाली श्रमिकको श्रम स्वीकृतिको समय सकिएको छ भने मलेसियामा २२ हजार ४ सय २५ र अन्य मुलुकमा १० हजार ९ सय २५ श्रमिकको श्रमको अवधि सकिएको छ । अध्ययनअनुसार हरेक दिन औसत १५ सय नेपाली श्रमिकको श्रम स्वीकृति समाप्त हुन्छ ।

लकडाउनकै अवधिमा रोजगार अवधि सकिएका कामदार ओमानमा १८ सय ४० छन् । बहराइनमा २ हजार ७ सय ६०, कुवेतमा ८ हजार ५ सय १०,  युएईमा ३९ हजार ९ सय ५, साउदी अरबमा ३७ हजार ६ सय ५,  कतारमा ४८ हजार ५ सय ३० जना कामदार श्रम अवधि सकिएर पनि उतै बस्न बाध्य छन् । यस्ता कामदारको संख्या मलेसियामा २२ हजार ४ सय २५ र अन्य देशमा १० हजार ९ सय २५ छ । श्रम स्वीकृतिको अवधि सकिएका श्रमिक नेपाल फर्कन नपाउँदा ठूलो जरिवाना र सजाय भोग्नुपर्ने हुन सक्ने आयोगले बताएको छ ।

नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

यो टेलिस्कोपले ब्रह्माण्डमा नदेखिने कुराहरू पनि देखाउनेछ जुन २०२५ मा वाशिंगटन डीसीमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारणको क्रममा केही अद्भुत…

अमेरिकामा एक दम्पतीले ३० वर्षभन्दा बढी समयदेखि फ्रिजमा राखिएको भ्रूणबाट बच्चा जन्माएका छन्। यो सबैभन्दा पुरानो भ्रूण हो जसबाट बच्चा…

प्रतिकृयाहरू
...