Sunday 26th July 2026

नेपालमा अब पुरूष पनि नर्स बन्न पाउने


तितोपाटी – पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उनले भने ।

विसं २०४३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नेपालमा पहिलो ब्याचका रुपमा पुरुषले नर्सिङ पढेका थिए । सोही ब्याजका नर्स हुन् गुरागार्इं ।

उनले भने, ‘यो बन्द गर्नै हुँदैन्थ्यो, फेरि शुरु हुनु सकारात्मक विषय हो, नर्सिङ पढ्न धेरै पुरुष इच्छुक पनि छन् ।’ वीर अस्पतालमा बीस वर्षे लामो सेवा गरी सेवानिवृत्त भई हाल हेटौँडास्थित नारायणी मेडिकल एण्ड टेक्नोलोजीका प्रधानाध्यापक गुरागाईंले नीति निर्माण तहमा पनि महिला पुरुष भए अघि बढ्न बल पुग्ने बताए ।

उनले पुरुष बिरामीको हेरचाह, दुर्गम जिल्लामा पुरुष नर्सलाई खटाउन सकिने बताए । ‘पुरुष नर्स हुँदा सामाजिक सुरक्षा मजबुत हुने र पेशालाई माथि उकास्न सहज हुन्छ,’ उनले भने ।
लामो समयदेखि पुरुषले नर्सिङ पढ्न पाउनुपर्ने आवाजको अन्ततः सम्बोधन भएको छ । नेपाल नर्सिङ परिषद्ले पुरुषलाई पनि नर्सिङ पढ्न पाउने निर्णय गरेपछि बाटो खुल्ला भएको हो ।

नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा गोमादेवी निरौलाले चारैतिरबाट माग भएपछि आवश्यकता महसुस गरी सो निर्णय गरेको बताइन् । विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतका नर्सिङ शैक्षिक संस्थालाई निर्णय कार्यान्वयन गर्न परिषद्ले सूचना जारी गरिसकेको अध्यक्ष निरौलाले बताइन् ।

अध्यक्ष निरौलाले शैक्षिक सत्र २०७५/७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको जानकारी दिइन् ।

नेपाल नर्सिङ संघले नर्सिङ अध्ययनमा पुरुषलाई कोटा दिनुपर्ने माग राख्दै नेपाल नर्सिङ परिषद्लाई पत्रसमेत पठाएको थियो ।

नेपाल नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले विदेशमा पुरुष नर्स उत्पादन भई काम गरिरहेकाले नेपालमा पनि पुरुष नर्सको आवश्यकता खड्किएको बताइन् ।
उनले भनिन्, ‘लैङ्गिक समानताका लागि पनि नेपालमा पुरुष नर्स चाहिन्छ भनेर हामी पहिलेदेखि आवाज उठाउँदै आएका थियौँ ।’अब नर्स भन्ने वित्तिकै महिला मात्र हुन्छन् भन्ने मानसिकता परिवर्तन हुने उनको विश्वास छ ।

परिषदमा नेपाल र भारतमा अध्ययन गरेका १०५ जना पुरुष नर्स परिषद्मा दर्ता भएका छन् । अब निर्णय कार्यान्वयन भएमा वार्षिक १२५ कलेजबाट १५ प्रतिशत पुरुष नर्स उत्पादन हुँदा वर्षमा एक हजार १५५ पुरुष उत्पादन हुने अनुमान गरिएको छ । वार्षिक १२५ भन्दा बढी नर्सिङ कलेजबाट सात हजार ७४० जना नयाँ महिला नर्स उत्पादन हुँदै आएका छन् ।

विसं २०४६ मा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा पुरुष नर्सको पढाइ शुरु भएको थियो । चार ब्याचसम्म मात्र अध्ययन भएको त्यो समयमा ८० जना पुरुष नर्स जनशक्ति उत्पादन भएका थिए । पछि पुरुषका लागि नर्सिङ पढ्ने अवसर बन्द भयो ।

नेपाल नर्सिङ परिषदमा ८१ हजार ९० नर्स दर्ता छन् । जसमा स्टार्फ नर्स ४९ हजार ३४, अनमी ३१ हजार २२१ र विदेशी नर्स ८३५ दर्ता छन् । दर्ता भई वर्सेनि लाइसेन्स दर्ता नवीकरण भने १३ हजार ८३६ स्टार्फ नर्स र तीन हजार ६३४ अनमीले मात्र गराएको परिषद्को तथ्यांक छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीमा केही समयका लागि रोक लगाउने निर्देशन दिएको बताइएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत…

इरानले क्यास्पियन सागरमा रहेको एउटा जहाजमाथि युक्रेनले ड्रोन वा अन्य हवाई आक्रमण गरेको दाबी गर्दै त्यस घटनामा एक जना नाविकको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न आह्वान गर्दै अब त्यसका लागि उपयुक्त समय आएको बताएका…

प्रतिकृयाहरू
...