Friday 28th November 2025

३३५ जना नेपाली विदेशी जेलमा, कुवेतका जेलमा भएकाको विवरण अाएन


तितोपाटी – विभिन्न देशको जेलमा ३ सय ३५ नेपाली रहेको सरकारले बताएको छ । २० जना भने विदेशस्थित विभिन्न अस्पतालको कोमामा छन् ।

परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्न दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुबारे जानकारी दिएका हुन् ।

उनका अनुसार सबैभन्दा धेरै साउदी अरेबियाको जेलमा २१९ नेपाली जेलमा छन् । यस्तै यूएईमा ६३ र बैंककमा ३९ जना नेपाली जेलमा छन् । बहराइनमा ९, सिंगापुरमा ४, चीनमा ३, इजरायल र ओमानमा २/२ तथा कम्बोडिया र लेबनानको जेलमा १-१ जना नेपाली रहेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

मृत्युदण्ड पाएकाहरुको सजायलाई आजीवन कैद र गलत आरोपमा जेल परेकाहरुलाई आममाफी दिएर छुटाउन सरकारले पहल गरिरहेको उनले जानकारी दिए ।

यूएईमा रहेका अमरबहादुर बमको मृत्युदण्ड हटाउन सरकारले पहल गरेको तर, ठोस उपलब्धि भइनसकेको उनले जानकारी दिए । राष्ट्रपति विद्या भण्डारीको भ्रमणका क्रममा यसबारे गम्भीर कुरा उठाएको र आफू परराष्ट्रमन्त्री भएपछि पनि नेपाली राजदूतलाई बोलाएर यसबारे जानकारी लिएको उनले बताए ।

यसैगरी २० जना नेपाली विदेशस्थित कोमामा छन् । सबैभन्दा धेरै कतारमा ११ जना छन् । यस्तै साउदी अरेबियामा ५, बहराइन र यूएईमा २-२ जना छन् ।

सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरुले उनीहरुको उपचारबारे चासो राख्दै आएको उनले बताए ।

परराष्ट्र मन्त्रीले गराएको जानकारीमा कुवेतको जेलमा रहेका नेपालीहरू गणना भए नभएको जानकारी छैन। साउदी अरेवियामा रहेका २१९ जना देखि लिएर लेबनानमा रहेका १ जना नेपाली सम्मको विवरण अाउँदा कुवेतको विवरण नअाउनुमा नेपाली राजदूतावास कुवेतले परराष्ट्र मन्त्रालयलार्इ विवरण उपलब्ध नगराएको हो वा कुवेतको जेलमा १ जना नेपाली पनि नभएको हो यस बारेमा केही पनि बताइएको छैन ।


सम्बन्धित शीर्षकहरु

बगदाद: इराकले बिहीबार स्वायत्त कुर्दिस्तान क्षेत्रमा रहेको ग्यास कम्प्लेक्समा भएको आक्रमणको अनुसन्धान गर्ने बताएको छ, जसले ग्यास आपूर्ति अवरुद्ध गरेको…

काठमाडौँ । इजरायलमा नौ जना शीर्ष सैन्य अधिकारीहरूलाई बर्खास्त गरिएको छ । इजरायल रक्षा बलका प्रमुख, लेफ्टिनेन्ट जनरल इयाल जामिरले…

वाशिंगटन, डीसीमा भएको गोलीकाण्डपछि, अमेरिकाले अफगानी नागरिकहरूबाट प्राप्त सबै आप्रवासन अनुरोधहरू प्रशोधन गर्न निलम्बन गरेको छ। ह्वाइट हाउस नजिकै भएको…

प्रतिकृयाहरू
...