Monday 16th June 2025

प्रहरीको रासन भत्ता बढ्यो, सशस्त्र र अनुसन्धान विभागको भने यथावत


तितोपाटी – नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले १ साउनदेखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । प्रहरीको रासनभत्ता ५ वर्ष पछि मात्रै बढ्न लागेको हो ।

प्रहरीलाई ०७५ मा तय भएको दरअनुसार रासनभत्ता दिइनेछ । नेपाल प्रहरीको रासनभत्ता हरेक जिल्लामा फरक–फरक छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने एक समितिले मूल्यवृद्धिअनुसार हरेक वर्ष भत्ताको दर परिमार्जन गर्दछ । तर, ०७१ सालयता रासनभत्ता मूल्यवृद्धिअनुसार समायोजन हुन सकेको थिएन । बढेको भत्ता पाउनुपर्ने प्रहरीले माग गर्दै आएको थियो ।

राशन वृद्धि भएपछि प्रहरीको मनोबल बढ्ने प्रहरी अधिकारीहरू बताउँछन् । तीन वर्षअघि गृह मन्त्रालयका तत्कालीन सहसचिव वीरबहादुर बुढा नेतृत्वको समितिले दुई–दुई वर्षमा रासनभत्ता समायोजन गर्न सुझाब दिएको थियो ।

सशस्त्र र अनुसन्धान विभागमा अन्योल

नेपाल प्रहरीमा रासनभत्ता बढ्ने भए पनि सशस्त्र प्रहरी बलमा अन्योल छ । सशस्त्रलाई पुरानै रेटअनुसारको मात्र बजेट विनियोजन भएको छ । रासनभत्ता सममामयिक बनाउन सशस्त्रे पनि प्रस्ताव गरेको छ तर निर्णय भइ नसकेको बझिएको छ । सशस्त्र प्रहरीका कर्मचारीले पनि तलबसँगै रासनभत्ता पाउने गर्छन् । तर, धेरैजसो सशस्त्र प्रहरी ब्यारेकमा नै बस्ने भएकाले उनीहरूले रासनभत्ता क्वार्टर मास्टरलाई बुझाउँछन् । बिदामा भएको वेलाको रासनको पैसासमेत हाकिमहरूले खाइदिने विकृति सशस्त्र प्रहरीमा छ । तल्लो तहका प्रहरीलाई लामो बिदामा पठाएर रासनभत्तामा अनियमितता गरेको आरोपमा सशस्त्र प्रहरीका अधिकारीहरू कारबाहीमा पर्दै आएका छन् ।

त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको रासनभत्ता वृद्धिबारे पनि कुनै निर्णय भएको छैन । गृह मन्त्रालयले भने तीनवटै सुरक्षा निकाको रासनभत्ता एकैपटक बढाउन पहल थालिएको जनाएको छ । नेपाली सेनामा भने ठेक्का प्रणालीबाट रासन नै खरिद गरी खुवाउने गरिएको छ ।

कति बढ्यो रासन ?

उपत्यकामा कार्यरत प्रहरीले साउनदेखि दैनिक एक सय ९४ रुपैयाँ २९ पैसा रासनभत्ता पाउनेछन् । हाल उनीहरूले एक सय ७५ रुपैयाँ पाउँदै आएका छन् । त्यस्तै, झापामा कार्यरत प्रहरीले एक सय ५७ रुपैयाँ पाउँदै आएकोमा एक सय ७९ रुपैयाँ ८९ पैसा तथा इलाममा एक सय ६८ रुपैयाँ पाउँदै आएकामा दुई सय रुपैयाँ पाउनेछन् । ताप्लेजुङको ओलाङचुङगोलामा कार्यरत प्रहरीले चार सय ४४ रुपैयाँ लिँदै आएका थिए । उनीहरूको रासनभत्ता बढेर अब ६ सय १५ रुपैयाँ पाउने भएका छन् । पहाडी तथा हिमाली जिल्लाहरूमा खाद्यान्न महँगो हुने भएकाले रासनको दर उच्च हुने गर्छ ।

-नयाँ पत्रिकाबाट


सम्बन्धित शीर्षकहरु

सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको तथा साम्प्रदायिक सद्भावनामा खलल पुर्‍याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एबम पुर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको…

“हाम्रो संस्कृति, हाम्रो पहिचान; हाम्रो लिपि–भाषा, हाम्रो शान” भन्ने मूल नारासहित कुवेतमा ‘वाणी र व्यवस्थापन तथा वक्तृत्वकला एवं कार्यक्रम सञ्चालन…

प्रतिकृयाहरू
...