Friday 24th January 2025

बोलेको कुरालाइ लिएर प्रवक्तालाइ निस्कासन गर्ने नेपाल एअरलायन्स फ्लाइटमै पाइलट सुत्दा पनि चुपचाप !


तितोपाटी – हवाइजहाजको ककपिटभित्रै पाइलट निदाएको विदेशी समाचार त हामीले पढ्दै आएका हौं, तर यो तस्वीर राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको पाइलटको हो । यी पाइलट हुन् क्याप्टेन नागराज शंकरमूर्ति । र, यो तस्वीर हो, एयरबस ३२० न्यारोबडी जहाजभित्र ककपिटमा खिचिएको । काठमाडौंबाट दुबई उडेका बेला नागराज मस्त निदाइदिए । र चालक दलका सदस्यसहित १६५ जनाको ज्यानको जिम्मा को–पाइलटकाे भरमा छाडिदिए ।

नेपाल एयरलाइन्समा आउनुअघि हिमालयन एयरलाइन्समा कार्यरत थिए नागराज । हिमालयन एयरलाइन्समा पनि उनी त्यस्तै गर्दथे । त्यसैले सुरक्षामा संवेदनशील नदेखिएको भन्दै हिमालयन एयरलाइन्सले बर्खास्त गरेको थियो । त्यसपछि उनी नेपाल एयरलाइन्समा आएका हुन् । आफूलाई निष्काशन गरेकोमा हिमालय एयरलाइन्सविरुद्ध उनले अदालतमा मुद्दासमेत हालेका थिए । नागराज भारतीय नागरिक हुन् ।

हालै गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै वरिष्ठ पाइलट विजय लामालाई निगम व्यवस्थापन पक्षले प्रवक्ताबाट हटाएको थियो । तर, ककपिटभित्रै निदाइदिने नागराजलाई भने केही नगरेको भन्दै नेपाल एयरलाइन्सका कर्मचारीहरु रुष्ट छन् ।

नेपाल एयरलाइन्सका एक कर्मचारी भन्छन्, ‘मुख्य पाइलट हुन् नागराज, उनी ककपिटभित्रै चुरोट पिउँछन् । त्यतिमात्रै होइन, हरेक उडानमा निदाइदिन्छन् । यस्तो गम्भीर लापरवाही हुँदा पनि नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्स चुप लागेर बस्नु आश्चर्यजनक छ ।’

कस्तो अवस्थामा पाइलट निदाउन पाउँछन् ?

कतिपय देशमा पाइलटहरुलाई ककपिटमा सुत्नका लागि अनुमति दिइएको हुन्छ । सामान्यतः लामो उडानमा त्यस्तो गर्ने गरिन्छ, जहाँ ३ या ४ जना पाइलटहरु हुन्छन् । अमेरिकाको सन्दर्भमा कम्तिमा दुईजना पाइलट जागेको अवस्था हुनुपर्छ । त्यो स्थितिमा अन्य एक वा दुईजना पाइलट सुत्न सक्छन् । रातभरि चल्ने प्लेनमा कम्तिमा एकजना पाइलट जागा रहेको अवस्थामा अर्को सुत्न सक्छ । जस्तो कि पिसाव लाग्यो भने उसले अर्को पाइलटलाई छाडेर ट्वाइलेट जान सक्छ । यसबाट अनुमान गरिन्छ कि प्लेनमा एकभन्दा बढी पाइलट जागा हुनैपर्छ ।

आजभन्दा ५ महिना अगाडि गार्जियनले लेखेको एक समाचार अनुसार अष्ट्रेलियामा डेभेनपोर्ट तस्मानियादेखि बास स्ट्रेटको किङ आइसल्याण्डका लागि उडेको जहाजका पाइलट निदाउँदा प्लेन गन्तव्यभन्दा ४६ किलोमिटर टाढा पुगेको थियो ।

सेफ्टी विभागमा पाइलटका आफन्त !

यसैवीच नेपाल वायु सेवा निगमको जहाज ल्याण्ड गर्दा अनावश्यक ‘रिभर्स’ हान्ने गरेका कारण इञ्जिन चाँडो बिग्रने गरेको चर्चा पनि यतिखेर पाइलटहरुवीच चल्ने गरेको छ ।

हवाइजहाज ल्याण्ड गर्नेबेलामा जहाजको गति घटाउन ‘रिभर्स’ हानिन्छ, जुन एकप्रकारको ब्रेकजस्तै हो तर ७२ नटभन्दा कममा आइसकेपछि रिभर्स हान्दा इञ्जिन बिग्रने डर हुँदाहुँदै एकजना सिनियर पाइलटले ७२ नटभन्दा मुनि दुई–तीनपटक रिभर्स हानेको रेकर्डमा देखिएको एयरलाइन्स स्रोतले बतायो तर त्यसरी लापरवाही गर्ने पाइलटलाई सेफ्टी विभागका कर्मचारीले संरक्षण गरेको स्रोतको गुनासो छ । गल्ती गर्ने पाइलटका नातेदार नै सेफ्टी विभागमा कार्यरत रहेकाले ती पाइलटमाथि कारवाही नभएको स्रोत बताउँछ ।

प्रमाण भए तत्काल कारवाही गर्छौं : महानिर्देशक

यसैवीच, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने यस्तो लापरवाहीको विषयमा उजुरी नआएको बताए । यस्ता विषय प्रमाणित भए तत्काल कारबाही गर्ने उनले बताए । ‘यस्तो उजुरी आजको मितिसम्म मकहाँ आइपुगेको छैन,’ महानिर्देशक गौतमले भने, ‘यदि कसैले प्रमाणसहित उजुरी गर्नुभयो भने हामी तत्काल कारवाही गर्छौं ।’ उनले पाइलट निदाउनु र ककपिटभित्रै बसेर चुरोट पिउनु सुरक्षामा गम्भीर लापरवाही ठहरिने बताए ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

ताली बजाउनेहरु धेरै देखेँ गालीमा रमाउनेहरू धेरै भेटेँ पैताला सधैँ जमीनमा राखेँ सिर सधैँ ठाडो पारेँ पैतालाको समस्याले जमीन भासिएन…

कमला देवकोटा, पाल्पा - कृपया मेरी आमालाई एक महिनाको लागि तपाईँहरुसङ्गै राखीदिनुस् है? किन तपाईं कता जाने? बृद्धाश्रमका प्रबन्धकले सोधे।…

झापा जिल्ला गौरादह न. पालीका बडा न. ८ निवासी भट्टराई बिगत ४ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आएकी भट्टराईको गत…

प्रतिकृयाहरू
...