Tuesday 9th September 2025

डैकती मुद्दामा जेल परेका व्यक्ति विप्लवका ‘सुटर’


तितोपाटी – विभिन्न ठाउँमा भएका डकैतीका घटनामा अदालतबाट दोषी ठहर भएर जेल परेका व्यक्तिलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाले ‘सुटर’ का रुपमा प्रयोग गरिरहेको खुलेको छ। मोरङको कानेपोखरी गाउँपालिका–६ घर भएका ३४ वर्षीय सुदीप भनिने कंश धिमालले केही समयदेखि ‘विप्लव’ समूहको गोली हान्ने ‘सुटर’का रुपमा काम गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

उनी २०६६ सालमा मोरङको उर्लाबारी मंगलबारेस्थित थापा सुनचाँदी पसल र झापाको दमकस्थित लक्ष्मी बैंक लुटपाट घटनामा पछि डाँका मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन्। पछिल्लो समय उनी ‘विप्लव’ समूहका सक्रिय कार्यकर्ता भएको खुलेको छ।

त्यसअघि खम्बुवानमा आवद्ध भएका उनले त्यहीं हतियार चलाउन सिकेर विभिन्न अपराधिक गिरोहमा संलग्न भएको प्रहरीको भनाइ छ। प्रहरीकाअनुसार लुटपाट, डकैती, गुण्डागर्दी लगायतका दर्जनौं अपराधिक घटनामा धिमालको संलग्नता छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी–पथरी सडक खण्डको जंगलमा हुने लुटपाट लगायतका अधिकांश अपराधिक घटनामा उनको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ।

हतियार चलाउन सिपालु धिमाल पछिल्लो समय ‘विप्लव’ समूहको रोजाइमा परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए। उनकाअनुसार धिमाल साना हतियारबाट गोली चलाउन सिपालु छन्। उनी संलग्नसबै अपराधिक घटनामा गोली हान्ने जिम्मा उनैले लिने गरेको प्रहरी दाबी छ।

सुन्दरहरैंचा नगरपालिकामा व्यवसायीसँग माग गरिएको चन्दा वापतको रकम उठाउन जाँदै गर्दा ‘विप्लव’का एक नेतासहित मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट उनी पक्राउ परेका छन्। को १७ प ४५८६ नम्बरको मोटरसाइकलमा सवार मोरङ जिल्ला जनपरिषद् प्रमुख सुन्दरहरैंचा–१२ घर भएका ४० वर्षीय अशोक राईसहित धिमाल पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए। राजनैतिक एवं विभिन्न समूहको आवरणमा अपराधिक धन्दा चलाएर हिंडेका व्यक्तिले पछि कुनै कालखण्डमा राजनैतिक अस्थाको बन्दीको मान्यता पाउने सम्भावना पनि बढेर गएको प्रहरी अधिकारीहरु बताउँछन्।

‘हतियार देखाएर डर त्रास उत्पन्न गराउँदै ‘विप्लव’ समूहका व्यक्तिले विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट चन्दा संकलन गर्न खोजिरहेको भन्ने सूचना आएको थियो’ एसपी अधिकारीले भने, ‘खोजतलास गर्न इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको इन्सपेक्टर रामकुमार राई नेत्रृत्वको टोलीले दुवै जनालाई आइतबार साँझ पक्राउ गरेको हो।’ पक्राउ परेकाको साथबाट र धिमालको घरमा छापा हान्ने क्रममा दुईवटा अटोमेटिक पेस्तोल, चारवटा म्यागजिन र १४ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले दिएको जानकारी अनुसार दुवै जना ‘विप्लव’ समूहको नाममा व्यवसायीसँग चन्दा संकलनका लागि सुन्दरहरैंचा हिंडेका थिए। ‘केही दिन अघि सुन्दरहरैंचाका केही व्यवसायीसँग चन्दा वापत ७ लाख रुपैयाँ लिएर गइसकेका रहेछन्। पछिल्लो समय थप ५१ लाख रुपैयाँ माग गरिएको रहेछ,’ ती अधिकृतले भने।प्रहरीले ‘विप्लव’ समूहले चन्दा माग गरिएको भनिएका व्यापारीहरुका बारेमा भने सबै कुरा गोप्य राखेको छ।

पूर्वी मोरङमा भएका विभिन्न अपराधिक घटनाको अनुसन्धानका लागि धेरै पहिलेदेखि कंश धिमालको खोजी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ। पक्राउ परेका दुवै जनाले दिएको जानकारीका आधारमा उर्लाबारी नगरपालिका–२ सालबारीका ४८ वर्षीय केन्द्रलाल धिमाल पनि सोमबार तीन नाल भरुवा बन्दुकसहित पक्राउ परेका छन्। उनी पनि ‘विप्लव’ समूहमा आवद्ध भएको आशंका गरिएको छ। एसपी अधिकारीकाअनुसार धिमालको घरबाट लोड गरेको एउटासहित तीनवटा भरुवा बन्दुक, बारुद, छर्रा, नटबोल्ट, वासर लगायतका सामान बरामद गरिएको छ।

प्रारम्भिक अनुसन्धानबाट तीनै जना वन्यजन्तुको चोरी शिकारीमा समेत संलग्न भएको पनि खुलेको छ। पक्राउ परेकाविरुद्ध मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गतको हातहतियार तथा खरखजना कसूरमा मुद्दा चलाउन सोमबार म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले बताए।


सम्बन्धित शीर्षकहरु

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ एयर फोर्स वनमा चढ्ने तयारी गर्दै प्रेसलाई दिएको टिप्पणीमा गाजा युद्धविराम र बन्धक आदानप्रदान…

परराष्ट्र मन्त्रालयबाट सरुवा भई शिव बानियाले कुवेतस्थित नेपाली दूतावासमा द्वितीय सचिवका रूपमा कार्यभार ग्रहण गरेका छन्। केही समयदेखि रिक्त रहेको…

प्रतिकृयाहरू
...