Wednesday 18th February 2026

छिःछिः विजुक्छे – वुहान भन्दा भक्तपुर बहादुर छ


तोयानाथ उपेक्षित – भोलीबाट भक्तपुरको जमिनको भाउ ह्वात्तै घट्ने पो हो की भन्ने पीर कसैलाई लागेको होला। यदि त्यसो हो भने बेलैमा बेचेर भाग्नु होला। कतै भक्तपुर जिल्ला नै खाली भएछ भने पनि चिन्ता मान्न पर्दैन। काठमाण्डौको भौगर्भिक अवस्था पो कुन गतिलो छ र? यहीं टासिरहनु पर्ने के नै पो छ र ? जटिल भुगर्व लिएर बाँचेको उपत्यकाको भविश्यलाई कसले वारेन्टी दिएको छ र? यसै पनि यो जोखिम ठाउँमा किन सति गईरहने हो? सवै त्रसित छन रे भनेको सुन्छु किनभने आज मध्यरात पछि त्यहाँ भुतहरुको हुल चीनको बुहानबाट आउदैछन रे।

धिक्कार छ तिनलाई! जसले यस्ता अतिरंजित कुप्रचार गरेर आफ्नै अपमान गरिरहेका छन।

भक्तपुरेहरु त्यति लाक्षी त नहुन पर्ने हो जसले काठमाण्डौको ठुलो बोझ आफ्नो काधमा लिएर गर्वका साथ आफ्नोपनको रक्षा गरिरहेका छन तर नारायणमान विजुक्छे जस्ता पाका नेताहरुले आफ्ना नेपाली दाजुभाई, दिदी बहिनीहरुलाई भक्तपुरले घृणा गर्छ भन्ने संन्देश दिएको कति पनि सुहाएको छैन। त्यति धेरै डर लाग्यो भने उहाँले भक्तपुर छाडेर भागे हुन्छ, कसैले बाटो छेक्दैन तर त्यसमाटोलाई आफ्नै विर्ता झै ठानेर उनीहरुलाई यहाँ नराख भन्ने अधिकार उनलाई कदापी छैन। उनको त्यो अभिव्याक्ति गलत मात्र होईन निन्दनीय पनि छ।

भक्तपुरको बादशाह भनिएका पूर्व सांसद नारायणमान विजुक्छेले त्यसरी बोलिदिएपछि उनका चेलाचपेटाहरु उफ्रनु स्वभाविक हो तर यसै विषयलाई लिएर कुनै झडपको स्थिती बन्यो र कुनै अप्रिय घटना भईदियो भने त्यसको जिम्मेवारी उनै विजुक्छे र केही दिनदेखि विरोध प्रर्दशनको नेतृत्व गर्नेले लिनै पर्ने हुन्छ। सरकारले यस कुरालाई गंभिरतापूर्वक लिएको छ कि छैन?

चीनमा पढन गएका नेपाली दाजुभाई-दिदीबहिनीलाई नेपाल चाहीं ल्याउन पर्ने तर आफ्नो जिल्लामा राख्न नहुने धारणा हो भने उनीहरुलाई अन्तत ल्याउन हुदैन भनिएको हो। यो जिम्मेवार कुरा हुन सक्दैन। यसो भन्नेका आफन्त वा सन्तान अन्य कुनै देशमा रहेको भए हामीले तिनलाइ अव नेपाल आउन दिनहुन्न भनौ त, अनि हेरौ कस्तो महसुस हुन्छ तिनलाई? के यसो भन्न मिल्छ?

चीनको वुहानमा फसेका नेपाली कोरोना संकृमित भएको अवस्थामा ल्याउन लागेको हो र? उनीहरु विमार भए त ल्याउछु भन्दा पनि ल्याउन पाईदैन। उनीहरुको त्यहाँ उपचार हुन नसकेर परिवारलाई जिम्मा दिउ भनेर जहाज लिन गएको होर ? एक सकुशल स्वास्थ्य मानिस जो महिनौ दिन देखी आफ्नै घर भित्र बन्दि बनेर विताईरहेको छ उसलाई लिन जहाज जादैमा भुत लिन गए जस्तो । रोग लिन गए जस्तो गर्ने? दुम्मनलाई भन्दा परको बेहवार गर्ने ? भयावह हुने गरि अतिरंजित प्रचार गर्ने? छिःछिः दुरदुर गर्ने ? ती भोलीका हाम्रा भविश्य होईनन? डाक्टर बनेर हाम्रै सेवा गर्न आउने संकल्प गरेर गएका होनाहार विद्यार्थी होईनन? उनीहरुले के सोच्दै होलान यहाँका तमासाहरु सुनेर? भोली नेपालमा बसेर हाम्रो सेवा गर्नु भन्दा नेपाल भन्ने देशै छाड्नु बेस रहेछ भन्ने मनोविज्ञानको विकास गराउन हामीले खोजेको हो?

हाम्रा वरिपरिका देशहरु भारत, श्रीलंका, बंगलादेश तथा मालदिप्स समेतले उनीहरुका आफ्ना नागरिकलाई वुहानबाट फर्काईसकेको निक्कै दिन भयो। अहिले उनीहरु आफ्ना परिवारको काखमा रमाउदै छन तर प्रतिपल त्रासमा विताएका नेपालीहरु भएर सोचौ के वितीरहेको होला मनमा। यसै पनि नेपालीहरु सरकारले समयमा ल्याउन नसकेको देखेर देशविदेशमा नेपालको बेईजती र लाचारीपनको कुरै नगरौ यस्तो अवस्थामा धन्य बल्लतल्ल जहाज उडेको सुन्दा रमाउनु पर्नेमा, खुशी हुन पर्नेमा छिःछि को संदेश ? ढुंगामुढाको तमासा? हामीले उनीहरुको मनोविज्ञान र मानविय चेतनामा के घुसाउन खोजेका हौ? छिःछिः विजुक्छे । जिन्दगीभरीको तिमी माथिको श्रद्धा र सम्मान एकैपल्ट स्वाहा भयो।

सकुशल मानिसहरु मात्र आउने हुन नेपाल। कोही विमारी भए आउदैनन । यदि उनीहरु स्वास्थ्य जाँच भएर आउदा पनि कोराना फैलिएछ भने यति बुझौ की यी विद्यार्थीलाई उतै मारे पनि एक दिन त्यो भाईरस यहाँ आईपुग्छ । अर्थात कोही कसैले चीनको जमिन र आकाश प्रयोग गर्दैमा भाईरस सर्छ भन्ने बुझाई हो भने यो डरको अन्त्य कहिले पनि हुदैन । यस्तो असम्भव तर्क र अतिरन्जित प्रचारले कोरोना जो हो त्यो भन्दा सयौ गुणा खतरा भएको छ। त्यस्तो केही होईन भनेर बुझौ। संसारका धेरै देशले आफ्ना नागरिक र विद्यार्थी बुहानबाट लगिसके तर यो समाचार सुन्न परेको छैन कोही मर्यो वा संक्रमित भएको पाईयो भनेर। यसर्थ विजुक्छे जी नआत्तिनुस कोरोना तपाइको विचार भन्दा कमजोर छ फगत तपाई कमजोर नबन्नुस र कसैलाई कमजोर नबनाउनुस। तपाई त्यही रहनुस कतै नभाग्नुस। ती विधार्थीको स्वागत गर्न जानुस र हिम्मत दिनुस र भन्नुस कोरोना भन्दा भक्तपुर शक्तिशाली छ। हामी वुहान भन्दा बहादुर छौ।


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...